पहिले दु:खी, अहिले खुसी

दोलखा (सुस्पाक्षमावती), वैशाख ३ - गाउँमा फैलिएको जन्डिसले तीन दशकअघि डल्ली थामीको जीवनबाट खुसी खोसेको थियो । जवानीमा श्रीमान्लाई यही रोगले चुँडेर लगेको उनी कहिल्यै बिर्सन सक्दिनन् । घरेलु उपचारले जन्डिस निको नभएपछि निकै कष्टपूर्वक श्रीमान्ले प्राण त्यागेको दु:खद् घटना डल्ली सम्झिन्छिन् । संक्रमित पानी र फोहोरबाट बच्न सके जन्डिस नलाग्ने उनले अहिलेमात्र थाहा पाएकी हुन् ।

अहिले उनको मुहारमा खुसी देखिन्छ । घरआँँगन सफा छ । घरछेउमै धारा अनि नजिकै चर्पी छ । सँगै मचान र व्यवस्थित जुठ्यान पनि । भान्छादेखि आँगन र शौचालयसम्म सफा हुँदै गएकामा उनी गर्व गर्छिन् । उनको जस्तो अवस्था यो गाउँमा प्राय: सबैको घरमा देखिन्छ । त्यसैले केही वर्षयतादेखि यहाँ झाडापखाला फैलन छाडेको छ । आउँजस्ता रोगको समस्या कमी हुँदै गएको छ । पटकपटक आइरहने ज्वरो पनि टाढा हुँदै गयो । अब जन्डिसजस्ता घातक रोग गाउँ पसेको छैन । तीन दशकअघिसम्म सदरमुकाम चरिकोट नजिकैको पिछडिएको यो बस्तीमा पानी र फोहोरका कारण लाग्ने जन्डिसको उपचार विधि थिएन । गाउँका प्राय:लाई जन्डिस भन्ने थाहै थिएन । त्यतिखेर पहेंले रोग भनिन्थ्यो । 'जीउ पहेंलो हुँदै जान्थ्यो, श्रीमान् पनि त्यति नै गल्दै हुनुहुन्थ्यो,' डल्लीले सम्झिन्, 'त्यस बेला गाउँमा रोग जँचाउने ठाउँ थिएन ।'

गाविसका पूर्वअध्यक्ष गोपाल अधिकारीका अनुसार अलिअघिसम्म जन्डिसले गाउँका धेरैको ज्यान लिएको थियो । झाडापखालाले कैयौं केटाकेटी र ठूलाको पनि ज्यान लियो । टाइफाइडका कारण पनि केहीले जीवन गुमाए । केही वर्षअघिसम्म झाडापखालाले पनि त्यत्तिकै सताउँथ्यो । पेट दुखिरहन्थ्यो । अपचको समस्या आइरहन्थ्यो । सबै घरमा चर्पी बनेपछि यस्तो समस्या कम भएको हो । फोहोरी व्यवहार र दूषित पानीका कारण हुने रोगले पछिल्लो समय ज्यानै भने जान छाडेको पूर्वअध्यक्ष अधिकारी बताउँछन् । उनका अनुसार गाविस, रेडक्रस र अन्य गैरसकारी संस्थाको पहलमा गाउँ जनचेतनाको उज्यालोमा लम्किरहेको छ । सुस्पाक्षमावती स्वास्थ्य संस्थाका अनुसार सन् २०१२ पछि क्रमिक रूपले पानीजन्य रोगका समस्या घट्दै गएको अभिलेखले देखाएको छ । अहेब गोपाल शिवाकोटीका अनुसार पानी र फोहोरजन्य रोगका बिरामी घटेका छन् ।

डल्लीले जीवनका धेरै वर्ष खुला ठाउँमा दिसा गरेर बिताएको सुनाउन लाज मानिनन् । यसो गर्नु खराब रहेछ भन्ने अहिले मात्रै थाहा भएको उनी बताउँछिन् । केही वर्षअघिसम्म यो गाउँका बाटाभरि दिसा देखिन्थ्यो । आँगनका डिल बच्चाको चर्पीजस्तै हुन्थ्यो । घरआँगनमा मानिसले गरेको फोहोरको डंगुर हुन्थ्यो । ६१ वर्ष लागेकी उनले तीन वर्षअघिदेखि रेडक्रसले गरेको अभियानपछि मात्र सरसफाइको महत्त्वबारे बुझिन् ।

नजिकै पिउने पानी नभएकाले गाग्रो बोकेर खोला पुग्नुपथ्र्यो । केही पछि धाराको पानी लिन पनि निकैबेर हिँड्नुपर्‍यो । अहिले घर नजिकै धारा आएकाले उनीहरूलाई सास्तीका दिन सकिएको भान हुन्छ । गाविसका सबै घरनजिकै २४ सै घण्टा धाराबाट पानी आइरहन्छ । रेडक्रसले गाउँमा पिउने पानीको स्रोत व्यवस्थित गरिदिएपछि निकै सुख भएको डल्लीले सुनाइन् । रेडक्रस जिल्ला अध्यक्ष टीकानारायण प्रधानका अनुसार कोरियन रेडक्रसको सहयोगमा सुस्पामा ४ सय ९३ घरधुरीका ३ हजार ६ सय ५८ को बीचको कार्यक्रम निकै आसलाग्दो नतिजा देखाएको छ ।