फोहोरमा लुकेको मोहोर

चैत्र २२ - नेपालको अर्थतन्त्रमा झन्डै ३५ प्रतिशत योगदान रहेको कृषि क्षेत्र बहुसंख्यक किसानहरूको आर्थिक उपार्जनको महत्त्वपूर्ण माध्यम रहिआएको कुरामा दुईमत छैन । पहाडी तथा हिमाली क्षेत्रमा बीसौं वर्ष अघिको मिश्रति कृषि पशुपालन प्रणाली अझैसम्म सुधारिनसकेको छैन भने तराईमा केही वर्षयता एकल खेती प्रणाली, पशुपन्क्षी पालन, फलफूल र तरकारीजस्ता कृषिवस्तुहरूको व्यावसायिक उत्पादन हुनथालेको छ ।

तर सम्पूर्ण बालीनालीको लागि आवश्यक मलखादको भने अझै पनि सहज उपलब्धता हुनसकेको छैन । कृषि विकासका लागि अत्यावश्यक मलखादको आफ्नै देशमा उत्पादन नहुनु, सरकारी स्तरबाट समयमै सहज र सर्वसुलभ रूपमा मलखाद उपलव्ध गराउन नसक्नु र मलको मूल्य अति उच्च भएकोले निम्न स्तरका किसानले प्रयोग गर्न नसक्नुको कारणले कृषि व्यावसायिकतामा सुधार आउनसकेको छैन । अकर्ेातिर अव्यवस्थित र अवैज्ञानिक रूपमा प्रयोग गरिने विषादी र रासायनिक मलले वातावरण, धन र जन जोखिममा परिरहेका छन् । प्राङ्गारिक कृषिवस्तुहरूको बढ्दो माग र प्राङ्गारिक नेपाल बनाउने स्वणर्ीम सपना बुनिरहँदा हाम्रा वरिवरि यत्रतत्र छरिएका बहुमूल्य प्राङ्गारिक फोहोरको उचित व्यवस्थापन गर्न सकिरहेको छैनौं । बढ्दो जनसंख्या, सहरीकरण र औद्योगिक प्रतिष्ठानहरूको वृद्धिले दिनानुदिन वातावरण बिग्रँदै गइरहेको छ । कृषि उद्योग र औद्योगिक प्रतिष्ठानहरूबाट ठूलो परिमाणमा प्राङ्गारिक फोहोरहरू डम्पिङ साइटमा लगेर फाल्नुपरेको छ । अर्थात दिनदिनै हामीले अदृश्य रूपमा लाखौं रुपैयाँ खाल्डोमा पुरिरहेका छौं । यो फोहोरभित्र लुकेको मोहोरलाई पहिचान गर्न सकिरहेका छैनौं । 


खेतीपातीमा रासायनिक मलको प्रयोग क्रमिक रूपमा बढिरहेको छ । रासायनिक मलको माग आर्थिक वर्ष २०७०/७१ मा ७ लाख ५० हजार मेटि्रक टन भएकोमा त्यति मात्रामा आपूर्ति हुनसकेको छैन । खेती लगाउने समयमा रासायनिक मलको अभाव, न्युन गुणस्तरको रासायनिक मल बजारमा यत्रतत्र वितरण हुनु, महँगो रासायनिक मल र रासायनिक मलबाट माटोमा दीर्घकालमा हुने नकारात्मक असरहरू क्रमश: खेती गरिने माटोेमा देखिन थालेका छन् । नेपालमा यत्रतत्र छरिएको फोहोरमैलामा रहेको प्राङ्गारिक पदार्थहरूलाई कम्पोष्टमा परिणत गरी मल बनाउनसकेमा यसरी उत्पादन गरिएको मलबाट केही हदसम्म रासायनिक मलको प्रयोगलाई प्रतिस्थापन गर्न सकिन्छ । मुख्य-मुख्य सहरहरूमा गरिएको एक सर्वेक्षणअनुसार दिनमा ७ सय ९३ मेटि्रक टन फोहोर निस्कन्छ भने काठमाडौंमा मात्र ४ सय ३५ मेटि्रक टन हुन्छ । त्यसमा ६०, ७० प्रतिशत फोहोर प्राङ्गारिक भएको पाइन्छ । यदि ७९३ मा ६० प्रतिशतमात्र प्राङ्गारिक फोहोर छ भने त्यसमा ४७५ टन प्राङ्गारिक फोहोरबाट झन्डै ४७ टन बराबरको मल प्रत्येक दिन खेर गैरहेको छ । 

