वाग्मती सफाइको सय हप्ता मनाइने

काठमाडौ, चैत्र ४ - अधिकारसम्पन्न वाग्मती एकीकृत विकास समितिले वाग्मती नदी सरसफाइको सय हप्ता विशेष सफाइ अभियानसाथ मनाउने तयारी गरेको छ। चैत २८ मा सरसफाइ अभियानको सयौं हप्ता पुग्दैछ। सरकारले वाग्मतीलाई सात खण्डमा विभाजन गरी सयौं हप्ताको विशेष सफाइ अभियान चलाउने भएको छ। यसका लागि जल तथा ऊर्जा आयोगका सचिव गजेन्द्रकुमार ठाकुरको संयोजकत्वमा वाग्मती सरसफाइ समिति गठन गरिएको छ। 

चोभार-बल्खु, बल्खु-थापाथली, थापाथली-मनोहरा दोभान, मनोहरा दोभान- तिलगंगा, गौरीघाट-जम्मुडाँडा, जम्मुडाँडा-गोकर्ण र गोकर्ण-सुन्दरीजल गरी सातवटा क्षेत्रमा वाग्मतीलाई विभाजन गरिएको छ। पशुपतिनाथ मन्दिर क्षेत्रमा पशुपति क्षेत्र विकास कोषले वाग्मती नदी सरसफाइ गनर्ेे संयोजक ठाकुरले बताए। उनका अनुसार गोकर्णदेखि सुन्दरीजलसम्मको करिब ८ किमि नदी किनार सरसफाइका लागि तीनवटा उपसमिति गठन गरिएको छ। 

सरसफाइका लागि १२ वटा समिति गठन गरिएका छन् भने, १४ जना सचिवलाई सरसफाइ अभियान परिचालनको नेतृत्व गर्ने जिम्मेवारी दिइएको छ। बल्खु-चोभार पूर्वतिरको खण्ड स्थानीय विकास सचिव, बल्खु-चोभार खण्ड (पश्चिमतिर) सामान्य प्रशासन सचिव, बल्खु-थापाथली खण्ड (ललितपुरतिर) जल तथा ऊर्जा आयोगका सचिव, बल्खु-थापाथली खण्ड (पश्चिमतिर) गृहसचिव, थापाथली-मनहोरा (काठमाडौंतिर) सहरी विकास सचिवलाई सरसफाइको नेतृत्व गर्ने जिम्मेवारी दिइएको छ। 

त्यसैगरी, थापाथली-मनोहरा खण्ड (ललितपुरतिर) शिक्षा सचिव, मनोहरा-तिलगंगा खण्ड -पश्चिमतिर) मुख्यसचिव, मनोहरा-तिलगंगा खण्ड -पूर्वतिर) सचिव शान्ताराज सुवेदी, गौरीघाट-जम्बोडाँडा खण्ड अधिकारसम्पन्न वाग्मती एकीकृत विकास समितिका अध्यक्षलाई सरसफाइको जिम्मेवारी दिएको संयोजक ठाकुरले बताए। उनका अनुसार जम्बोडाँडा-गोकर्ण खण्डको सरसफाइको जिम्मेवारी सिँचाइ सचिव र जम्बोडाँडा-गोकर्ण खण्ड -पूर्वतिर) सचिव नारायणगोपाल मलेगुलाई जिम्मेवारी दिएको छ। 'दायाँबायाँ गरी ५६ किमि क्षेत्रमा करिब ५६ हजार मानिस परिचालन गर्छौं,' उनले भने, 'यसको सम्पूर्ण तयारी पूरा भइसकेको छ।' 

गोकर्णदेखि सुन्दरीजल क्षेत्रको सरसफाइको जिम्मा त्यहाँकै स्थानीयवासीलाई दिइएको छ। सुन्दरीजल-गोकर्ण वाग्मती नदी सरोकार समितिका अध्यक्ष श्रीकुमार श्रेष्ठले गोकर्ण-सुन्दरीजल खण्डमा करिब १५ हजारभन्दा बढी मानिस परिचालन गर्ने बताए। 

'नदीको दायाँबायाँ मानव साङ्लो बनाएर सरसफाइ अभियान अघि बढाउने तयारी गरेका छौं,' उनले भने। विभिन्न संघसंस्था, वित्तीय संस्था, शैक्षिक संस्था, अस्पताल, धार्मिक संघसंस्था र सर्वसाधारणलाई सरसफाइ अभियानमा परिचालन गरिने उनले बताए। गोकर्णदेखि चोभारसम्म करिब २० किमि नदीको दायाँबायाँ पनि मानव साङ्लो बनाइने उनले बताए। 'मानव साङ्लोको सांकेतिक अर्थ नदीमा फोहोर गर्न दिन्नौं, अब नदी आमसमुदायको कब्जामा छ भन्ने हो,' उनले भने। सरसफाइ अभियानमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, विद्यार्थी, निजामती कर्मचारी सर्वसाधारणलाई परिचालन गरिनेछ। अधिकारसम्पन्न वाग्मती एकीकृत विकास समितिका आयोजना प्रमुख राजेश सिंहले वाग्मती सरसफाइ अभियानले अन्य क्षेत्रको सरसफाइमा पनि सन्देश जाने बताए। 

Go to top