पानी पिउन पोलियो सेन्टर जानुपर्ने अवस्था अाउनसक्ने चेतावनी

मङ्गलबार १० चैत्र, २०७१ ; काठमाडौं– काठमाडौं उपत्यकालगायत नेपालका अधिकांश भाग सन् २०२५ भन्दापछि खानेपानीको अभावमा खण्डहरमा परिणत हुने विज्ञहरुले चेतावनी दिएका छन्। खानेपानीको समस्या विकराल बन्दै गएको र जलस्रोत व्यवस्थापनको हालकै अदूरदर्शी प्रवृत्तिलाई जारी राख्ने हो भने यस्तो समस्या आउने विज्ञहरुको चेतावनी छ।

नेपाल नेशनल वाटर विक २०१५ का सन्दर्भमा नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान(नाष्ट)ले आयोजना गरेको 'वाटर एण्ड सस्टेनेवल डेभलपमेन्ट' विषयक गोष्ठीमा सहभागी विज्ञहरुले यस्तो चेतावनी दिएका हुन्। कार्यक्रममा सहभागी पूर्व विज्ञान तथा प्रविधि मन्त्री गणेश साहले यस्तै अवस्था रहिरहे सन् २०२० सम्ममा देशका अधिकांश भागमा पानीको हाहाकार मच्चिने र 'पानी पिउन पोलियो सेन्टर जानुपर्ने' अवस्थासमेत निम्तिन सक्ने उनले बताए। 'पानीको व्यवस्थापनमा काम गर्ने आँट भएका युवाहरु यस क्षेत्रमा लाग्नु पर्छ,' उनले भने, 'अहिलेको विश्वमा सबैभन्दा बढी गाँठ कमाउन सकिने उद्योग नै यही हो।' पानी व्यवस्थापन विश्वमै चुनौती बन्दै गएको उनको भनाइ छ।   नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठानका उपकुलपति जीवराज पोखरेलले काठमाडौं उपत्यकामा वाग्मती, विष्णुमती, इन्छुमती, रुद्रमती र मनोहरा जस्ता नदीहरु भए पनि ती नदीलाई फोहर पारेर 'टुकुचा' बनाएको भन्दै अब सचेत हुनु पर्ने बताए। पानीको व्यवस्थापनमा काम गर्ने आँट भएका युवाहरु यसको व्यवस्थापन र उद्यममा लाग्नु पर्ने उनले बताए। 'पानीको अभावमा विकासको पराकाष्ठामा पुगेका सहरहरु समेत खण्डहरमा बदलिएको विश्वका कतिपय मुलुकको उदाहरण छ,' उपकुलपति पोखरेलले भने, 'काठमाडौंमा भएका नदीहरुलाई 'टुकुचा'बाट इच्छुमतीमा बदल्नु पर्छ।' यसका लागि आवश्यक अनुसन्धान र व्यवस्थापनका लागि सघाउन सरकारले नाष्टलाई आगामी आर्थिक वर्षबाट रु. १० करोड बजेट निकासा दिन लागेको उनले जानकारी दिए। भावी पुस्ताको आवश्यकतालाई प्रभाव नपर्ने गरी वर्तमान पुस्ताले जलस्रोतको आफ्नो आवश्यकतालाई पूरा गरे मात्र पानीको दीगो व्यवस्थापन हुने उनले बताए।   कार्यक्रममा प्रष्तिठानका प्राज्ञ लक्ष्मीप्रसाद देवकोटाले नेपालमा ८३ प्रतिशत व्यक्तिमा खाने पानीको सुविधा पुगेको भनिए तापनि त्यो सही नभएको बताएका छन्। 'खाने पानीको पाइप जोडिँदैमा पानी प्राप्त हुँदैन,' उनले भने, 'धरामा २ दिन २ घण्टाको दरले पानी आउँछ, त्यसलाई कसरी पानी प्राप्त भएको मान्न सकिन्छ?'इन्स्टिच्युट अफ इन्जिनियरिङका प्राध्यापक हरि पण्डितले मेलम्ची खाने पानी आयोजना पनि अझ ३ वर्षयता नसकिने बताए। 'दैनिक ३० देखि ३५ मिटरको दरले सुरुङ निर्माण भए आगामी २०१६ सम्ममा सकिने लक्ष्य राखिएको उक्त आयोजनाको हाल दैनिक २० मिटरका दरले मात्र सुरुङ खनिरहेको छ,' उनले भने, 'मेलम्ची आउने आशामा हाल भइरहेको खाने पानीका पाइपहरु पनि मर्मत हुन छोडेका छन्।' पाइपमा छाडिएको पानी पनि ७० प्रतिशत चुहावटैमै सकिने गरेको उनले बताए।   नेपाल इञ्जिनियरिङ कलेजका प्राध्यापक खेमराज शर्माले नेपालमा कुल खेतियोग्य भूभागको २५ प्रतिशत भूभागमा मात्रै बाह्रै महीना सिँचाई सुविधा पुगेको बताए। कुल गार्हस्थ्य उत्पादनमा ३५ प्रतिशत बराबरको योगदान गर्ने र ६५ प्रतिशत जनसङ्ख्याले अँगालेको कृषि क्षेत्रलाई विकास गर्न पनि पानीको दीगो व्यवस्थापनमा ध्यान दिनु पर्ने उनले बताए। 'हाल नेपालमा प्रतिहेक्टर ३ टन धान उत्पादन भइरहेको छ,' उनले भने, 'सिँचाई सुविधा उपलब्ध हुने हो भने प्रतिहेक्टर १० देखि १२ टनसम्म धान उत्पादन लिन सकिने सम्भावना छ।'

Go to top