महानगरको सबै जानकारी मोबाइलमा

मिति : २०७० माघ २६, आइतबार

-          राजेश बर्मा

काठमाडौं : उपचारका लागि अस्पताल जाँदै हुनुहुन्छ भने उपयुक्त चिकित्सक र परीक्षण गर्ने समयको जानकारी अब तपाइँको मोबाइलमा आइपुग्छ।

चिकित्सकले लेखेको औषधि कुन पसलमा पाइन्छ भन्नेबारेमा पनि घर बसेर नै जानकारी प्राप्त गर्न सकिन्छ।

 

राहदानी बनाउन वा अन्य कामका लागि सरकारी कार्यालय जान खोज्नुभएको छ भने कहाँ जाने? कुन प्रक्रिया अपनाउने र कस्ता कागजात आवश्यक पर्न सक्छ जस्ता समस्याको समाधान अबको केही दिनपछि तपाइँकै मोबाइलले गर्न सक्षम हुनेछ।

माइक्रोसफ्ट कम्पनीले कोरियाको सियोलस्थित स्थानीय निकायअन्तर्गतको विश्वभरका नगरपालिकाहरूको सञ्जाल ‘सिटी नेट’, यूएन ह्याबिट्याट, काठमाडौं महानगरपालिका, ललितपुर उपमहानगरपालिकालगायतका संस्थाको सहकार्यमा आगामी चैत २ गतेदेखि ‘सिटीएप्स आपाथोन’ नामको मोबाइल एप्लिकेसन सार्वजनिक गर्दैछ।

विश्वभरका प्रमुख सहरहरूका लागि एकैपटक यो एप्लिकेसन निर्माण गर्ने काम सुरु गरिए पनि माइक्रोसफ्टले संसारमै पहिलो पटक नेपालबाट यसको सुरुआत गर्दैछ।

‘विश्वभरमै पहिलोपटक नेपालबाट सार्वजनिक गर्ने गृहकार्य सुरु गरेका छौं’, माईक्रोसफ्टको नेपालस्थित कार्यालय माइक्रोसफ्ट इनोभेसन सेन्टरका प्रमुख आलेन बैलोचन तुलाधरले अन्नपूर्णसँग भने।

सर्वसाधारण उपभोक्ताले घर बसेर नै सरकारी कार्यालय तथा निजी क्षेत्रबाट उपलब्ध हुने सम्पूर्ण कामसम्बन्धी जानकारी, अस्पताल, बत्ती र पानी, यातायात, शिक्षा, स्कुल र कलेज, पर्यटन तथा खाना, भौतिक पूर्वाधार निर्माण, सामाजिक सुरक्षा, वातावरण विषयलगायतका सम्पूर्ण जिज्ञासा र त्यसको समाधान मोबाइल फोनमार्फत प्राप्त गर्न सक्नेछन्।

माईक्रोसफ्टले यस्तै एप्लिकेसन दोस्रो चरणमा भारतको मुम्बई, भियतनामको खोचिमेन, कोरियाको सियोल, जापानको योकोहोमा र इन्डोनेसियाको जकार्तामा कार्यान्वयनमा ल्याउने छ। तेस्रो चरणमा विश्वभरका अन्य सहरमा लागू गरिनेछ।

एप्लिकेसन निर्माणका लागि माइक्रोसफ्ट कम्पनीले सूचना प्रविधिसम्बन्धी नेपाली विद्यार्थीलाई नै परिचालन गर्ने जानकारी दिएको छ।

‘नेपाली उपभोक्ताका लागि आवश्यक पर्ने एप्लिकेसन नेपाली विद्यार्थीबाटै निर्माण गर्न गृहकार्य गरेका छौं। सबै खर्च हामीले दिएर यहाँकै विद्यार्थीबाट तयार गराएर त्यसबाट उत्कृष्ट एप्लिकेसन छनोट गरी कार्यान्वयनमा ल्याउने योजना छ’, तुलाधरले भने।

उनका अनुसार यसका लागि सूचना प्रविधिका कार्यक्रम निर्माताहरू र सफ्टवेयर निर्माताको समूह छनोट गरेर आगामी फागुन ३० देखि धुलीखेलमा निर्माण कार्य थालिनेछ। ‘उत्कृष्ट एप्लिकेसन निर्मातालाई माइक्रोसफ्टले पुरस्कृत गर्ने योजना पनि राखेको छ’, उनले भने।

यस योजनाको अर्का साझेदार संस्था गुथिका निर्देशक अनील स्थापितका अनुसार एप्लिकेसन निर्माणका लागि अहिले समस्या र समाधान संकलन तथा नक्सांकनको काम सुरु गरिएको छ।

‘एप्लिकेसन निर्माणपश्चात् आगामी तीन महिनासम्म माइक्रोसफ्टले नै स्तरीयकरण र आवश्यक सहयोग उपलब्ध गराउनेछ’, उनले भने, ‘यो एप्लिकेसनको सहयोगमा सर्वसाधारण र सरकारी निकायका अधिकारीले केही सेकेन्डमै काठमाडौं सहरको सामाजिक, आर्थिक, व्यावसायिक विकाससम्बन्धी सम्पूर्ण जानकारी लिन सक्नेछन्।’

उनका अनुसार यो एप्लिकेसन प्रयोग गर्ने उपभोक्तालाई सशुल्क सुविधा उपलब्ध गराउने वा नि:शुल्क भन्नेबारे छलफल हुँदैछ।

श्रोत : अन्नपूर्ण पोस्ट, २०७० माघ २६, आइतबार