यत्रतत्र छरिएर मल बनाउन मिल्ने प्राङ्गारिक पदार्थमा सहर बजारमा जम्मा हुने, सडेगलेका फोहोर पदार्थ, कुखुरा, गाईवस्तुबाट उत्पादित मलमूत्र, मासु वधशाला तथा प्रशोधन उद्योगबाट प्राप्त हुने फोहोर तथा अन्य उद्योगहरूबाट प्राप्त हुने उपउत्पादनहरू पर्छन् । यी विभिन्न स्रोतबाट प्राप्त कुहाउन मिल्ने प्राङ्गारिक पदार्थहरूलाई विभिन्न विधिबाट मलमा रूपान्तरण गर्न सकिन्छ । यसरी फोहोरलाई मलमा रूपान्तरण गर्ने विधिहरूमा कम्पोष्टिङ, बायोग्यास, भर्भिकम्पोष्टिङ तथा फोहोर प्रशोधनबाट विभिन्न किसिमका मलयोग्य उत्पादनहरू (जस्तै : ग्रयानुलेट्स र पेलेट मल) तयार गर्न सकिन्छ । कतिपय ठाउँमा यसरी खेतीपाती र बजारबाट आएका तरकारी फलफुल अन्न आदिको फोहोरलाई बंगुर, किराफट्याङ्ग्रा आदिलाई खुवाई तिनीहरूबाट उत्पादित मललाई कम्पोष्ट बनाएर प्रयोग गरिने विधि पनि अनुशरण गरेको पाइन्छ । यी विभिन्न विधिमध्ये कम लगानी, सानो क्षेत्रफल र फोहोरलाई तुरुन्त मल बनाउन सकिने गड्यौंलालाई फोहोर खुवाएर मल बनाउने विधि नेपालको लागि उपयुक्त हुनसक्छ । गड्यौंलालाई जैविक फोहोर खुवाएर मल बनाउने प्रक्रियालाई भर्मिकम्पोष्टिङ भनिन्छ । भर्मिकम्पोष्टको उत्पत्ति नै कृषि र उद्योगबाट आएका जैविक फोहोरहरूलाई व्यवस्थापन गर्नका लागि भएको पाइन्छ । भान्साबाट आएका, फार्महरूबाट, केराखेतीबाट, तरकारी र फलफूल मन्डीहरूबाट, गाईवस्तुहरूको गोठबाट आएका जस्ता सडाउन सकिनेजति पनि जैविक फोहोरहरू छन्, गड्यौंलालाई खुवाएर त्यसबाट कालो सुन (ब्ल्याक गोल्ड) वा भर्मिकम्पोष्टमा परिणत गर्न सकिन्छ । यस अर्थमा गड्यौंलाले गार्वेजलाई गोल्डमा परिणत गर्छ ।

