पानी जोगाउन गाउँको धारामा ताला

शंकरपोखरी (पर्वत), वैशाख ३ - सम्पत्ति जोगाउन घरमा ताला लगाउने चलन पुरानै हो । यहाँका बासिन्दाले पानी जोगाउन धारामा ताला लगाउँदै आएका छन् । गाविसका १, २, ५ र ९ वडावासीको बाध्यता हो यो । हिउँदका ४ महिना खानेपानीको चरम संकट भोग्दै आएका उनीहरूले संकलनका लागि सिमेन्टका घैंटा बनाएका छन् । त्यसमा संकलित पानी उपयोगका लागि धारो छ । आवश्यकताअनुसार खोलेर पानी प्रयोग गर्छन् । वर्षाका बेला घरका छानामा जम्मा भएको पानी पाइपमार्फत घैंटामा जम्मा हुन्छ । 

'बाटाको घर छ, साँचो नलगाए यो पानी एकै दिनमा सकिन्छ,' स्थानीय रमेश छेत्रीले भने । करिब २ सय घरका बासिन्दाले धारामा साँचो लगाउनु बाध्यता भएको उनले बताए । '२ महिना त घरमा साँचो नलगाए केही फरक पर्दैन, धारामा नलाए बर्बाद हुन्छ,' मैदानका बाबुराम नेपालीले भने । घैंटाको पानी सकिए एक गाग्री लिन करिब १ घन्टा टाढाको कुवापानी पुग्नुपर्छ । हरेक घरले २ हजार लिटर क्षमताका २/२ वटा घैंटा निर्माण गरेपछि समस्या केही टरेको छ । वर्षा हुँदा मात्र जम्मा हुने पानी अनावश्यक चलाउँदा १/२ दिनमै सकिन थालेपछि यस्तो उपाय निकालेका हुन् । 'साँचो लाउन थालेपछि घैंटाको पानीले जेनतेन एक महिना पुग्छ,' स्थानीय गणेश तिवारीले भने । उक्त पानी पिउन, गाईबस्तुलाई खुवाउन र सरसफाइका लागि प्रयोग हुन्छ । नुहाउन र कपडा धुन समय मिलाएर एक घन्टा टाढाको लमाय खोलामा पुग्छन् ।

१६ वर्षअघि निर्मित खानेपानी आयोजनाले बढ्दो जनसंख्यालाई थेग्न नसकेपछि लामो समयदेखि समस्या छ । ०५६ सालमा निर्मित डहरे खानेपानी आयोजनाको वितरण व्यवस्थित नहुँदा पानीको चरम समस्यामा गुजि्रनुपरेको धनबहादुर थापाले बताए । 'उतिबेला करिब डेढ करोड लगानीमा पानी आउँदा इन्द्रै आएजस्तो भयो,' उनले भने, 'धारा बनेको केही समयमै पानी आउन छाड्यो ।' तत्कालीन बृहत्तर योजनामा समेटिएको उक्त आयोजना सरकारी लगानीमै निर्माण भएको हो ।

Go to top