दुई हजार मेट्रिक टनभन्दा बढी फोहोर व्यवस्थापन

काठमाडौं/रासस– बाग्मती नदी सफाइ महाअभियानले सुन्दरीघाटको राधास्वामी सत्संग केन्द्र आसापास क्षेत्रबाट शनिबार करिब २ हजार ७ सय मेट्रिक टन फोहोर व्यवस्थापन गरेको छ ।

महाअभियानको ९७औं शृंखलामा नदी तथा किनारा क्षेत्रमा जथाभावी मिल्काइएका जैविक तथा भौतिक वस्तु निकालेर सफाइ गरिएको हो । केही साताबाट कुलेश्वर, बल्खु त्रिभुवन विश्वविद्यालय प्रवेशद्वार अगाडिको क्षेत्र हुँदै सफाइ अभियान चलिरहेको छ । बाग्मतीलाई पहिलेकै स्वच्छ तथा स्वस्थ्य अवस्थामा फर्काउने उद्देश्यले ९७ साताअघिदेखि बागद्वारबाट अभियान सुरु भएको हो ।

महाअभियान तीन सातापछि चोभारमा पुगेर पूरा हुनेछ । अन्तिम साता नदीलाई राजधानीवासीले मानव सांलोले घेरा हालेर फोहर नगर्ने प्रतिबद्धता जाहेर गर्ने छन् । महाअभियान प्रमुख मुख्यसचिव लीलामणि पौड्यालले मानव सभ्यतासँग जोडिएको नदी फोहर तथा मानव अतिक्रमणले गर्दा आक्रान्त भएपछि सुरु महाअभियानमा विभिन्न तह तथा क्षेत्रबाट निरन्तर भएको सहयोगले गति लिन थालेको बताए । ‘अब यसको प्रदूषण न्यूनीकरणमा पनि ध्यान दिन आग्रह गर्छु,’ उनले भने ।

एमाले केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठले बाग्मती सम्पूर्ण राजधानीवासीको चिन्ता र सरोकारको विषय भएकाले संरक्षणका लागि मुख्यसचिवको नेतृत्वमा थालिएको महाअभियानले नदीले पुनर्जीवन प्राप्त गर्न थालेको जिकिर गरे । अभियानको सयौं सातामा सबै राजधानीवासीलाई नदी क्षेत्रमा आउनसमेत उनले आग्रह गरे । हिलाम्य र धुलाम्य बनेर फोहर व्यवस्थापनमा जुटेका नेता श्रेष्ठलाई स्थानीय समाजसेवी किशोर गौतम, सत्संग केन्द्रका प्रतिनिधि हरिहर बस्नेत तथा केन्द्रीय नेपाली विभागका प्रा. कृष्णप्रसाद घिमिरेले फोहोर व्यवस्थापनमा आवश्यक सहयोग उपलब्ध गराएका थिए । उद्योग सचिव जयमुकुन्द खनाल तथा प्रहरी अधिकृत सर्वेन्द्र खनालले पनि फोहर व्यवस्थापनमा सहयोगी भूमिका खेल्दै अब नदी क्षेत्रमा कसैले पनि फोहर गर्न नहुनेमा जोड दिए ।

सोही अवसरमा महानगरपालिका, प्रहरी, सेना तथा स्थानीय कुमारी क्लब, बर्नहर्ट कलेज, ग्रिन लन्स एकेडेमी, युरेसिया रेयुकाईका प्रतिनिधिलगायत सहभागी थिए ।