फोहोर पानी पिउन बाध्य छन् पहिरोपीडित

जाजरकोट, १३ भदौ : पहिरोले खानेपानीका ट्यांकी र पाइप पुरेपछि जिल्लाका उत्तरपूर्वी क्षेत्र बारेकोटका रामीडाँडा, सक्ला र रोकायगाउँका पहिरो प्रभावित स्थानीय फोहोर पानी पिउन बाध्य छन् ।

पहिरोले रामीडाँडा गाविसका सातवटा खानेपानी योजनाका ट्यांकी र पाइप पुरेको छ । बाढी र पहिरोले अल्कारहेज, फड्काखोला, घुतघुते, बागडोरा, जाब्लाखोला, कोटिली र नौमुले खानेपानी आयोजनाका ट्यांकी र पाइप पूर्ण रूपमा पुरेको स्थानीय विष्णु बुढाले बताए । पहिरोले ट्यांकी र पाइप पुरेपछि धौलाकोट, तलीआगर, माथिआगर, सिर्पाचौर, कोटिली, सिनाकोटलगायत गाउँका स्थानीयले अहिले खोलाको पानी पिइरहेका छन् ।

खानेपानी अभावमा ती गाविसका चार सय ५८ घरपरिवार समस्यामा परेका हुन् । सम्बन्धित निकायमा खानेपानीको व्यवस्था गर्न माग गरे पनि सुनुवाइ नभएको पहिरोपीडितले गुनासो गरेका छन् । ‘एक त भोकभोकै खुला चौरको बास, त्यसैमा खोलाको धमिलो पानी पिउनुपर्ने भयो,’ रामीडाँडा–६ सिर्पाचौरका पहिरोपीडित खड्कबहादुर घर्तीले भने ।

त्यस्तै पहिरोले रोकायगाउँ–८ सेरी खानेपानी योजनाको ट्यांकी र पाइप पनि पहिरोले पुरेको छ । सेरीमा खानेपानीको आपूर्ति बन्द भएकाले स्थानीय खोलाको फोहोर पानी पिउन थालेका छन् । ‘पहिरोले मुहानबाटै ट्यांकी र पाइप बगाएर लग्यो, बनाउने उपाय छैन के गर्ने ? खोलाको फोहोर पानी कपडामा छानेर ल्याउनुपर्छ,’ स्थानीय अमृत घर्तीले भनिन् ।

फोहोर पानीको प्रयोगले पहिरोबाट विस्थापित परिवारमा झडापखाला फैलिएको छ । पहिरोमा मरेका पशु–चौपायाको दुर्गन्ध र फोहोर पानीको प्रयोगले झाडापखालाको प्रकोप देखिएको रामीडाँडा स्वास्थ्य चौकीका इन्चार्ज अहेव विष्णु ज्योतिले जानकारी दिए । उनका अनुसार दैनिक झाडापखालाका बिरामी आउन थालेका छन् ।