ट्याङ्कर शाखामा तालाबन्दी

काठमाडौँ, जेठ २६  गते । लामो समयदेखि धारामा पानी नचुहेपछि आक्रोशित कपन–३ निलोपुल क्षेत्रका उपभोक्ताले काठमाडौँ उपत्यका खानेपानी लिको महाँकालस्थित ट्यांकर शाखामा आज बिहान तालाबन्दी गरिदिएका छन् ।

निलोपुल टोल सुधार समितिका दीपक कार्की, गोपाल उप्रेतीलगायतको अगुवाइमा त्यस क्षेत्रका उपभोक्ताले आज महाँकाल खानेपानी कार्यालयको ट्यांकर शाखामा तालाबन्दी गरेका हुन् । त्यस क्षेत्रमा सुक्खायामको सुरुआतदेखि नै धारामा पानी नआएर पानीको हाहाकार हुँदै आएको छ । करिब तीन महिनादेखि पानीको अभावका कारण खानेपानी समस्याका साथसाथै सरसफाइलगायत दैनिक जीवनमा अप्ठ्यारो खेप्नुपर्ने बाध्यता रहेको उपभोक्ताले बताए । 

कुन दिन, कति दिनमा कुन समय र कति घन्टा पानी वितरण हुने हो त्यसको यकिन जानकारीसहितको सुनिश्चितता हुनुपर्ने र उपभोक्तालाई मारेर निजी क्षेत्रलाई पानी बिक्री वितरण गर्ने व्यवस्था तत्काल रोक्नुपर्ने उपभोक्ताले माग गरेका छन् । त्यो व्यवस्था नभएसम्म ताला नखोल्ने अडानमा रहे पनि प्रहरीको बलमा ताला भने खोलिसकिएको छ । केही दिनअघि हाइभोल्टेजका कारण संस्थाको पानी तान्ने पम्प र यन्त्र बिग्रिएकाले मर्मतको काम भइरहेको जनाउँदै उपभोक्तालाई छिटोभन्दा छिटो पानी वितरण व्यवस्थाका लागि सक्दो कोसिस भइरहेकाले केही दिनभित्रै वितरणमा सुधार आउने काठमाडौँ उपत्यका खानेपानी लि महाँकालका प्रमुख भगवान सुब्बाले बताउनुभयो ।

उक्त लिमिटेडको ट्याङ्कर शाखाले काठमाडौँ उपत्यकाका विभिन्न सुक्खाग्रस्त क्षेत्रमा दैनिक १०० ट्यांकरसम्म पानी पठाउने गरेको शाखाका प्रमुख सुरेन्द्र हिमालयले जानकारी दिनुभयो । त्यहाँबाट पठाइने १०० ट्यांकरमध्ये दुई तिहाईजसो शुल्क लिएर र एक तिहाई अर्थात् करिब ३० ट्यांकर पानी निःशुल्क रुपमा उपभोक्ताका लागि वितरण गर्ने गरिएको उहाँले बताउनुभयो ।

काठमाडौँ उपत्यकामा कलङ्की, असन, क्षेत्रपाटी, बानेश्वर हाइटलगायत क्षेत्रमा ट्यांकरमार्फत निःशुल्क पानी वितरणको व्यवस्था मिलाइएको बताइएको छ । उता उपभोक्ता भने महिनौँसम्म धारामा पानी नआए पनि शुल्क नियमित रुपमा तिर्नुपर्ने बाध्यताप्रति आक्रोश व्यक्त गर्छन् । श्री हिमालय भन्नुहुन्छ, उपभोक्ताको माग जायज छ, पानी खुवाउने काम हाम्रो हो, धारामा पानी नआउने क्षेत्रमा आपत्कालीन रुपमा संस्थाले पानी वितरणको व्यवस्था सकेसम्म मिलाउँदै आएको छ ।

उपभोक्तालाई छैन, निजी टयांकरलाई बिक्री
लिमिटेडलाई नियमित रुपमा आफूहरुले महसुल बुझाए पनि पानी आपूर्ति गर्नाको साटो दर्जनौँको सङ्ख्यामा खुलेका निजी क्षेत्रका पानी आपूर्ति कम्पनीमार्फत ट्याङ्करका ट्याङ्कर पानी बेचेर आफूहरुमाथि अन्याय गरेको उपभोक्ताको  गुनासो छ । 

एउटा निजी ट्याङ्करले दैनिक रुपमा कम्तीमा एकदेखि पाँच ट्याङ्करसम्म पानी लैजाने गरेको शाखा प्रमुख हिमालय स्विकार्नुहुन्छ । निजी क्षेत्रका झन्डै दर्जनाँैको सङ्ख्यामा रहेका ट्यांकर व्यवसायीलाई लामो समयदेखि केयुकेएलले शुल्क लिएर दैनिक ५०आँै ट्यांकर पानी बिक्री गर्दै आएको छ । 

महाँकालबाट नेपाली सेना र नेपाल प्रहरीले समेत ट्याङ्करबाट पानी ओसार्ने गरेको बताइएको छ । काठमार्डाैँ उपत्यका खानेपानी लिमिटेडले अहिले काठमाडाँै उपत्यकामा दैनिक नौ करोड लिटर पानी आपूर्ति गर्दै आएको छ । त्यसमध्ये महाँकालबाट मात्रै चार करोड ५० लाख पानी वितरण हुने गर्छ । रासस

Go to top