पानीको बढ्दो समस्याप्रति चिन्ता

काठमाडौं, (नेस) ; मुलुक जलस्रोतमा सम्पन्न भए पनि पछिल्लो समय पानीको बढ्दो समस्याप्रति चिन्ता व्यक्त गरिएको छ। जीवनका लागि अमूल्य ठहरिएको पानीको स्रोत संरक्षणमा सबैले पहल गर्नुपर्ने सरोकारवालाहरूले बताए।

विश्व पानी दिवसको पूर्वसन्ध्यामा मिडिया इन्टरनेसनलमा आयोजित ‘पिउने पानीको अवस्था’ विषयक अन्तरक्रिया कार्यक्रममा वक्ताहरूले यस्तो आवश्यकता औंल्याए। कार्यक्रममा बोल्दै पानी विज्ञ एवम् पूर्वमन्त्री गणेश शाहले मानव जीवनसँग प्रत्यक्ष सम्बन्ध रहने पानीको महŒव बुझाउँदै पानीको स्रोत संरक्षण गर्नुपर्ने बताउनुभयो।
वाणिज्य तथा आपूर्ति व्यवास्थापन विभागका निर्देशक हरिनारायण बेल्बासेले जमिनमुनिको पानीको स्रोतलाई अनियन्त्रित रूपमा उत्खनन गर्ने कार्यले जटिलता थप्दै गएको विचार व्यक्त गर्नुभयो।
यसले भविष्यमा अझ जटिलता थप्ने भएकाले राज्य र सरोकारवाला निकायले बेलैमा ध्यान दिनु जरुरी रहेको धारणा राख्नुभयो। नेपाल खाद्य तथा गुण नियन्त्रण विभागका वरिष्ठ अनुसन्धान अधिकृत कृष्ण राईले अनुसन्धानका क्रममा पानीको गुणस्तर खस्किँदै पाइएको बताउनुभयो। ‘यसको मुख्य कारण पानीका स्रोतहरू प्रदूषण भएकाले नै हो, यसबारेमा बेलैमा सचेत हुनुपर्छ।’ –उहाँले भन्नुभयो।
कार्यक्रममा बोल्दै उपत्यका खानेपानी स्रोत तथा ट्यांकर व्यवसायी संघका अध्यक्ष विष्णु दाहालले आफूहरूले विगत तीन दशकदेखि काठमाडौं उपत्यकामा पानीको आपूर्ति गर्दै आएको जानकारी दिनुभयो। तर आम नागरिकको हितमा ऐन कानुन नभएको भन्दै उहाँले सरकारको आलोचना गर्नुभयो।

Go to top