जिल्ला स्वास्थ्यले आँखा चिम्लँदा

जाजरकोटको एक गाउँमा नालाको पानी पिउँदै स्थानीय। फाइल तस्बिर : नागरिक

सुर्खेत-तालिममा सहभागी हुन सुर्खेत आएका जाजरकोट जिल्ला स्वास्थ्य कार्यालयका डा. बोम जिसीलाई मध्यपश्चिमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालयले चैत १८ गते नै निर्देशन दियो, ‘जाजरकोटमा महामारी फैलिएको मिडियामा आयो, तपाईं तुरुन्त जिल्ला फर्केर प्रभावित क्षेत्र जानुहोला।’ 

भोलिपल्टै जाजरकोट जान भनेर सुर्खेतबाट हिँडेका जिसी प्रभावित क्षेत्र गएनन्। बरु उनी केही दिनमै एउटा स्वास्थ्य शिविरका लागि मुगु पुगे। क्षेत्रीय स्वास्थ्य निर्देशनालयले मिडियाबाट आएको जानकारीका आधारमा महामारी नियन्त्रणका लागि दिएको निर्देशन पालना भएन। गाउँको सिधा सम्पर्कमा रहने जिल्ला स्वास्थ्य कार्यालय भने लामो समयसम्म समस्याबारे बेपर्वाह रह्यो।

