फोहोर उठेन

  • जताततै दुर्गन्ध, रोग संक्रमण बढ्ने सम्भावना

काठमाडौ, फाल्गुन ३० - फोहोर बोक्ने निजी ट्रकको ठक्करले बुधबार बालकको ज्यान गएपछि सिसडोलवासीको आन्दोलनका कारण तीन दिनदेखि राजधानीमा फोहोर उठ्न सकेको छैन । चोकहरूमा फोहोर थुपि्रएर दुर्गन्ध फैलिएको छ । दैनिक सयभन्दा बढी ट्रकले राजधानीबाट सिसडोलमा फोहोर लाने गरेका थिए, तीन दिनदेखि फोहोर लाने काम ठप्प भएको छ । अहिले करिब तीन हजार टनभन्दा बढी फोहोर राजधानीका सडकका चोकमा थुपि्रएको अनुमान छ । 

सर्वसाधारण नाक थुनेर यात्रा गर्न बाध्य छन् । दुर्गन्धका कारण झाडापखालालगायत सरुवा रोगको महामारी फैलिने सक्ने चिकित्सकहरूले बताएका छन् । महानगरपालिकालगायत अन्य निजी क्षेत्रका कर्मचारीले सुरक्षाको माग राख्दै फोहोर उठाउन छाडेका हुन् । काठमाडौं महानगरपालिका वातावरण विभाग प्रमुख ज्ञानेन्द्र कार्कीले सिसडोलका केही व्यक्तिले शवमाथि राजनीतिक गरिरहेको आरोप लगाए । 'प्राइभेट गाडीको ठक्करबाट मृत्यु भएको विरोधमा उत्रिएका स्थानीयले महानगरको चार करोडबराबरको चारवटा गाडीमा क्षति पुर्‍याएका छन्,' उनले भने, 'घटनाको छानबिन गरी ढोषी पत्ता लगाएर क्षतिपूर्ति असुल गराउनुपर्छ ।'

कार्कीका अनुसार स्थानीयवासीले पक्राउ परेका दुई आन्दोलनकारी नछाडेसम्म वार्तामा नबस्ने अडान राखेका छन् । 'कर्मचारी सुरक्षाको प्रत्याभूति नभएसम्म फोहोर उठाउन तयार छैनन्,' उनले भने, 'मृतकका आफन्तलाई उचित राहतको व्यवस्था पनि हुनुपर्छ ।' गत बुधबार राजधानीबाट फोहोर लिएर गएको बा१ख ९७२६ नम्बरको गाडीले ओखरपौवा कागती गाउँनजिक ३ वर्षीय बालक रिजन बलामी श्रेष्ठलाई प्राइभेट गाडीले ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको थियो । 

राजधानीका सडकछेउमा थुपारिएको फोहोरको डंगुरले सार्वजनिक गाडीसमेत पार्किङ गर्न समस्या भएको सवारी चालकहरूले बताए । विश्वसम्पदा सूची क्षेत्रमा फोहोर थुपि्रँदा व्यवसायसमेत प्रभावित भएको होटेल, रेस्टुरेन्टलगायत अन्य व्यवसायीको गुनासो छ । दरबार क्षेत्र घुम्न आएका पर्यटकहरू नाक थुनेर यात्रा गर्न बाध्य छन् । फोहोरको दुर्गन्धले पर्यटकहरू घट्दै गएको होटेल व्यवसायीहरू बताउँछन् । ललितपुरको मंगलबजारका ज्ञानरत्न शाक्यले पर्यटकीय रुटमा फालिएको फोहोरको दुर्गन्धले यातायातमा सवार यात्री, वरपरका बासिन्दा र पैदलयात्रीलाई समस्या भएको बताए । 'सरकारको कमजोरीका कारण समस्या लम्बिएको हो,' उनले भने, 'चाँडै सरोकारवालासँग वार्ता गरी निकास निकालियोस् ।' ललितपुर उपमहानगरपालिका वातावरण शाखा प्रमुख प्रदीप अमात्यले गृह मन्त्रालयबाट सुरक्षा दिने र सडक विभागबाट स्काभेटर उपलब्ध गराउन आश्वास पाएको बताए । 'यी कुरा सहज भएपछि मात्र फोहोर उठाउँछौं,' उनले भने ।