मेलम्चीको पानी बाँड्न ६ पोखरी बनाइँदै

काठमाडौं, चैत्र ८ - उपत्यका खानेपानी आयोजना कार्यान्वयन निर्देशनालयले मेलम्चीको पानी राजधानीमा वितरण गर्न ६ वटा पोखरी बनाउन लागेको छ । निर्देशनालयका निर्देशक तेजराज भट्टले मेलम्चीको पानी उपत्यकामा आउनु दुई महिनाअघि नै पोखरी निर्माण सम्पन्न गरिने बताए । '२०७३ वैशाखअघि नै सबै पोखरी निर्माण सम्पन्न हुन्छन्, काम तीव्र रूपमा अघि बढेको छ,' उनले भने । 

पानी संकलन गर्न ९ वटा पोखरीको आवश्यकता भए पनि पहिलो चरणमा ६ वटा निर्माण गरिने भट्टले बताए । तीन पोखरीको निर्माण चाँडै अघि बढाइने उनले जानकारी दिए । पहिलो चरणमा पोखरीहरू आरुबारी (८५०० घन मि.), महांकालचौर (८००० घन मि.), बाँसबारी (९५०० घन मि.), महाराजगन्ज (७५०० घन मि.), खुमलटार (९५०० घन मि.) र बालाजु (७००० घन मि.) मा बनाइनेछन् । 

भक्तपुरको कटुन्जे (६००० घन मि.), टिग्नी (३००० घन मि.) र कीर्तिपुर (६००० घन मि.) मा पनि पोखरी निर्माण गरिने भट्टले जानकारी दिए । यी पोखरी जोड्ने गरी करिब १५ किमि पाइपलाइन बनाउन एसियाली विकास बैंकसँग छलफल भइरहेको उनले बताए । 'जम्मा ६.५ करोड लिटर पानी संकलन हुन्छ, जुन रनिङ भइरहन्छ, किनभने पहिलो चरणमा १७ करोड लिटर पानी आउँछ,' उनले भने, 'पोखरीमा जम्मा मात्र भइरहे ती पोखरीको क्षमताले धान्न नै सक्दैन ।' 

०७३ वैशाख १ मा सर्वसाधारणका घरमा मेलम्चीको पानी झार्ने सरकारको योजना छ । पोखरीबाट थोक वितरण प्रणालीद्वारा घर-घरमा पानी वितरण गरिनेछ । सुन्दरीजलस्थित प्रशोधन केन्द्रबाट थोक वितरण प्रणालीमार्फत पोखरीमा पानी जम्मा हुने भट्टले बताए । त्यसपछि चक्रपथभित्र र बाहिर गरी ६० किमि थोक वितरण प्रणाली निर्माण गरिनेछ आयोजनाका अनुसार चक्रपथ र वरिपरिका मुख्य सहरी क्षेत्रमा ६ सय ७० किमि पाइपलाइन जडान हुने भएको छ । करिब २ सय १० किमिभन्दा बढी पाइपलाइन विस्तार भइसकेको छ । मैतीदेवी, घट्टेकुलो, भीमसेनगोला, सिनामंगल, पुरानो बानेश्वर, कोटेश्वर, थापाथली, अनामनगर, वनस्थली, सानेपा, मानभवनलगायत मुख्य सहरी क्षेत्रमा पाइपलाइन बिछ्याइसकिएको छ । मेलम्चीको पानी दैनिक ८ घन्टा धारामा आउने सरकारको अनुमान छ । 'दुई तलासम्मको घरमा सीधै पाइपबाट ट्यांकीमा पानी जम्मा गर्न सकिन्छ,' भट्टले भने । दोस्रो चरणमा याङग्री र लार्के खोलाको पानी उपलब्ध भएपछि २४ सै घन्टा उपत्यकामा पानी उपलब्ध हुने दाबी गरिएको छ । मेलम्चीबाट १७, लार्के र याङग्रीबाट ३४ करोड लिटर पानी उपत्यकामा ल्याउने सरकारको योजना छ ।