मेलम्चीको ठेकेदारले काम रोक्यो

काठमाडौ, चैत्र २४ - बहुप्रतिक्षति मेलम्ची खानेपानी आयोजनाको सुरुङ निर्माणको ठेक्का पाएको सीएमसी डी राभेन्नाले काम रोकेको छ । गत शुक्रबार आयोजनाको बोर्डलाई पत्र लेख्दै उसले मंगलबारदेखि आयोजनाको काम बन्द गरेको हो । इटालियाली कम्पनी सीएमसीले अधिकांश काम रोकिसकेको उल्लेख गर्दै आयोजनाका तर्फबाट काम गरिरहेका इन्जिनियरलाई नटबोल्ट कस्ने र अन्य केही सामान्य काममात्रै भइरहेको जानकारी दिएको छ ।

काम बन्द नभएको जनाउनमात्रै यस्ता सानातिना काम देखाइएको हो । अहिलेको विवादले ठेकेदार सीएमसी आयोजनाबाटै बाहिरिने सम्भावना बढेको छ । आफूसँग भएको सामानको सबै स्टक सकिएको र सामान किन्न पैसा पनि नभएकाले काम रोक्न लागेको ठेकेदारले जनाएको छ । 'ठेकेदारले लेखेको पत्र हामीले पाएका छौं, आयोजना प्रमुख घनश्याम भट्टराईले भने, 'उसले हामीलाई दबाब दिन खोजेको छ ।'


सीएमसीले केही स्थानमा टनेलको सामान्य 'मोडिफाइ' गर्नुपर्ने जनाएको छ । तर, आयोजनाका परामर्शदाता कम्पनीलाई कुन स्थानमा मोडिफाइ गर्नुपर्ने र त्यसको लागत कति हुने भन्ने जानकारी समेत दिएको छैन । 'हाम्रा इन्जिनियर (परामर्शदाता) ले लागतको ब्रेक डाउन माग्दा पनि ठेकेदारले दिएन,' प्रमुख भट्टराईले भने, 'हामीले भुक्तानी दिन बाँकी रकमका लागि आवश्यक कागजात माग्दा पनि अपि्रल १५ तारिख सम्मको समय माग्यो । यस्तो अवस्थामा ठेकेदारलाई आयोजनाले कसरी भुक्तानी दिने ?'

आयोजना प्रमुख भट्टराईका अनुसार ठेकेदार कम्पनीसँग मोडिफिकेसनको ब्रेक डाउन मागेको आठ महिना बितिसक्यो । तर मोडिफिकेसन र यसको लागत ठेकेदार कम्पनीले अझै दिएको छैन । ठेकेदारलाई आयोजनाले ठूलो रकम भुक्तानी दिन बाँकी पनि नरहेको उनले बताए । सबै कागजात दिए आयोजनाले भुक्तानी दिने जानकारी उनले दिए ।

चिनियाँ ठेकेदारसँग सम्झौता तोडिएपछि सीएमसीले सन् २०१२ मा मेलम्ची आयोजनाको ठेक्का पाएको हो । यो अवधिमा ६ किलोमिटर सुरुङ खनिएको छ । चिनियाँ ठेकेदारले खनेको समेत जोड्दा हालसम्म जम्मा १५ किलोमिटर सुरुङ खनिएको छ । मेलम्चीको पानी सुन्दरीजलसम्म ल्याउन २७.५८ किलोमिटर सुरुङ खन्नुपर्छ । 

सरकारले २०७३ साल वैशाख १ गतेभित्र मेलम्चीको पानी काठमाडौं ल्याइसक्ने प्रतिबद्धता गरेको छ । एसियाली विकास बैंकको सहायतामा २४ वर्षअघि यो आयोजनाको काम सुरु भएको थियो । लो विड भयो भनेर ठेकेदार कम्पनी तर्किने गरेको जानकारी पनि भट्टराईले दिए । 'लो बिड भएको हो भने तरलता व्यवस्थापन कसरी गर्ने, काम कुन गतिमा अघि बढाउने जस्ता विषयमा बारम्बार सोध्दा ठेकेदार कम्पनीका प्रतिनिधि भेट्नै चाहँदैनन्,' उनले भने, 'अब आयोजनाले कडा कदम चाल्नुपर्ने अवस्था सिर्जना भइसकेको छ ।' नेपालको काम सीएमसीको क्षेत्रीय कार्यालय सांघाईले हेर्छ । जितेन्द्रमान प्रधानले दोस्रो आधिकारिक व्यक्तिका रूपमा नेपालमा काम गरिरहेका छन्  । 

सीएमसीले ८० करोड तिर्न बाँकी

सीएमसीले सामान आपूर्तिकर्तालाई करिब ८० करोड रुपैयाँ तिर्न बाँकी छ । आयोजनाको नगद व्यवस्थापन र पेट्रोलियम पदार्थ उपलब्ध गराइरहेको कम्पनीलाई समेत पैसा दिइएको छैन । आयोजना प्रमुख भट्टराईलाई गत साता आठ वटा सप्लायर्सले भेटेका थिए । पाँच करोड भन्दा बढी भुक्तानी दिलाइदिन सप्लायर्सले आयोजना प्रमुख गुहारेका हुन् । सामान आपूर्तिकर्ताले गत सेप्टेम्बरदेखि नै भुक्तानी पाएका छैनन् । यसअघि आयोजना पक्ष र ठेकेदारबीच भएको वार्तामा तरलता व्यवस्थापनमा कुनै समस्या नरहेको ठेकेदारले बताउँदै आएको थियो । लामो समयसम्म भुक्तानी नपाएपछि आपूर्तिकर्ताले सामान दिन रोकेका हुन् ।

आयोजना पक्ष र ठेकेदारबीच भएको सम्झौताअनुसार न्यूनतम एक महिनालाई पुग्ने सामान मौज्दातमा राख्नुपर्ने प्रावधान छ ।