आजदेखि खानेपानी चोरी नियन्त्रण अभियान सुरु

चितवन, चैत १२ गते । चितवनको भरतपुर क्षेत्रमा खानेपानी चुहावट बढेको भन्दै यहाँको खानेपानी व्यवस्थापन बोर्डले चोरी नियन्त्रण अभियान सुरु गरेको छ । आजदेखि उक्त अभियान थालिएको खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक शालिग्राम पौडेलले जानकारी दिनुभयो । चोरी गर्ने दुईजनाको पहिचान भइसकेको र आज टोली पठाएर उनीहरूको लाइन काट्ने र जरीवाना तिराएर मात्रै पानी दिने पौडेलले बताउनुभयो ।

चितवनमा बोर्डको तथ्याङ्कले ३० प्रतिशत चुहावट भएको पाइएको छ । मिटरवक्सभन्दा अगाडि नै पाइप काटेर जोडेको समेत पाइएको बोर्डले जनाएको छ । त्यसो गर्दा मिटर नउठ्ने उहाँले बताउनुभयो ।

गएको फागुन महिनामा पनि चुहावटको आशङ्का भएको बोर्डको भनाइ छ । अघिल्लो वर्षको फागुनमा करिब रु ५० लाख महसुल उठेकामा अहिले रु ४२ लाख उठेकाले यहाँ पनि चुहावटको आशङ्कामा अनुगमन थालिएको कार्यकारी निर्देशक पौडेलले बताउनुभयो ।

दुई वर्षसम्म नियमितरुपमा चोरी नियन्त्रण अभियान चलाउँदा कुल रु करिब रु १३ लाख राजस्व सङ्कलन भएको थियो । चितवनको साविक भरतपुरमा नगरपालिकामा २८ हजार घरधुरीमध्ये अहिले १७ हजार ग्राहक भएका छन् । अहिले विभिन्न गाविस थपेर उपमहानगर बनाएपछि क्षेत्र थपिएपनि पानी भने विस्तार गर्न सकिने अवस्था छैन ।

चितवनको भरतपुर क्षेत्रमा र आसपासमा वितरण भएको खानेपानीबाट व्यवस्थापन बोर्डले अघिल्लो वर्षमा रु पाँच करोड ६० लाख आम्दानी गर्न सफल भएको तथ्याङ्कमा उल्लेख छ । रु २६ करोडको लागतमा बनेको खानेपानी आयोजना ६२ प्रतिशत सरकारी अनुदान, ३० प्रतिशत ऋण र ८ प्रतिशत उपभोक्ताबाट उठाइएको हो ।

गएको वर्षबाट न्युनतम शुल्क वृद्धि गरी मासिक रु ५० मूल्य रहेकामा हाल १०० बनाएको छ भने न्यूनतम्भन्दा माथि प्रतियुनिट रु १५ बाट १८ पु¥याइएको छ । नयाँ आयोजना बनाउने काम जारी रहेको बोर्डले जनाएको छ ।