नगरको ढल दरबार क्षेत्रमा

फाल्गुन २३ - विश्व सम्पदामा सूचीकृत पाटन दरबार स्क्वायर क्षेत्रमा नगरको ढल बग्दा स्थानीयवासीले सास्ती बेहोर्नुपरेको छ । सम्बन्धित निकायले ढल निकासको व्यवस्थापनमा बेवास्ता गर्दा दरबार क्षेत्र दुर्गन्धित बनेको हो । यसले दरबार क्षेत्रमा आउने आन्तरिक तथा बाह्य पर्यटकहरूलगायत वरपरका रेस्टुरेन्ट तथा होटेल व्यवसाय दुर्गन्धको मारमा पर्न थालेका छन् । 

सातदोबाटो, लगनखेल, महालक्ष्मीस्थानलगायत स्थानको ढल दरबार क्षेत्रको चारदोबाटोमा आउने गर्छ । सानो ढलमा निकास नहुँदा दरबार प्रांगणमा पटकपटक बग्ने गरेको स्थानीयवासी बताउँछन् । मंगलबजारका रवि दर्शनधारीले संवेदशील क्षेत्र भए पनि सम्बन्धित निकायले चासो नदिएकामा गुनासो गरे । 'यो समस्या दशकौंअघिको भए पनि ललितपुर उपमहानगरपालिका, काठमाडौं उपत्यका खानेपानी लिमिटेडलगायत सम्बन्धित निकायले चासो दिन सकेको छैन,' उनले भने ।

जावलाखेल, पुल्चोक, कुमारीपाटी, मानभवनलगायत स्थानको ढल भने दरबारसँगको महापाल चोकमा आउने गर्छ । जनसंख्या वृद्धि भएअनुुसार राणाकालीन ढल फेर्न नसक्दा वर्षौंपछि पटकपटक समस्या झेल्नुपरेको महानगरपालिकावासी बताउँछन् । काठमाडौं उपत्यका खानेपानी लिमिटेड ढल महाशाखाका पूर्वप्रमुख सुनीलध्वज जोशीले अधिकांश ढल राणाकालीन र मल्लकालीन भएकाले पूरै नफेरीकन समस्या समाधान नहुने बताए । 'पुरानो ढलमा आकाशे पानी, सडक विस्तार गर्दा बनेका ढलबाट बग्ने फोहोर मिसिँदा निकास हुन नसकेर सडकमा बग्ने गरेको हो,' उनले भने, 'ललितपुर उपमहानगरपालिका, केयूकेएल, सडक विभागलगायत निकायको सहकार्यमा काम गरे मात्र समस्या समाधान हुन्छ ।' उनका अनुसार केयूकेएलमा ढल फेर्न पर्याप्त बजेट छैन । 'सरकारी उच्च निकाय र दातृ निकायले चासो दिएमा समस्या समाधान गर्न सकिन्छ,' उनले भने ।

Go to top