एप्सले बनाउँदैछ ‘स्मार्ट महानगर'

नेपा-महानगरमा कहाँ सडक अवरुद्ध छ, कता बत्ती बल्दैन, कुन ठाउँमा अस्पताल छ, कहाँकहाँ सार्वजनिक शौचालय छन्? कहिले फोहोर उठ्दैन? अब यस्ता सूचना लिन कतै धाउनुपर्दैन, महानगरले नै यस्तो सुविधा नगरवासीका औंलामै छिनछिनमा पुर्‍याइदिनेछ।

सेवासुविधामा आधुनिकीकरण गरेर संसारभरका महानगरपालिकालाई ‘स्मार्ट महानगर' बनाउने माइक्रोसफ्टको योजनाअन्तर्गत काठमाडौं सूचनाको संसारमा ‘अपडेट' हुन लागेको हो।

विश्वप्रसिद्ध सफ्टवेयर कम्पनी माइक्रोसफ्टले संसारभरका महानगरपालिकाको छाता संस्था सिटीनेटसँग सहकार्यमा यस्ता एप्स विकास गरिरहेको छ। काठमाडौंलाई भने यसमा माइक्रोसफ्ट इन्नोभेसन सेन्टर नेपालले सघाइरहेको छ।
यसका निम्ति मुलुकभरका १ सय ३ आइटी इन्जिनियर र विद्यार्थी ‘सिटीएप्स नेपाल' को प्रतिस्पर्धामा उत्रेका छन्। उनीहरूले बिहीबारदेखि काभ्रे धुलिखेलस्थित धुलिखेल रिसोर्टको बन्दसत्रमा काम गरिरहेका छन्। तीन दिन त्यहाँ बसेर महानगरलाई काम लाग्ने मोबाइल तथा वेब–एप्स डिजाइन प्रस्तुत गर्ने उनीहरूको योजना छ। 
‘नोभेम्बरमा सिउलमा सम्पन्न २०१३ सिटीनेट कंग्रेसले माइक्रोसफ्ट कम्पनीलाई समेत व्यावसायिक समूहबाट सदस्यमा राखेपछि उसले काठमाडौं महानगरपालिकासँग काम गर्ने इच्छा राखेको हो,' महानगरपालिकाको अन्तर्राष्ट्रिय सम्बन्ध शाखाप्रमुख नूरनिधि न्यौपानेले भने।
‘महानगरलाई विद्युतीय सुशासनमा लैजानेबारे नीतिगत प्रतिबद्धता भइसकेको अवस्थामा मोबाइल र वेब–एप्सका माध्यमले थप सहयोग पुग्नेछ,' उनले भने। महानगरले नक्सा पास, कर्मचारी व्यवस्थापन र लेखा प्रणालीलाई विद्युतीय प्रणालीमा लगिसकेको छ।
एप्सले महानगरवासीका हातहातमा सबै खालका सूचना तथा जानकारी उपलब्ध गराउन सम्भव हुने न्यौपानेले जानकारी दिए।
‘एक सहर (वन सिटी) हामीले तयार पारेको मोबाइल र वेब एप्स दुवै हो। यसले मोबाइल प्रयोगकर्तालाई महानगरका सूचना तथा अन्य सहरी सूचना नियमित रूपमा उपलब्ध गराउँछ,' प्रतियोगितामा सहभागी एक्समङ्क्स टेक्नोलोजिजका मनोहर श्रेष्ठले भने। 
कोलम्बियाको रेगिस युनिभर्सिटीबाट आइटी म्यानेजमेन्टमा मास्टर्स सकेका मनोहर नेपालमै आइटी कम्पनी चलाइरहेका छन्। ‘एप्स निःशुल्क डाउनलोड गर्न सकिने भए पनि यसको दिगोपनका लागि सहरलाई दिनको एक रुपैयाँ खर्च गरौं भन्ने हाम्रो अभियान हो। महानगरवासीलाई सूचना समद्ध बनाउन यसले मद्दत गर्छ,' अर्का प्रतिस्पर्धी सदस्य सन्जेश रिमालले भने।
कम्प्युटर इन्जिनियरहरुले एप्समा सरकारी प्रशासन, ऊर्जा र पानी, योजना र पूर्वाधार, पर्यटन, मनोरञ्जन र संस्कृति, यातायात, स्वास्थ्य र समााजिक सेवा, शिक्षा एवं सार्वजनिक सुरक्षा र न्यायप्राप्तिका विधामा सहरवासीलाई सूचित गर्ने गरी डिजाइन गर्नेछन्।
उनीहरु सहरी ट्राफिक अवस्था, सार्वजनिक शौचालयको उपलब्धता, सहरी स्वास्थ्य सेवा, सार्वजनिक यातायातका साधन, सार्वजनिक सुरक्षा, फोहोर संकलनका जानकारीजस्ता अनेकौं उपयोगी मोबाइल र वेब एप्सका डिजाइनलाई बन्दसत्रले अन्तिम रुप दिँदैछ्।
‘माघको अन्तिमसम्म मोबाइल र वेब एप्सको योजना खाका (ब्लुप्रिन्ट) बुझाएका १ सय ५४ जना मध्येबाट छनोट भएका १ सय ३ जना यतिखेर सहभागी भइरहेका छन्। प्रतिस्पर्धामा उत्कृष्ट मोबाइल र वेब एप्सको डिजाइन प्रस्तुतकर्ता पाँचजनालाई सिंगापुरमा हुने वर्ल्ड सिटी समिटमा समेत नेपालको प्रतिनिधित्व गराउँदैछौं', माइक्रोसफ्ट इन्नोभेसन सेन्टर नेपालकी प्रबन्धक जुनु थापाले जानकारी दिइन्।
सेन्टरले उत्कृष्ट पाँचैजनालाई इन्क्युबेसनमा राखेर उनीहरुको डिजाइनलाई अझ परिष्कृत गर्दै विश्वभरका डेभेलपरहरुबीच प्रतिस्पर्धा गराउने उनले बताइन्।
‘महानगर अब फेरि फर्केर म्यानुअलतिर जान सक्दैन। समय लाग्न सक्छ, तर पनि मोबाइल र वेब एप्सका माध्यमबाट महानगरवासीलाई नियमित रुपमा सूचना र जानकारी उपलब्ध गराउनै पर्छ। माइक्रोसफ्टसँगको सहकार्यले यही योजनालाई मद्दत गर्छ,' न्यौपानेले थपे।

http://nagariknews.com/feature-article/story/14984/14984