असार लागेपछि पनि उपत्यकामा दैनिक रूपमा दश करोड लिटरभन्दा बढी पानीको व्यापार

काठमाडौँ, साउन ३१ गते । असार लागेपछि पनि उपत्यकामा दैनिक रूपमा १० करोड लिटरभन्दा बढी पानीको व्यापार भइराखेको छ । चैत, वैशाख र जेठ महिनाको तुलना भने यो अन्त्यत न्यून रहेको यसको कारोबारमा संलग्न व्यवसायीहरूको भनाइ छ । उनीहरूले भने, ती तीन महिनामा दैनिक रूपमा २५ करोड लिटरसम्म पानी व्यापार भयो ।

हाल उपत्यकाभित्र दैनिक रूपमा ८०० ट्याङ्कर पानी खरिद बिक्रीमा संलग्न छन् । यस्ता ट्याङ्करको क्षमता पाँच हजार लिटरदेखि १५ हजार लिटरसम्मका रहेका छन् । यसका अतिरिक्त २० लिटरका जार र एक लिटरका बोतलका पानी पनि बिक्री वितरण भइराखेको छ । एक लिटर बोतलका पानी दैनिक रूपमा उपत्यकाभित्र कति खपत हुन्छ भन्ने एकिन जानकारी कुनै निकायसित छै्रन । उपत्यका खानेपानी ट्याङ्कर तथा बोरिङ व्यवसाय सङ्घका अनुसार उपत्यकाभित्र पानीको कारोबार गर्न रु नौ अर्बभन्दा माथिको लगानी छ ।

उपत्यकाभित्रका मुख्यतः चोभार, बालाजु, जोरपाटी, मातातीर्थ गोदावरी, मच्छेगाउँ पानीको मुख्य स्रोत भएका क्षेत्र हुन् । यस्ता क्षेत्रबाट मुहान, बोरिङ तथा स्योलोट्युबवेलमार्फत उपत्यकाभित्र पानी बिक्री वितरण हुने गर्दछ । यस व्यवसायमा सांसददेखि ठूला घरानाका व्यापारी तथा स्थानीय बासिन्दाको सहभागिता रहेको सङ्घले जनाएको छ ।

अहिले ती पानीका स्रोतबाट एकसय मिटर डिप बोरिङ तथा ४०–५० फिटसम्मका स्यालो ट्युवमा भूमिगत पानी तानी बिक्री वितरण भइराखेको छ । काठमाडाँै उपत्यका खानेपानी व्यवस्थापन बोर्डले जारी गरेको निर्देशिका विपरीत अनधिकृत रूपमा केही व्यवसायीले बोरिङ तथा स्यालोट्युबवेलबाट पानी निकालिरहेको सङ्घले जनाएको छ । सङ्घले बोर्डबाट केबल १९ वटा व्यवसायीले मात्र इजाजत लिएको जनाएको छ । तर उपत्यकाभित्र ३०० भन्दा बढी बोरिङ तथा स्योलोट्युबवेल बिनाअनुमति सञ्चालनमा रहेको बताइन्छ ।

सङ्घको आज यहाँ आयोजित चौथो साधारणसभा तथा दोस्रो अधिवेशनमा सङ्घका अध्यक्ष हरिकृष्ण कँडेलले भन्नुभयो, बिनाअनुमति सञ्चालनमा रहेको बोरिङ तथा स्योलोट्युबवेलको कारोबारलाई रोक्न चुनौती छ । उहाँले भूमिगत पानीको कारोबारलाई व्यवस्थित बनाउन सरकारले व्यवसायीलाई सहयोग दिन आवश्यक रहेको धारणा राख्नुभयो । सहरी विकास मन्त्रालयका निमित्त सचिव सुरेशप्रकाश आचार्यले मेलम्ची आयोजनाबाट दुई वर्षपछि उपत्यकावासीले पानी पिउन पाए पनि यसबाट निजी व्यवसायीलाई समस्या नपर्ने धारणा राख्नुभयो ।

सो अवसरमा सञ्चारकर्मी सुधन ज्ञवाली र व्यवसायी गणेश लामालाई सम्मान गरिएको थियो । कार्यक्रममा सङ्घका सचिव रामहरि अधिकारीले पानी बोक्ने ट्याङ्कर पुराना र चुहिने भएकाले नयाँ ल्याउन सरकारले भन्सार छुट दिन माग गर्नुभयो । काठमाडाँै उपत्यका खानेपानी व्यवस्थापन बोर्डका प्रवक्ता योगेन्द्र वमले अनुमति नलिई सञ्चालनमा रहेका बोरिङ तथा स्योलोट्युबवेलका सञ्चालकमाथि अनुगमन गरी कारबाही सुरु गरिएको जानकारी दिनुभयो ।

समाजसेवी तथा जोरपाटी गाउँ विकास समितिका पूर्व अध्यक्ष गोपाल बरालले खानेपानी ट्याङ्कर तथा बोरिङ व्यवसायलाई मर्यादित बनाउन व्यवसायीसँग आग्रह गर्नुभयो । उहाँले जल, जमिन र जङ्गलको संरक्षण गर्नु सामूहिक दायित्व हो भन्नुभयो । नेपाल घरेलु तथा साना उद्योग महासङ्घका उपाध्यक्ष चन्दन श्रेष्ठले खानेपानी ट्याङ्कर तथा बोरिङ उद्योगलाई राज्यले सुविधा दिन नसकेको गुनासो गर्नुभयो ।