राष्ट्रव्यापी सरसफाइ तयारी

24 May 2014 | १० जेष्ठ, २०७१

काठमाडौं-सरकारले नेवार समुदायको पर्व ‘सिठी नखः' र विश्व वातावरण दिवसका अवसरमा राष्ट्रव्यापी सरसफाइ अभियान गर्ने भएको छ।

प्रधानमन्त्री कार्यालयमा शुक्रबार आयोजित कार्यक्रममा पर्वका दिन उपत्यकामा र दिवसका दिन देशैभर अभियान चलाइने जानकारी गराइएको हो। 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले अभियान सञ्चालनका लागि सरोकारवाला निकायलाई परिपत्र गरिसकेको जानकारी दिएको छ। 
सफा भइसकेको बाग्मतीमा असारे भेलले फेरि फोहर नमिसाओस् भन्नेतर्फ पनि अभियान केन्द्रित रहेको कार्यक्रममा बताइयो। सिठी नखःका अवसरमा आगामी २१ गते र विश्व वातावरण दिवस जेठ २२ मा सरसफाइ अभियान चलाइने भएको हो। नेवार समुदायमा यस दिन पानीको मुहान, इनार र धारा सफा गर्ने परम्परा छ। 
मुख्य सचिव लीलामणि पौडेलले बिहान ७ देखि ९ बजेसम्म दुई घन्टा घर, अफिस, मठमन्दिर र नदीनाला सफाइमा जुट्न सर्वसाधारणलाई अपिल गरेका छन्। त्यसका लागि आवश्यक कुचो, मास्क र पन्जा घरैबाट ल्याउन पनि उनले आग्रह गरे। ‘सकेसम्म पुनः प्रयोगमा आउने पन्जा र मास्क प्रयोग गर्ने, पोलिथिन झोला प्रयोगलाई निरुत्साहित गर्ने व्यवस्था छ,' उनले भने। 
उनका अनुसार सहभागीलाई सरसफाइका लागि शपथग्रहण समेत गराइनेछ। सरकारले ‘एक घर एक व्यक्ति स्वयंसेवकका रूपमा' आ–आफ्नो टोलबाट अभियानमा सहभागी हुन आग्रह गरेको छ। उपत्यका अभियानको नेतृत्व सहरी विकास मन्त्रालयका सचिवले र बाहिरी जिल्लामा स्थानीय विकास अधिकारी, कार्यकारी अधिकृत र गाविस सचिवले अगुवाइ गर्ने व्यवस्था मिलाइएको छ। 
त्यसै गरी सहरी विकास मन्त्रालयले हरेक वर्ष मनाउँदै आएको सरसफाइ सप्ताह प्रभावकारी बनाउन २० सदस्यीय समिति गठन गरेको छ। आगामी २२ गतेबाट सुरु हुने सप्ताहअन्तर्गत पानीका स्रोत तथा टोल सफाइ, खुला दिसामुक्त घोषणालगायत जनचेतनामूलक कार्यक्रम र अन्तरक्रिया गरिने मन्त्रालयले जनाएको छ। यसपालिको नारा ‘खुला दिसामुक्त गर्दै अघि बढ्यो नेपाल, सफासुन्दर गाउँसहर, तराई, पहाड, हिमाल' राखिएको छ।

Go to top