फोहरको समस्या

बुधबार ४ चैत्र, २०७१ ; काठमाडौ महानगरवासी बारम्बार आफूलाई फोहरको थुप्रोका बीचमा पाउँछन्। कहिले कुनै राजनीतिक दल विशेषको अगुवाइमा फोहर सडकबाट उठाइँदैन भने कहिले फोहर फाल्ने कामदार र मजदुरले विभिन्न माग राखेर घरघरबाट फ्याँकिएका फोहर सडकमै सडेर सम्पूर्ण वातावरण दूषित बनाइदिन्छन्।

अनि कहिले चहिँ स्थानीयस्तरका विभिन्न निजी र सामुदायिक संस्थाका समस्याका कारण फोहर उठ्दैन। कहिले 'डम्पिङ साइट' (फोहोर फाल्ने ठाउँ) जाने बाटोमा हुने दुर्घटनाले समस्या आउँछन्। यस्ता अनेकौँ कारणले फोहर कहिले कुनै सानो ठाउँ विशेषमा ठूलो समस्या बन्छ भने कहिले पूरै राजधानी नगरमा थुप्रिएको फोहरका ससाना थुम्काहरू राष्ट्रिय समस्या बन्न पुग्छन्। तर यस सहरमा बसोबास गर्ने जनताका प्रतिनिधि राजनीतिककर्मीले भने फोहरको राजनीतिक रंग हेरेरमात्र आवाज उठाउने वा नउठाउने निर्णय गर्छन्। ती नेताहरूले राजनीतिक कारणले कहिले फोहरको समस्यालाई अतिरञ्जित बनाउँछन् भने कहिले फोहरले राजधानी छोपिसक्ता पनि तिनको विवेकले समस्या देख्दैन। यस्तो अवस्थामा समस्या देख्नु आफ्नै दलको विरोध ठहरिने ठानेर तिनले मौन व्रत लिने गर्छन्। यसो हुनुको दोषी जनताबीच गैरराजनीतिक संयन्त्रको विकास हुन नसक्नु पनि हो। अर्कातिर यस्तो दुर्घटनाले ६ दिनसम्म सहरको फोहर बाटैमा असरल्ल पर्ने अवस्थाले सरकारको अक्षमता पनि उजागर गरेको छ।

राजधानीका विभिन्न स्थानमा करिब साता दिनदेखि थुप्रिएको फोहोर चैत दुई गतेदेखि उठाउन थालिएको छ। सडक र चोकमा असरल्ल फालिएका फोहोर र त्यसको दुर्गन्धले वरपरका बासिन्दा र बटुवाको स्वास्थ्यमा प्रतिकूल प्रभाव पर्ने जोखिम बढिसकेको थियो। कतिपय घर, चोकमा जम्मा भएका फोहर अझै उठाइएको छैन। सिसडोल डम्पिङ साइट जाने बाटोमा केही दिनअघि फोहर लैजाने ट्रकको ठक्करबाट एक जना बालकको मृत्यु भएपपछि स्थानीय बासिन्दाले उत्पन्न गरेको अवरोधका कारण फोहर फाल्ने कार्य रोकिएको थियो। फोहर फाल्ने ट्रक वा अन्य कुनै सवारी साधनबाट पनि कसैको ज्यान ज्यान जानु अत्यन्त दुःखद घटना हो। यस्ता दुर्घटनाको तथ्य पत्ता लगाई चालकको गल्ती भए निजलाई कानुनबमोजिक हदैसम्मको सजाय हुनुपर्छ। साथै, दुर्घटना हुनेबित्तिकै स्थानीय जनताले पनि विरोधका नाममा कानुनी शासनको सीमा नाघेर वितण्डा मच्चाउनु हुँदैन। सभ्य समाजमा एम्बुलेन्स, वारुण यन्त्र र प्रहरीपछि फोहर उठाउने र फाल्ने साधनलाई सडकमा प्राथमिकता दिइन्छ। जनस्वास्थ्यसँग प्रत्यक्ष सम्बन्धित हुनाले हामीले फोहर व्यवस्थापनका उपकरण र साधनलाई सडकमा महŒव दिनैपर्छ। यसैगरी आफू बसोबास गर्ने क्षेत्रका समस्या र वातावरणलाई राजनीतिकरण हुन दिनु हुँदैन। समुदायका समस्यालाई समेत राजनीतिकरण गर्न थाले सामाजिक सद्भाव पनि चिरा पर्न थाल्छ।

सिसडोल सडक दुर्घटनामा परेको बालकको परिवारले न्याय पाउनै पर्छ। सो घटनामा दोषी सबैलाई सजायको भागीदार बनाइनुपर्छ। नगर पालिकाको सवारी साधन चलाउने चालक पनि गैरजिम्मेवार हुन पाउँदैनन्। आफ्नो काखको बालकको मृत्यु हुँदा स्थानीय जनता रिसाउनु र रोष देखाउनु पनि अस्वाभाविक होइन। तर रिस पोख्नका लागि सम्पूर्ण जनताको साझा सम्पत्ति तोडफोड गर्नु उचित हुँदैन। सडक अवरोध गर्ने क्रममा तीन करोड रुपियाँ पर्ने एउटा एस्काभेटर, दुईवटा डोजर र एउटा लोडर जलाइएको छ। सार्वजनिक सम्पत्तिको यो विध्वंश पनि अक्षम्य अपराध हो। सरकारले त्यसको बिगो दोषीहरूबाट भराउन सक्नुपर्छ र त्यस्तो विध्वंशमा संलग्न व्यक्तिहरूलाई पनि कानुनअनुसार हदैसम्मको सजांय हुनुपर्छ। सार्वजनिक सम्पत्तिलाई ध्वस्त पार्ने प्रवृत्ति सह्य र स्वीकार्य हुन सक्दैन। नियम, कानुन र पद्धति सबैले पालना गर्नुपर्छ। नियम उल्लघंन गर्ने जो भए पनि कारबाहीको भागी बनाइनुपर्छ।