दुई पोखरी जीर्णोद्धार थालियो

भक्तपुर, असार २३ - मध्यपुरठिमीस्थित ऐतिहासिक धरोहर 'दुई पोखरी' को जीर्णोद्धार र संरक्षण थालिएको छ । पोखरी संरक्षण सुधार समिति र मध्यपुरथिमी नगरपालिकाको पहलमा जीर्णोद्धारको सुरुवात भएको हो । समिति संयोजक बालकृष्ण पात्याले पोखरी जीर्ण बने पनि कसैको ध्यान नगएपछि स्थानीयवासीको सहयोगमा संरक्षण थलिएको बताए ।

 

मध्यपुर थिमीस्थित ऐतिहासिक ँदुई पोखरी’ संरक्षण गर्दै स्थानीय । तस्बिर : लीला/कान्तिपुर

उनले भने, 'संरक्षणकै क्रममा आकासे पानीलाई वाटर टि्रडमेन्ड प्लान गरी पोखरीमा राख्ने योजना छ ।' पोखरीको किनारामा बगैंचा बनाउने, बार लगाउने कार्य भइरहेको छ । पोखरीमा पानी टिकाउन भाँडो बनाउने माटो ल्याइएको र त्यो बिछ्याउने तयारी गरिएको समितिका पदाधिकारीहरूले बताए ।  करिब ३ सय वर्षपहिले गंगा महारानीले दुई पोखरी स्थापना गरी मध्यपुरवासीलाई पानीको स्रोत स्थापना गरेको भन्ने कथन छ । त्यसको मुहान बोडेको कमलपोखरी र याता पोखरीबाट ल्याउने गरेको थियो । बढ्दो सहरीकरणले बाटैमा स्रोत टुटेपछि पोखरी सुक्न थालेको हो । 

थिमी बालुवाको थुम्को हो, पोखरीमा पानी टिकाउनै समस्या छ । 'पानी टिकाउन हरिसिद्धिबाट भाँडो बनाउने माटो ल्याएर पोखरीमा बिछ्याउने तयारी भइरहेको छ,' समिति सदस्य बुद्धिकृष्ण श्रेष्ठले भने, 'पानीको स्रोत भएन, पहिलेको ठाउँबाट पानी ल्याउन सम्भवै छैन, आकासेपानीलाई नै टिकाउनेतर्फ लागेका छौं ।' पोखरीमा पानी टिकाउन र संरक्षण गर्न १ करोडभन्दा बढी लगानी गर्नुपर्ने संयोजक पात्याले बताए । उनले थपे, 'मध्यपुरथिमी नगरपालिकाले ३ लाख उपभोक्ताले नै उठाउने सर्तमा १५ लाख छुट्याएको छ, तर त्यो बजेट पर्याप्त छैन र फेरि त्यो हात पनि परेको छैन ।' घरबाट निस्केको फोहोरको निकासा नै पोखरी हुन थालेपछि पोखरी मासिएको स्थानीय उत्तरकुमार श्रेष्ठ फ्यकुले बताए । उनले भने, 'स्थानीयवासीले नै पोखरी संरक्षणमा प्रतिबद्ध भएर लाग्नुपर्ने हुन्छ ।'  

पोखरी संरक्षणको प्रयास यसअघि पनि नभएको भने होइन । ०५१ देखि बेला-बेलामा संरक्षणको प्रयास गरे पनि पानी टिकाउन भने सकिएको छैन । ०६५ मा नगरपालिकाले १० लाखको लगानीमा बार लगाएर संरक्षणको प्रयास गरे पनि सफल हुन सकेन । पोखरीको पानी सुकेपछि केहीले त्यसलाई खेल मैदान बनाए ।