मोबाइलमै डाक्टरहरुको सूचना उपलब्ध हुने

काठमाडौँ, माघ २२ गते । उपचारका लागि अस्पताल जाँदै हुनुहुन्छ ? उपयुक्त डाक्टर को होला र जाँच गर्ने समय कतिवेला पर्छ, र अस्पताल कता छ भनेर अलमलमा हुनुहुन्छ भने अब यस्ता झन्झटबाट मुक्ति पाइने भएको छ । उपचारका लागि जानु पूर्व तपाईले आफ्नो मोवाइल फोनमै उपयुक्त डाक्टर र समयको जानकारी लगायतका सूचना पहिल्यै पाउन सक्नुहुनेछ । 


साथै पासपोर्ट बनाउनेदेखि कुनै पनि सरकारी काममा जाँदै हुनुहुन्छ भने पनि कहाँ जाने, कुन—कुन प्रक्रिया अपनाउने र साथमा के—के कागजात आवश्यक पर्छ भन्ने कुरा पहिल्यै जानकारी पाइने भएको छ । 
स्थानीय निकायहरुको सञ्जाल सिटी नेट र माइक्रोसफ्टको संयुक्त पहलमा आगामी चैत २ गतेसम्ममा काठमाडौँ शहरका विभिन्न जानकारी दिने मोबाइलमा उपलब्ध एप्लिकेसन सफ्टवेयर तयार हुने भएको छ । 
उक्त सफ्टवेयर मोवाइलमा डाउनलोड गरेर आफू के कामका लागि जाने हो वा आफूलाई कस्तो स्वास्थ्य समस्या छ ? लेखेर सेन्ट गरेपछि सबै विवरणहरु पाईने गुथिको नेपाली युवा सञ्जालका निर्देशक अनिल स्थापितले गोरखापत्रसँग बताउनुभयो । 
उहाँका अनुसार सिटी नेट र माइक्रोसफ्टको संयुक्त पहलमा एसियाका बिभिन्न शहरहरुका जानकारी मोवाईलमा उपलब्ध हुने एप्लिकेसन सफ्टवेर निर्माण गरिदैछ । स्थापितले शहरहरुको जानकारी उपलब्ध हुने एप्लिकेसनहरु निर्माण गर्न एसियाका बिभिन्न शहरहरुमा सञ्चालन हुने सिटीएप्स आपाथोन नामक कार्यक्रम काठमाडौँ शहरबाट शुभारम्भ हुन लागेको बताउनुभयो । 
माइक्रोसफ्ट इनोभेसन सेन्टरका प्रमुख आलेन बैलोचन तुलाधरले काठमाडौंका बिभिन्न जानकारी उपलब्ध गर्ने जीवन उपयोगी एप्लिकेशनहरु निर्माण हुनेमा विस्वस्त रहेको बताउनुभयो । सफ्टवेयरले शहरका सूचना तथा जानकारीमा सहज पहुँमा उपयोगी हुने बताइएको छ । 
यु.एन. हाबिटाटका ब्यवस्थापक पद्मसुन्दर जोशीले तिव्र गतिमा विकसित भइरहेको शहरीकरणसँगै शहरका सामाजिक, भौतिक बिकास तथा ब्यवस्थापनका लागि बिकास हुनुपर्ने बताउनुभयो । त्यसका लागि एप्लिकेसनहरुले सहयोग गर्ने उहाँको भनाइ छ । 
माईक्रोसफ्ट इनोभेसन सेन्टरकी व्यवस्थापक जुनु थापाले एप्लिेकेसन निर्माणका क्रममा तीन चरण अपनाइने बताउनुभयो । उहाँका अनुसार पहिलो चरणका शहरका सूचना तथा जानकारीको तथ्य संकलन, दोस्रो एप्लिकेसन निर्माण तथा तेस्रो सिंगापुरमा हुने बिश्व शहर बैठकमा पनि प्रर्वद्धन गरिने छ ।

श्रोत : गोरखापत्र दैनिक: २०७० माघ २३ गते