ललितपुरका सहरी समस्या समाधान अब फोनमा

ललितपुर, २६ फागुन । तपाईं साँझ अँध्यारोमा ट्याक्सी चढेर एक्लै घर फर्कंदै हुनुहुन्छ ? तपाईं चढेको ट्याक्सी सही बाटो हिँडेको छ कि छैन, जान्न चाहनुहुन्छ ? राति बाटोमा हिँड्दै गर्दा अचानक अपरिचित समूहले तपाईलाई आक्रमण गरी लुट्दै गर्दा यसको जानकारी मोबाइलको एउटा बटन थिचेर प्रहरी र तपाईंको आफन्तकहाँ पु-याउन चाहनुहुन्छ ?

 

तपाईंको घरमा धारामा पानी आउने समयमा बत्ती हुन्छ कि हुँदैन, मोबाइलमै जानकारी लिन चाहनुहुन्छ ? नगरपालिका तथा मालपोतमा सिफारिस तथा अन्य प्रशासनिक कार्यका लागि जान लाग्नुभएको छ भने कुन स्थानमा जाने कुन प्रक्रिया अपनाउने र कुनकुन कागजपत्र साथमा लानुपर्ने जानकारी तपाईंको मोबाइलमा प्राप्त गर्न चाहनुहुन्छ ? तपाईंको यस्ता आकांक्षा र चाहना अब चाँडै पूरा हुने भएको छ । 

स्थानीय निकायहरूको सञ्जाल सिटी नेट, माइक्रोसफ्टको संयुक्त पहलमा यही वर्ष १ चैतसम्ममा काठमाडौं सहरका विभिन्न विषयमा जानकारी दिने मोबाइलमा उपलब्ध एप्लिकेसनहरू तयार हुने भएको छ । सिटी नेट र माइक्रोसफ्टको संयुक्त पहलमा एसियाका विभिन्न सहरका जानकारी मोबाइलमा उपलब्ध हुने एप्लिकेसनहरू निर्माण गरिँदै छ । 

सहरहरूको जानकारी मोबाइल तथा कम्प्युटरमै उपलब्ध हुने एप्लिकेसनहरू निर्माण गर्न एसियाका विभिन्न सहरहरूमा सञ्चालन हुने ‘सिटीएप्स आपाथोन’ नामक कार्यक्रम नेपालको काठमाडौं उपत्यकाबाट शुभारम्भ हँदै छ । सूचना प्रविधिका कार्यक्रम निर्माताहरू र सफ्टवेयर निर्माताहरूको समूहबाट २९ फागुनदेखि १ चैतसम्मको बन्दसत्रमा काठमाडौं सहरका विभिन्न जानकारीमूलक एप्लिकेसन निर्माण गरिनेछ । ललितपुर उपमहानगरपलिका, माइक्रोसफ्टको नेपालस्थित कार्यालय माइक्रोसफ्ट इनोभेसन सेन्टर र गुथिले सहरका विविध जानकारी मोबाइलमा उपलब्ध हुने विषयमा छलफल गर्न सिटीएप्स आपाथोनसम्बन्धी अन्तत्र्रिया गरिरहेको छ ।

ललितपुर उपमहानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत मोहननाथ मास्केले उपमहानगरका सेवासुविधासम्बन्धी जानकारी नगरवासीलाई मोबाइलमै उपलब्ध गर्न सकिए कामकारबाही छिटोछरितो हुने बताए । ललितपुरका सम्पदा क्षेत्र, व्यापारिक केन्द्र, सामाजिक सेवा केन्द्र तथा अन्य सम्पूर्ण जानकारी मोबाइलमा उपलब्ध भए नगरवासीका साथै सम्पूर्ण पर्यटकलाई पनि सुविधा हुने उनको भनाइ थियो ।

माइक्रोसफ्ट इनोभेसन सेन्टरका प्रमुख कार्यकारी आलेन बैलोचन तुलाधरले सूचना प्रविधिको विकास भएको आजको समयमा प्रविधिका माध्यमबाट सरकार तथा सरकारी सेवामा जनतालाई नजिक ल्याउन सकिने बताए । मोबाइलमा जानकारी उपलब्ध हुने एप्लिकेसनबाट सूचना जनताका कोठामै पुग्ने उनको भनाइ थियो । मोबाइल र कम्प्युटरका उत्कृष्ट एप्लिकेसनहरू निर्माणका लागि नेपाली प्रविधिकहरू पनि सक्षम रहेको बताउँदै कार्यक्रममा १ सय २० नेपाली सफ्टवेयर प्राविधिकहरू सहभागी हुने उनले जानकारी दिए । कार्यक्रमअन्तर्गत सहरी सूचना उपलब्ध गर्ने तीन उत्कृष्ट एप्लिकेसन विश्वव्यापी प्रवद्र्धनमा लागि सिंगापुरमा आयोजना हुने विश्व सहर बैठकमा प्रदर्शन गरिने उनले बताए । 

गुथिका निर्देशक अनिल स्थापितले मोबाइलमा सहरी जानकारी उपलब्ध भएमा मानिसको दैनिक जीवनमा निकै सहज हुने बताए । सहरी जानकारी मोबाइलमा उपलब्ध हुने एप्लिकेसनबाट सामाजिक, आर्थिक, व्यावसायिक विकासका लागि सर्वसाधारणका साथै सरकार र व्यवसायी पनि लाभान्वित हुने उनको बुझाइ छ ।

माइक्रोसफ्ट इनोभेसन सेन्टरकी सोनिका मानन्धरले एप्लिकेसन निर्माणका क्रममा तीन चरण अपनाउने बताइन् । पहिलो चरणमा सहरका सूचना तथा जानकारीको तथ्य संकलन, दोस्रो एप्लिकेसन निर्माण तथा तेस्रो सिंगापुरमा विश्व सहर बैठकमा प्रवद्र्धन गरिनेछ । उनले सूचना तथा जानकारी उपलब्ध गर्नेमध्ये उत्कृष्ट जानकारी प्रदान गर्नेलाई नोकिया लुमिया ८२० मोबाइल फोन पुरस्कार प्रदान गर्ने र उत्कृष्ट एप्लिकेसनलाई ५० हजार रुपैयाँ, दोस्रोलाई २५ हजार तथा तेस्रोलाई १० हजार रुपैयाँ पुरस्कार प्रदान गर्ने जानकारी दिइन् । 

यसमध्ये तीन उत्कृष्ट एप्लिकेसन निर्मातालाई प्रवद्र्धन गर्न सिंगापुरमा आयोजना हुने विश्व सहर बैठकमा सहभागी गराउने उनले बताइन् । विभिन्न क्षेत्रका विज्ञ, सरकारी अधिकारी, सूचना प्रविधिका विज्ञ, बैंक व्यवसायी तथा विद्यार्थी कार्यक्रममा सहभागी भएका थिए । पछिल्लो समय सेन्टरले कार्यक्रममा ट्राफिक जाम, बाटोमा सुरक्षा, फोहोर व्यवस्थापन, अस्पताल र चिकित्सक, घर तथा कार्यालयको ठेगाना, सरकारी तथा नगरपालिकाका सूचना, बजार एवं रोजगारसम्बन्धी जानकारी मोबाइलमा उपलब्ध हुने एप्लिकेसनसम्बन्धी छलफल सञ्चालन गरिरहेको छ ।

Source: http://www.rajdhani.com.np/en/national/24055-2014-03-10-00-21-51

Go to top