मोबाइलबाटै सुरक्षा

(टीका बन्धन) व्यस्त जीवनशैली र सीमित सुरक्षाकर्मीका कारण सामाजिक सुरक्षामा तपाईं खतरा महसुस गरिरहनुभएको छ भने नआत्तिनुस् । तपाईंकै खल्तीमा रहेको मोबाइल फोन सम्भावित जोखिमबाट जोगाउन सक्छ । प्रविधिको विकाससँगै विभिन्न सुविधा भएका मोबाइल फोन बजारमा आइसकेका छन् । चलनचल्तीमा आएका मोबाइलभन्दा भिन्न प्रविधिसहित आत्मसुरक्षाका लागि सक्षम हुने मोबाइलले बजारमा पाइला टेक्दैछ ।

 कतै एक्लै हिँड्दै हुनुहुन्छ र कसैले तपाईंलाई आक्रमण वा अपहरण गर्न लागेको महसुस गरेको अवस्थामा आफ्नो मोबाइलको एउटा बटन थिचेर आफन्त र प्रहरीलाई तत्कालै खबर गर्न सक्ने प्रविधि उक्त मोबाइलको मुख्य विशेषता हुनेछ । सिटी नेट र माइक्रोसफ्टले गतफागुन ३० देखि चैत १ गतेसम्म राजधानीमा सफ्टवेयर निर्माताहरू सहभागी गराई सिटी एप्स आपाथोन कार्यक्रम आयोजना गरेको थियो । १ सय ३ जना सफ्टवेयर निर्माता सहभागी सो कार्यक्रमका २९ समूहमध्ये सूचनाप्रविधिका विद्यार्थीहरूले तयार पारेको आत्मसुरक्षाको सूचना प्रवाह गर्ने एप्लिकेसन पहिलो भएको छ । सोही एप्लिकेसन्स नै आधुनिक जीवनशैलीमा तपाईंको सुरक्षाको साथी बन्न लागेको हो ।

पुल्चोक इन्जिनियरि· कलेजका यशश्वीराज पन्त, प्राइम कलेजका रुमी शाक्य, वीरगन्जका गोपाल कन्दोई र अनिश अन्सारीले आत्मसुरक्षाको यो प्रविधि विकास गरेका हुन् । यस एप्लिकेसनमा आफ्नो सुरक्षाको सूचना जानकारी गराउनका लागि आफन्त तथा प्रहरी कार्यालयका मोबाइल नम्बर तथा ईमेल राख्ने सुविधा छ । मोबाइल प्रयोगकर्ता कुनै समस्यामा परेको अवस्थामा मोबाइलको एप्लिकेसनमा रहेको एउटा बटन थिच्नासाथ सबै संकलित फोन तथा ईमेलमा तपाईंको सूचना तथा जानकारी प्रवाह हुन्छ । यस एप्लिकेसनमा एउटै बटन थिचेर फोटो खिच्ने तथा आवाज र भिडियो रेकर्ड गर्ने सुविधा पनि छ । यो एप्लिकेसन्सले सर्वसाधारणलाई सुरक्षाका लागि निकै ठूलो मद्दत पुग्ने यसका निर्माताको विश्वास छ । धुलिखेलमा सञ्चालन भएको तीन दिवसीय कार्यशालामा निर्माण भएको स्वास्थ्य सेवा सम्बन्धि जानकारी दिने एप्लिकेसन दोस्रो भएको थियो भने सवारी साधनको स्थानबारे जानकारी उपलब्ध गर्ने एप्लिकेसन तस्रो भएको थियो ।