भर्मिकम्पोष्टको सुरुवात क्यानाडाको अन्टारियोबाट सन् १९७० मा सुरु भएको थियो भने आज त्यहाँ ७५ टन फोहोर प्रत्येक हप्ता गड्यौंलाद्वारा प्रशोधन गरिन्छ । संयुक्त राज्य अमेरिकामा अमेरिकन अर्थवर्म कर्पोरेसनले पनि जैविक फोहोरहरू ५०० टन क्षमताका साथ प्रशोधनको काम गरिआएको छ । जापानमा आओका साङ्गयो कम्पनी लिमिटेडले ३००० टन क्षमताको फलफूल खाद्य उद्योगबाट निस्कने फोहोरलाई प्रशोधन गर्ने उद्योग सञ्चालन गरिआएको छ भने ती बाहेक पनि थुप्रै अन्य क्षमताका उद्योगहरू सञ्चालनमा छन् । भर्मिकम्पोष्टिङ प्रविधिबाट कुहेर खेर जाने प्राङ्गारिक पदार्थ तथा गोबर मललाई सुलभ र सजिलो तरिकाबाट कम्पोष्टमा परिणत गरी सस्तो र सुपथ मूल्यमा अति उपयोगी मल बनाउन सकिन्छ । यो विधिका थुपै्र फाइदाहरू भए तापनि यसका केही जटिल र अप्ठ्यारा पक्षहरू पनि छन्, जसलाई यसका प्रयोगकर्ताहरूले हमेसा ख्याल पुर्‍याउनुपर्ने हुन्छ । प्रथमत: भर्मिकम्पोष्टिङ लागि उपयुक्त किसिमको गड्यौंलाको प्रजाति सुहाउँदो फोहोर खुवाउने खोर हुन जरुरी छ । सहर बजारमा उपलब्ध मिश्रति किसिमका वस्तुहरूलाई भर्मिकम्पोष्टिङमा प्रयोग गर्ने हो भने फोहोरको थुप्रोबाट सबैभन्दा पहिले कुहिने किसिमका फोहोरहरूलाई नकुहिने वस्तुहरू (जस्तै : प्लास्टिक, तार, टिन) आदिबाट छुट्याउनुपर्छ । गड्यौंलाले आलो फोहोर खान नसक्ने हुनाले फोहोरलाई केही दिनसम्म हल्का कुहाउनुपर्छ । गड्यौंला सजीव जन्तु भएकोले यसलाई श्वास-प्रश्वासका लागि अक्सिजन चाहिने हुन्छ । तसर्थ गड्यौंला सहितको मल बनाउने खाडलमा सजिलै हावा आदान-प्रदान हुने र पानी नजम्ने खालको व्यवस्था हुन जरुरी छ । मल तयारी भएपछि मललाई गड्यौंलाबाट छुट्याएर मात्र खोतीपातीमा प्रयोग गर्नुपर्ने हुनाले गड्यौंला मलबाट छुट्याउने काम र बेला-बेलामा मल खाडलमा फर्काउने कामका लागि ज्यामी लाग्ने हुनाले यो प्रक्रियामा केही श्रमको पनि जरुरत पर्छ । भर्मिकम्पोष्ट तयार हुँदा यसमा चिस्यान २०, ४० प्रतिशतसम्म रहने हुँदा यसलाई टाढा-टाढासम्म पुर्‍याउन ढुवानी खर्च लाग्ने हुनाले यस कुरामा ध्यान पुर्‍याउनु जरुरी छ । त्यसैले भर्मिकम्पोष्ट उत्पादन गर्दा भर्मिकम्पोष्ट बनाउने ठाउँ फोहोरको स्रोत, भर्मिकम्पोष्ट प्रयोग गरिने जग्गा वा भर्मिकम्पोष्ट उत्पादन र्फम नजिक भएमा ढुवानीमा लाग्ने खर्चलाई कटौती गर्न सकिन्छ । 

संसारका अन्य मुलुकमा ठूला स्तरका भर्मिकम्पोष्ट उद्योगहरू सञ्चालन भई फोहोरबाट कम्पोष्ट बनाउने विधिहरू प्रयोग हुँदै आएको भए तापनि नेपालमा भने यो प्रविधिको अहिलेसम्म उल्लेख्य विस्तार हुनसकेको छैन । हालसालै नेपालको काठमाडौं, विराटनगर र चितवनमा सानादेखि मध्यम स्तरका उत्पादन र्फमहरू भर्खरै सुरु हुँदै आएका छन् ।