धरान खानेपानी आयोजनाको निर्माण ठेक्का सम्झौता

धरान– एसियाली विकास बैंक(एडिबी)को ऋण तथा अनुदान सहयोगमा सञ्चालन भइरहेको एकीकृत सहरी विकास आयोजनाअर्न्तगत धरानमा खानेपानी आयोजनाको निर्माण गर्न तियाञ्जिन तुदी जेभी र उपमहानगरपालिकाबीच बुधबार ठेक्का सम्झौता सम्पन्न भएको छ। 

ग्लोबल टेण्डरद्वारा उक्त कम्पनी छनोटमा परेको थियो। सम्झौतामा धरान उपमहानगरपालिकाका कार्यकारी अधिकृत टिकादत्त राई र कम्पनीका प्रतिनिधि निर्माण गोउलीले हस्ताक्षर गरेका छन्। आयोजनाका अनुसार भ्याटसहित कुल १ अर्ब ४८ करोड ७३ लाख १७ हजार ५ सय ६५ रुपैयाँको लगानीमा आयोजना निर्माण हुने भएको हो।धरानको खानेपानी समस्या हल गर्ने लक्ष्यसहित सुरु आयोजनाको लागि एडिबिमार्फत नेपाल सरकारको ५० प्रतिशत अनुदान, नगरविकास कोषको ३५ प्रतिशत ऋण सहयोग र १५ प्रतिशत रकम उपमहानगरपालिकाले लगानी गर्ने गरी आयोजना निर्माण हुन लागेको हो।


तियाञ्जिनलाई चाडै मोविलाइजेशन खर्च उपलब्ध गराउने र उक्त दिनदेखि ठिक २४ महिना अर्थात २ वर्षभित्रमा आयोजना निर्माण सम्पन्न गरेर हस्तान्तरण गर्नुपर्ने आयोजना कार्यान्वयन इकाका व्यवस्थापक राजु पोख्रेलले बताए।निर्माण सकिएको ९ महिनासम्म कम्पनी आफैले खानेपानी वितरण तथा सञ्चालन गरेर देखाउनुपर्नेछ भने १२ महिनाभित्र कुनै संरचना बिग्रिएमा, भत्किएमा कम्पनीले नै मर्मत गर्नुपर्ने सम्झौता पत्रमा व्यवस्था गरिएको छ।

हालको संरचना सुधार गर्नुका साथै नयाँ थपिने, सर्दुखर्दुको इनटेक सुधार्ने र नयाँ बनाउने, नयाँ ट्युबेल बनाउने र पुरानो मर्मत गर्नेजस्ता निर्माणको कार्य हुने आयोजना व्यवस्थापक पोख्रेलले बताए। धरानलाई ५ वटा क्षेत्रमा विभाजन गरेर त्यहाँ जलाशय बनाउने र त्यहींबाटै त्यस क्षेत्रमा पानी वितरण हुने उनले बताए।कार्यकारी अधिकृत टिकादत्त राईले धरान र धरानेहरुको सुनिश्चित भविष्यको लागि आयोजना महत्वपुर्ण भएकोले सहयोग गर्न आह्वान गरे।

सन् २०१७ भित्र निर्माण सम्पन्न हुने उक्त अयोजनाले उपमहानगरपालिकाको शतप्रतिशत र त्यति नभए ९५ प्रतिशतलाई सुविधा दिलाउने लक्ष्य छ। आयोजना सञ्चालन अघि ९ महिनासम्म भुमिगत स्रोतको अध्ययन भएको थियो। सो अध्ययनबाट सन् २०३१ सम्मको धरानको जनसंख्यालाई दैनिक १६ घण्टा पानी वितरण गर्न सकिने देखिएको थियो। आयोजनाबाट दैनिक २ करोड ३० लाख लिटर पानी संकलन हुने अनुमान छ। सन् २०३१ सम्म धरानको जनसंख्या दुई लाख ११ हजार पुग्ने अनुमान छ। दैनिक २ करोड २० लाख लिटर पानीको माग रहेको धरानमा अहिले दैनिक १ लाख २० हजार लिटर मात्रै पानी वितरण भइरहेको खानेपानी संस्थानले जनाएको छ।