पुल्चोक इन्जिनियरिङ कलेजका अशिष आचार्य, आयुष मानन्धर, सुप्रितम राज श्रेष्ठ र सविन भण्डारीको समूहले तयार गरेको बिरामीको उपचारमा सघाउने स्वास्थ्य सेवा सम्बन्धि एप्लिकेसन दोस्रो भएको हो । लक्षणका आधारबाट रोग पहिचान गर्ने यो एप्लिकेसन उपचार सेवा बिस्तारका लागि निक्कै उपयोगी हुने विश्वास गरिएको छ । चिकित्सकहरूको परामर्शबाट विभिन्न रोगका लक्षणसम्बन्धी तथ्यांकहरू संकलन गरी सोही तथ्यांकका आधारमा बिरामीको रोग पहिचान गर्न सक्ने यो एप्लिकेसनको विशेषता रहेको यसका एक निर्माता आचार्यको दाबी छ ।

पुल्चोक इन्जिनियरिङ कलेजकै प्रकाश अर्याल, ठाकुर न्यौपाने, चन्दन गुप्ता र प्रज्वल रिमालको समूहले बनाएको सवारीसाधनको स्थान जानकारी उपलब्ध गर्ने एप्लिकेसन तेस्रो भएको थियो । यस एप्लिकेसनअन्तर्गत सवारीसाधनमा सिमकार्डसहित एक संयन्त्र जडान गरिएपछि सवारीसाधनको अवस्था र स्थानका बारे जानकारी पाउन सकिन्छ । सार्वजनिक सवारी साधनहरू बस तथा ट्याक्सी, एम्बुलेन्स, नगरपालिकाका फोहर उठाउने गाडी आदिमा यस संयन्त्र प्रयोग गरी सवारीसाधनको स्थान पत्ता लगाउन सकिन्छ । कुनै गाडी कहाँ पुग्यो र कुन बाटोमा सवारीसाधनको चाप बढी छ जस्ता जानकारी हासिलका लागि यो एप्लिकेसन प्रभावकारी हुने अर्यालको दाबी छ । आफूहरूले निर्माण गरेको एप्लिकेसनलाई काठमाडौं महानगरपालिकाले प्रयोग गर्ने वचन दिएपछि उनी झनै उत्साहित भएका छन् । पुल्चोक इन्जिनियरिङ कलेज कम्प्युटर विज्ञानका विद्यार्थी प्रकाशले भने– ‘महानगरपालिकाले फोहोर संकलन गर्ने गाडीमा यो एप्लिकेसन प्रयोग गर्दा प्रभावकारी हुने ठहर गर्दै हामीलाई आवश्यक तयारी गर्न भनिसकेको छ, यसबाट हामी अझ उत्साहित भएका छौं ।’

कार्यशालामा प्रशासनिक कार्यका लागि सरकारी कार्यालय तथा नगरपालिकाका सेवा, सूचना, र गतिविधि, ट्राफिक व्यवस्थापन, फोहर व्यवस्थापन, अस्पाताल र चिकित्सक, सार्वजनिक अनलाइन पुस्तकालय, सामाजिक सुधारका गतिविधि, सार्वजनिक शौचालय, पर्यटन विकास, नागरिक आवाज, बजार एवम् रोजगार जस्ता विभिन्न शहरी विषयवस्तुका जानकारी मोबाइल तथा कम्प्यटरमा उपलब्ध हुने एप्लिकेसनहरू विकास गरिएका थिए ।

उत्कृष्ट ३ एप्लिकेसनहरू विश्वव्यापी प्रवद्र्धनका लागि आगामी ३ महिनापछि सिंगापुरमा आयोजना हुने विश्व शहर बैठकमा सहभागी गराउने माइक्रोसफ्ट इनोभेसन सेन्टरका नेपाल प्रमुख बैलोचन तुलाधरले बताए । माइक्रोसफ्ट एसिया क्षेत्रका उपाध्यक्ष स्टेफन स्जोस्ट्रमले नेपालका सफ्टवेयर निर्माताहरूले शहरका समस्या समाधानका लागि निक्कै राम्रा एप्लिकेसनहरू निर्माण भएको बताए ।

http://www.newsofnepal.com/new/mahanagar/2014/03/45149