कटुन्जे खानेपानीको क्षमता बढाइँदै

भक्तपुर, चैत्र १० - कटुन्जे घट्टेखोला (लिफ्ट) खानेपानी जलस्रोत समितिले ६ लाख लिटर क्षमताको रिजर्भ ट्यांकी निर्माण गर्ने भएको छ । बढ्दो जनघनत्व र पानीको मागलाई मध्यनजर गर्दै पानी भण्डार क्षमता बढाइने समितिका अध्यक्ष निशान ढुंगेलले बताए ।

समितिले सूर्यविनायक र भक्तपुर नगरपालिका १७ सम्म पानी वितरण गर्ने योजना अघि बढाएको छ । जसअनुरूप ५ वर्षभित्र तीनवटा ६/६ लाख लिटरको रिजर्भ ट्यांकी बनाइनेछ । १४ करोड ५२ लाख लागतमा बन्ने रिजर्भ ट्यांकीले १५ वर्षसम्म बढ्नसक्ने जनघनत्वलाई सम्बोधन गर्ने समितिले जनाएको छ । समितिले हाल दैनिक १८ सय ५ धाराबाट ७ लाख लिटर पानी वितरण गर्दै आएको छ । रिजर्भ ट्यांकी शिलान्यास गर्दै भौतिक पूर्वाधारमन्त्री विमलेन्द्र निधिले ५ जिल्लाको विवादका कारण दलहरूबीच सहमति रोकिएको बताए ।