पानी दोहनले जमिन धसिँदै

  • विकराल समस्या आउन सक्छ : विज्ञ

काठमाडौ, चैत्र १० - भूमिगत पानीको अत्यधिक दोहनले उपत्यकाको जमिन बर्सेनि आधा मिटर धसिन थालेको एक अध्ययनले देखाएको छ । उपत्यका खानेपानी व्यवस्थापन बोर्डले गरेको अध्ययनअनुसार जमिन भासिने क्रम बढ्दा उपत्यकाको भौगोलिक सन्तुलन जोखिममा पर्दै गएको छ । मध्यभाग सबैभन्दा बढी जोखिममा छ ।

मध्यभागमा जनसंख्याको बढी चाप हुँदा भूमिगत पानीको दोहनसमेत अत्यधिक छ । पानी उत्पादनको हिसाबले उपत्यकालाई उत्तरवर्ती, मध्य भाग र दक्षिण भाग गरी तीन क्षेत्रमा विभाजन गरिएको छ । चक्रपथदेखि माथिल्लो भागलाई उत्तरवर्ती, चक्रपथदेखि मनहरा खोला क्षेत्रलाई मध्यवर्ती र त्यसबाहेकका क्षेत्रलाई दक्षिण भाग भनी छुट्याइएको छ । पानी उत्पादनको हिसाबमा उत्तरी क्षेत्र राम्रो मानिन्छ । मध्य भागमा कम उत्पादन हुन्छ । खानेपानी व्यवस्थापन इन्जिनियर सुशील केसीले बढ्दो सहरीकरणका कारण भूमिगत पानीको दोहन बढेको बताउँछन् । 'पानी रिचार्ज हुने मात्रा बढाउनपर्छ, तर कंक्रिट घरले गर्दा त्यो हुन ग्राहो छ, जमिनमुनि पानी जाने अवस्थै छैन,' उनले भनेे, 'उपत्यकाको जमिनमा कालोमाटो र बालुवा बढी छ ।' उपत्यकामा स्वीकृति प्राप्त डिप बोरिङ पम्पहरू करिब ३२० वटा छन् । तीमध्ये ८१ वटा केयूकेएलद्वारा सञ्चालित छन् ।

इन्जिनियर केसीका अनुसार करिब एक हजार डिप बोरिङ अवैध रूपमा सञ्चालित छन् । करिब ८ करोड लिटर भूमिगत पानी दैनिक दोहन भइरहेको छ । निजी संघसंस्थाले समेत भूमिगत पानी तानेर दैनिक बिक्री गरिरहेका छन् । 'प्रत्येक वर्ष भूमिगत पानीको दोहन बढ्दो छ, घटाउने उपाय छैन्, जमिन भासिँदै छ,' भूमिगत पानीका विज्ञ एवं सहप्राध्यापक सुरेशदास श्रेष्ठले भने, 'सरकारले ध्यान दिनुपर्छ, कुनै दिन ठूलो समस्या आउँछ ।' उपत्यकावासी दैनिक करिब २ करोड रुपैयाँको पानी किनेर खाने गर्छन् । निजी कम्पनीले बिक्री गर्ने जारको पानीमा दैनिक ३८ लाख रुपैयाँसम्म कारोबार हुने गर्छ । बोतलको पानी दैनिक ५५ हजार कार्टुन अर्थात् ७२ लाख रुपैयाँबराबरको खपत हुन्छ । दैनिक करिब १ सय २० पानी व्यापारीका ७ सय ५० ट्यांकरले अढाइ लाख लिटर पानी बिक्री गर्ने तथ्यांक छ । उपत्यकामा भूमिगत पानीको दोहन बढ्दै गएपछि पानी स्रोतसमेत सुक्दै गएका छन् ।

केयूकेएलबाहेक उपत्यकामा ७ सयभन्दा बढी निजी कम्पनीले भूमिगत पानीको दोहन गरिराखेका छन् । उपत्यकामा करिब ३५ लाख जनसंख्या छ । दैनिक पानीको माग करिब ३८ करोड लिटर छ । पूर्व वातावरणमन्त्री गणेश साहले भूमिगत पानीको दोहन अत्यधिक बढदै गएकोमा चिन्ता व्यक्त गर्छन् । 'पानी रिचार्ज हुँदैन, कसैले मतलब पनि राखेको छैन, कुनै दिन यसले विकराल समस्या ल्याउन सक्छ,' उनले भने । केयूकेएलले वर्षायाममा दैनिक करिब १५ करोड लिटर र सुक्खायाममा दैनिक करिब ११ करोड लिटर पानी वितरण गर्छ । बर्सेनि धाराको संख्या थपिए पनि पानीको स्रोत थपिएको छैन । एक अध्ययनका अनुसार ०५९ मा उपत्यकामा दैनिक ६ करोड लिटर पानी दोहन हुन्थ्यो भने ०६७ मा दैनिक ७ करोड लिटर । उपत्यकामा भूमिगत पानीको परिमाण करिब १५ अर्ब घनमिटर छ । यसमध्ये करिब ३ अर्ब घनमिटर पानी मात्र उपयोग गर्न सकिन्छ । बोर्डका अनुसार उपत्यकामा ३ सय ९० ढुंगेधारामध्ये २ सय ३३ मात्र सञ्चालनमा छन् ।