यही कारण महामारीजस्तो स्वास्थ्य समस्या तीन सातासम्म ‘अज्ञात रोग’ को भयावह बनेर झाँगिन पुग्यो र ११ जनाको ज्यान लियो। महामारीले अझै हजारभन्दा बढी प्रभावित भए।
जिल्ला स्वास्थ्य प्रमुख धीरजंग शाहीका अनुसार स्थानीय स्वास्थ्य संस्थाले चैत २० गते नै महामारी फैलिएको आधिकारिक जानकारी जिल्लामा पठाएका थिए। तर, प्रभावित क्षेत्रमा चिकित्सकसहितको टोली त्यसको एक सातापछि बिहीबार मात्र पुग्यो। डा. दीपक पुनको नेतृत्वमा आठ जना स्वास्थ्यकर्मीको टोली महामारीबाट सबैभन्दा बढी प्रभावित पंैक गाविसमा पुगेको छ।
पाँच वर्षअघि जाजरकोटमै डेढ सयको ज्यान लिने गरी फैलिएको झाडापखाला महामारीमा पनि जिल्ला स्वास्थ्य कार्यालयसहित सरकारी निकायको बेवास्ताले बढी क्षति पुगेको थियो। गाउँमा औषधि नपाएर महामारी पीडित मृत्युको मुखमा पर्दा पनि सदरमुकाम खलंगा र राजधानीमा त्यसलाई ‘सामान्य रोग’ भनेर बेवास्ता गरिएको थियो।
क्षेत्रीय स्वास्थ्य निर्देशनालयका निमित्त प्रमुख खेमराज उपाध्याय गाउँबाट आएको समस्यालाई उचित समयमा ‘रेस्पोन्स’ नगर्दा समस्या बढ्ने गरेको बताउँछन्। उनका अनुसार जाजरकोट जिल्ला स्वास्थ्य कार्यालयले अहिलेसम्म पनि आधिकारिक रुपमा समस्याबारे जानकारी गराएको छैन।  
‘बरु हामीले नै मिडियाबाट जानकारी पाएर आवश्यक निर्देशन दियौं,’ उनले भने, ‘जिल्ला स्वास्थ्यले भने, यस्तो समस्या देखियो, आवश्यक सहयोग पाउँ, भनेर खबरसम्म गरेको छैन।’ मिडियाबाट पाएको जानकारीका आधारमा जनस्वास्थ्य अधिकृत चेतननिधि वाग्लेलाई प्रभावित क्षेत्र पठाइएको उनले जानकारी दिए।
जनताको स्वास्थ्यबारे चनाखो भएर बस्नुपर्ने जिल्लास्थित निकायले आँखा चिम्लँदा महामारी फैलने गरेको छ। ‘गाउँबाट महामारी फैलिएको खबर आउनेबित्तिकै माथिल्लो निकायमा जानकारी दिने र प्रभावित क्षेत्रमा तुरुन्त टोली पठाउने परिपाटी नै छैन,’ जिल्ला स्वास्थ्य कार्यालयकै एक कर्मचारी भन्छन्, ‘यही गैरजिम्मेवारीले ठूलो क्षति हुन्छ।’ उनले राष्ट्रिय मिडियामा महामारीबारे जानकारी आएपछि आइतबार काठमाडौंबाट विशेषज्ञ स्वास्थ्यकर्मीको टोली प्रभावित क्षेत्र आउन लागेको बताए।
यसैबीच, बिहीबार महामारी प्रभावित क्षेत्र पुगेका डा. दीपक पुनले स्वास्थ्य अवस्था बिस्तारै नियन्त्रणमा आउन लागेको बताएका छन्। आफूले पैंकमा मात्र तीन ठाउँमा घुम्ती स्वास्थ्य शिविर चलाएर करिब ५ सयको उपचार गरेको उनले जानकारी दिए। 
‘मैले यहाँ आइपुग्नेबित्तिकै तीन ठाउँमा घुम्ती शिविर चलाएर उपचार गरेँ,’ पैंकस्थित स्वास्थ्य चौकीमा मुकाम बनाएर बसेका उनले भने, ‘बिरामीको संख्या धेरै भए पनि महामारी क्रमिक रुपमा नियन्त्रणमा आइरहेको छ।’
यो महामारी पानीजन्य रोगको हुन सक्ने डा. पुनको अनुमान छ। चैत मध्यतिर वर्षा भएको र त्यसले पानीको मुहान प्रदूषित बनाउँदा संक्रमण बढेको उनको आँकलन छ। स्वास्थ्य परीक्षण गरिएकामध्ये अधिकांशमा रुघाखोकी, ज्वरो, भाइरल समस्या छ। 
‘समस्याको वास्तविक निदान त ल्याब परीक्षणपछि होला,’ उनले भने, ‘तर अहिलेसम्मको अवस्था हेर्दा धेरै बिरामीमा टाइफाइडजस्ता पानीजन्य रोगको लक्षण देखिएको छ।’ मौसम परिवर्तन बेला पानी र वातावरण प्रदूषित हुँदा संक्रमण फैलने उनले औंल्याए। 
समस्या देखिनेबित्तिकै प्रभावित क्षेत्र आउन नसेकेकाले मृत्यु भइसकेकाका हकमा कारण पहिचान हुन नसकेको डा. पुनको भनाइ छ। उनका अनुसार मृत्यु भएका व्यक्तिहरु ५० वर्षमाथिका छन्। अहिले पनि ल्याब परीक्षण असम्भव भएको उनले बताए। ‘यहाँबाट सदरमुकाम पुग्नै एक दिन लाग्छ,’ उनले भने, ‘लगिएको रगत, दिसालगायत ल्याब सामग्री सम्बन्धित ठाउँमा पुर्याणउन अझ बढी समय लाग्ने भएकाले समस्या पत्ता लगाउन कठिन छ।’ 
स्थानीय शिक्षक केशव आरसीका अनुसार पैंक गाविसमा शुद्ध खानेपानी अभाव छ। गाउँले नाला र खोलाको पानी पिउँछन्। खानेपानीको धारा भएको ठाउँमा पनि मुहानबाट पानी सिधै आपूर्ति गरिन्छ। ‘यसले पानी निकै दूषित हुन्छ,’ उनले भने, ‘जाजरकोटमा जति महामारी फैलिन्छ, त्यसमा सबैभन्दा बढी पानीकै दोष छ।’ 
महामारी फैलिएको खबरपछि प्रभावित क्षेत्र पुगेका नेपाल रेडक्रस सोसाइटीका अहेव हेमन्त केसीले प्रभावित क्षेत्रमा पानी दूषित भएको जानकारी दिए। उनका अनुसार खोला, नाला र मुहान मात्र होइन, धारामा आउने पानी पनि पिउनयोग्य छैन। ‘धाराको पानी पिउन खोज्दा हेर्दै धमिलो देखियो,’ उनले भने, ‘पियुष हालेर पियौं।’ गाउँमा स्वास्थ्यबारे जनचेतना अभाव हुँदा समस्या देखिने गरेको उनले बताए।