सुकुम्बासीलाई सार्ने तयारी

काठमाडौ, चैत्र १२ - सरकारले थापाथलीस्थित वाग्मती नदी किनारका सुकुम्बासीलाई इचंगुनारायणमा स्थानान्तरण गर्ने तयारी गरेको छ। वास्तविक सुकुम्बासीको पहिचान गरी उनीहरूको उचित व्यवस्थापन गर्न काठमाडौं उपत्यका विकास प्राधिकरणलाई सरकारले निर्देशन दिएको छ। यस अनुरूप काठमाडौं उपत्यका विकास प्राधिकरणका आयुक्त भाइकाजी  तिवारीको संयोजकत्वमा नौ सदस्यीय कार्यदल गठन भएको छ। 

सहरी विकास तथा भवन निर्माण विभागले सुकुम्बासी व्यवस्थापनका लागि इचंगुनारायणमा संयुक्त आवास भवन निर्माण गरेको छ। उक्त भवनमा २ सय २७ आवास इकाइ छन्। तिवारीले पहिलो चरणमा थापाथलीका सुकुम्बासीलाई आवास इकाइमा स्थानान्तरण गरिने बताए। 'इचंगुनारायण जग्गा एकीकरण आयोजनामा संयुक्त आवास भवन निर्माण  गरेका छौं, सहरी गरिब तथा न्यून आय वर्गलाई व्यवस्थित गर्न भवन निर्माण गरेका हौं,' उनले भने। सहरी विकास मन्त्रालयले २०६७ मा संयुक्त आवास भवन निर्माणका लागि करिब दस करोड रुपैयाँमा ८ रोपनी जग्गा खरिद गरेको थियो। त्यसमध्ये करिब ६ रोपनी जग्गामा सरकारले संयुक्त आवास भवन निर्माण गरेको हो। २०७० देखि संयुक्त भवन  निर्माण सुरु गरिएको थियो। 

२०६९ मा सरकारले थापाथलीस्थित वाग्मती नदी किनारका २ सय ५८ वटा टहरा उच्चस्तरीय वाग्मती सभ्यता एकीकृत विकास समितिले भत्काएको थियो। 'त्यहाँबाट हटाइएका सबै सुकुम्बासी होइनन्, वास्तविक सुकुम्बासीको अध्ययन अध्ययनपछि उचित व्यवस्थापन गर्छाैं,' उनले भने। वाग्मतीबाट हटाइएकामध्ये १२ परिवारलाई मनोहरामा  स्थानान्तरण गरिएको थियो। साथै, ४६ परिवारलाई घरफिर्ता पठाएको थियो। उनीहरूलाई प्रतिपरिवार २ हजार ५ सय रुपैयाँ दरले राहतसमेत उपलब्ध गराएको थियो। त्यतिबेला २ सय ११ परिवार इचंगुनारायणमा स्थानान्तरण हुन सहमत भएका थिए। तर सरकारी उदासीनताका कारण उनीहरूको व्यवस्थापन प्रक्रिया लम्बिएको थियो। 

तिवारीले सुकुम्बासीलाई भाडा वा भोगाधिकारअन्तर्गत फ्ल्याटको भोगाधिकारमात्र दिने, भवनका फ्ल्याटहरू भाडामा दिने, जग्ग्ाा बाहेकको स्वामित्व दिने अथवा जग्गासमेतको स्वामित्व दिनेमध्ये एउटा विधि विस्तृत अध्ययनपछि छनोट गरिने जनाए। सुकुम्बासीसम्बन्धी विभिन्न संघसंगठनले सरकारको उक्त तयारीको मिश्रति प्रतिक्रिया दिएका छन्। 

नेपाल महिला एकता समाजकी अध्यक्ष विमला तामाङले स्थानान्तरण गर्नभन्दा अघि सुकुम्बासी संघसंगठनको धारणा बुझ्नुपर्ने बताइन्। उपत्यकाका वाग्मती, विष्णुमती, हनुमन्ते, धोबीखोला र टुकुचा लगायतका नदीमा करिब १२ हजार ७ सय २६ सुकुम्बासी जनसंख्या छ।

Go to top