चौथो दिन पनि फोहोर उठेन

काठमाडौ, चैत्र १ - काठमाडौं महानगरपालिका सहित उपत्यकाका नगरका कर्मचारीहरूले सुरक्षाको कारण देखाएर आइतबार चौथो दिन पनि फोहोर उठाएनन् । राजधानीका प्रमुख चोकहरूमा फोहोर थुपि्रन थालेको छ, दुर्गन्ध फैलन थालेको छ । 

ललितपुर उपमहानगरपालिकाले मंगलबजार वरिपरिका फोहोर उठाएर कार्यालय परिसरमा राखेको छ । काठमाडौंमा फोहोर उठेकै छैन । सरकार र काठमाडौं महानगरपालिकाले फोहोरको समस्या समाधान गर्न आइतबारदेखि वार्तालगायत पहल थालेका छन् । महानगरपालिकासँग आबद्ध ११ वटा कर्मचारी संघसंगठनसँग महानगरपालिका प्रशासनले बाघदरबारस्थित आफ्नै कार्यालयमा आइतबार दुईपटक वार्ता गरेको थियो । 'उनीहरूले सुरक्षाको माग गरेका छन्,' काठमाडौं महानगरपालिकाका प्रवक्ता शान्तराम पोखरेलले कान्तिपुरसँग भने, 'सरकारले उनीहरूलाई सुरक्षा दिने हो र हामी त्यसमा सकारात्मक भएका छौं । सोमबार बिहान पुन: वार्तामा बस्दै छौं । सायद त्यसबाट सकारात्मक नतिजा निस्कन्छ र सोमबारबाटै फोहोर उठ्न थाल्छ ।' 

नुवाकोटको ओखरपौवातर्फ बुधबार फोहोर बोकेर गइरहेको बा१ख९७२६ नम्बरको प्राइभेट टि्रपरले स्थानीय बालक रिजन बलामीलाई ठक्कर दिएपछि मृत्यु भएको थियो । लगत्तै आक्रोशित स्थानीय बासिन्दाले करिब ४ करोड रुपैयाँको सवारी साधन जलाउँदै कर्मचारीहरूमाथि आक्रोश पोख्न खोजेका थिए ।  कर्मचारी संघसंगठनले भोलिपल्ट बिहीबार संयुक्त पत्रकार सम्मेलन गरी सुरक्षा प्रत्याभूति नहुन्जेलसम्मका लागि फोहोरमैला व्यवस्थापनको काम रोकेका थिए । 

कर्मचारीहरूले काठमाडौं महानगरपालिकाका प्रमुख तथा कार्यकारी अधिकृतसहित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, स्थानीय विकास मन्त्रालय र गृहमन्त्रालयमा पत्र पठाउँदै आफूहरूलाई पूर्ण रूपमा सुरक्षाको प्रत्याभूति गरिनुपर्ने, दोषी पत्ता लगाई क्षति असुल गराउनुपर्ने र यस्ता घटना पुन: हुन नदिन विशेष सावधानी गरिनुपर्ने तथा वैकल्पिक ल्यान्डफिल साइट यथाशक्य छिटो तयार गरिनुपर्ने माग राखेका थिए । 

'उनीहरूले घटनाका दोषीउपर कारबाही हुनुपर्ने पनि बताएका छन्,' प्रवक्ता पोखरेलले भने । उनका अनुसार बालकको मृत्युपछि पीडित परिवारसँग पनि वार्ता गर्ने काम भइरहेको छ । 'त्यो चाहिं महानगरले मात्र गर्न सक्दैन । सरकारको माथिल्लो निकाय, प्रहरी पनि त्यसमा संलग्न हुनु जरुरी छ,' उनले भने, 'त्यसका लागि हामी पहल गरिरहेका छौं ।'