कपुरधारामा बोरिङबाट पानी

काठमाडौं- सयौं वर्ष पुरानो ऐतिहासिक कपुरधाराको मूल सुकेपछि महानगरले डिप बोरिङ गाडेर धारो सुचारु गराउने भएको छ। सात वर्षयता पानी सुकेपछि काठमाडौं महानगरपालिकाले बोरिङ प्रयोग गरेर पानीको व्यवस्था गर्न थालेको हो।

संरचना बढ्दै गएपछि दुइवटै धारामा पानी आउन छाडेकाले ढुंगेधाराको औचित्य सुचारु गर्न यस्तो प्रयास थालिएको स्थानीय समाजसेवी देवेन्द्र रिमालले नागरिकलाई जानकारी दिए। 'भारतीय दूतावासले पक्की पर्खाल बनाएदेखि पानी सुक्यो,' उनले जानकारी दिए, 'त्यसबाहेक धारावरिपरि बढेका घरले पनि मुहान सुक्न पुग्यो।' दूतावासले गहिरो खाडल खनेर ढलान गरी पर्खाल ठड्याएका कारण पानी सुकेको उनको तर्क छ। 'मल्लकालदेखिको धारा हो यो,' उनले भने, 'दुवै धारामा डिप बोरिङ गरेर पानी ल्याउने गरी महानगरसँग छलफल भइरहेको छ।' पाटनमा हुने कात्तिके नाचमा सोही ठाउँको पानी लगेर भगवानलाई चढाउने इतिहास रहेको उनले जानकारी दिए।

कपुरधारामा पानी लिन असन, इन्द्रचोक, म्हैपी, क्षेत्रपाटी, नयाँबजारबाट मानिस आउने इतिहास रहेको उनले बताए। 'यसको प्राकृतिक स्रोत नै फिर्ता ल्याउनसक्ने स्थिति छैन,' उनले भने, 'त्यसैले शोभा फिर्ता गर्नका लागि ढुंगेधाराको पुनर्जीवन आवश्यक छ।'सोही क्षेत्रका बासिन्दा रहेका खानेपानी तथा ढल निकास विभागका इन्जिनियर आनन्द श्रेष्ठले अन्य क्षेत्रमा जस्तै नयाँ बनेका संरचनाले कपुरधारा सुकेको बताए। समाज र संस्कृतिसँग प्रत्यक्ष सम्बन्ध राख्ने संरचना जोगाउन सरोकारवालामै चासो कम भएका कारण यसको संरक्षण गर्न लागिएको उनले जानकारी दिए। 'पानी साह्रै मिठो भएकाले यहाँ निकै टाढाटाढाबाट मान्छे आउँथे,' उनले भने, 'भारतीय दूतावासले निकै गहिराइदेखि ढलान गरेर पर्खाल बनाइदिँदा समस्या पर्योा।'

महानगरपालिका वडा २९ का प्रशासकीय प्रमुख सुमन अधिकारीले बढ्दो संरचना निर्माणका कारण अन्यतिरजस्तै कपुरधारामा पनि समस्या आएको बताए। काठमाडौं मल बनाएपछि सुन्धारा सुकेको र ठमेलको गाःहिटी पनि यस्तै संरचना बन्दा सुक्दै गएको उनले जानकारी दिए।

'कपुरधारालाई संरक्षण गर्नुपर्छ। महानगरपालिकाले यसलाई डिप बोरिङ गरेर पुनर्जीवन दिने प्रयास गर्ने तयारी गरेको छ,' उनले भने, 'पहिलो हामीले स्थानीयसँग छलफल गरेर अगाडि बढेका छौं। दोस्रो, अब यसका लागि योजना निर्माणको काम थालेर यसलाई अगाडि बढाउँछौं।'