प्रहरी स्कर्टिङमा फोहर सिसडोल

बुधबार ४ चैत्र, २०७१ ; काठमाडौं-सरकारले प्रहरी परिचालन गरेर काठमाडौंको फोहर मंगलबारदेखि सिसडोल लैजान थालेको छ। करिब एक साताअघि ४ वर्षे बालकलाई फोहर बोक्ने निजी ट्रकले किचेर मारेपछि स्थानीय त्यस क्षेत्रमा अवरोध गरेका थिए। प्रहरी परिचालन गरेपछि दिउँसो १२ बजेदेखि फोहर सिसडोल लैजान थालिएको हो। मंगलबार संकलन भएको फोहरको करिब २५ प्रतिशत मात्र सिसडोल पुर्या इएको छ।

काठमाडौं महानगरपालिकाका अनुसार १५/१५ जना नेपाल प्रहरीसहितका दुई सवारीको स्कर्टिङमा ११ ट्रक लगिएको छ। यसबाहेक ललितपुर उपमहानगरपालिकाले पनि केही फोहर लगेको महानगरले जनाएको छ। 'स्थानीयसँग कुरा मिलेपछि प्रहरी स्कर्टिङमा फोहर लान थालिएको छ,' महानगरपालिका वातावरण महाशाखा प्रमुख रविनमान श्रेष्ठले भने, 'तर सिसडोलको डम्पिङ साइटमा फोहर मिलाउने सवारीको अभाव छ।' स्थानीयसँग सहमति भए पनि महानगर कर्मचारीले असुरक्षा महसुस गरेपछि प्रहरी परिचालन गरिएको उनले बताए। काठमाडौंमा जम्मा भएको फोहरमध्ये करिब दुई सय टन फोहर मंगलबार लगिएको महानगरपालिकाले जनाएको छ। श्रेष्ठका अनुसार सडक विभागले दिएको पुरानो डोजर ल्यान्डफिल साइटमा बिग्रिएपछि झन् समस्या परेको छ। 'फोहर लगेर थुपार्ने काममात्र भएको छ,' उनले भने, 'अब फोहर मिलाउन डोजरबिना सम्भव छैन। यसको व्यवस्था नहुन्जेल ल्यान्डफिल साइट अव्यवस्थित हुन्छ। जसका कारण फेरि फोहर रोकिन सक्छ।' स्थानीण्यले करिब तीन करोड पर्ने एक एस्काभेटर, दुई डोजर र एक लोडर बुधबार जलाएपछि दिएको डोजर कामै गर्न नपाई बिग्रेको छ। विभागले एस्काभेटर दिने भए पनि मंगलबारसम्म पुग्न सकेन। 'एस्काभेटर भोलि (बुधबार) बिहान मात्र हामीले पाउँछौं। १५ देखि २० वर्ष पुरानो डोजर बन्छ कि बन्दैन, था छैन,' उनले भने, 'डोजर र एक्काभेटरले राम्ररी काम गरे बुधबार नै १ हजार टन फोहर काठमाडौंको सिसडोल लान सकिन्छ।' काठमाडौंमा थुप्रेको फोहर कतिपय सवारी बिग्रिएका कारण जम्मा २५ प्रतिशत मात्र संकलन भएको एक कर्मचारीले बताए। पीडितलाई ट्रकधनीले १० लाख क्षतिपूर्ति दिने र परिवारका दुई बालबालिकालाई महानगरपालिकाले सरकारी विद्यालयमा पढाइदिने सर्तमा स्थानीयले सोमबार रातिदेखि अवरोध फिर्ता लिएका थिए।

Go to top