चर्पी बनाउन बिन्ती गर्दै सिडिओ गाउँमा

सिन्धुपाल्चोक–'तपाईँले अहिलेसम्म किन चर्पी नबनाएको? हेर्नुस् आफ्नो दिसा आफैँ खानु राम्रो होइन। बिलम्ब नगरी आफ्नै र समाजको स्वास्थ्यका लागि चर्पी बनाइ हाल्नुस्। सरसफाइ सभ्यताको प्रतिक हो भन्ने तथ्य नभुल्नुस्।'

झट्ट सुन्दा सामाजिक अभियन्ताको जस्तो लाग्ने यो बिन्ति सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद ज्ञवालीको हो। सिन्धुपाल्चोकले वैशाखभित्र खुला दिसामूक्त जिल्ला घोषणा गर्ने अठोट लिईरहँदा उनी सम्वद्ध कार्यालयका प्रमुख लिएर शौचालय बनाउन उर्दी लगाउँदै पूर्वी क्षेत्र सीमा नाका तातोपानीसम्म पुगे। खास गरी शौचालयको ढल सिधै नदीमा मिसाइएका अरनिको राजमार्गमा जोडिएर बनेका सुनकोसी र भोटेकोसी किनारका बस्तीजिल्लालाई खुला दिसामूक्त घोषणा गर्न बाधक बनेपछि उनी आफैँ गाउँ निक्लिएका हुन्।

प्रजिअ ज्ञवालीसहितको टोलीले पछिल्ला दुई दिन शौचालय बनाउन बिन्ती गर्दै नदी किनारका बलेफी, खाडीचौर, तातोपानी लगायतका गाउँमा बितायो। कतै आग्रह त कतै चेतावनी दिँदै प्रजिअ टोली तिब्बती सीमा गाउँसम्म पुग्यो। 'ढल नदीमा मिसाए पनि, हामीले खुल्लै ठाउँमा दिसा गरेपनि हाम्रै खुशी, तपाईँहरुलाई के को मतलब!' धेरै स्थानीयको टोलीलाई जवाफ थियो। टोलीको आग्रहपछि नाजवाफ स्थानीयको भनाइ थियो, 'चर्पी बनाइ दिउँला।' भनाइको तात्पर्य आफूलाई नभएर टोलीका लागि शौचालय बनाइदिने भन्ने थियो।

प्रजिअ टोलीले धन हुनेले शौचालय र सेफ्टी ट्यांकी बनाउन मन नलगाएको, मन हुनेले गरिबीका कारण नसकेको पायो। कतिपयले ठाउँ अभावमा सेफ्टी ट्यांकी बनाउन नसक्दा सिधै नदीमा शौचालय मिसाएको सुनाए भने विपन्न परिवारले सहयोगको याचना गरे। सरकारी टोलीले शौचालय र ढल नदीमा मिसाएका परिवारलाई साताभित्र सेफ्टी ट्यांकी बनाउन निर्देशन दिएको छ। 'जिल्लालाई खुला दिसामूक्त बनाउने अभियानमा ढल व्यवस्थापन प्रमुख चुनौतिको रुपमा देखिएको छ,' प्रजिअ ज्ञवालीले भने।

दुरदराजका गाउँ खुला दिसामूक्त घोषणा भइसक्दा सुगम र बजार क्षेत्र मानिने चीन जोड्ने राजमार्गमा रहेकै गाविस भने हुन सकेका छैनन्। राजमार्गका साँगाचोक, फुल्पिङडाँडा, मांखा, राम्चे, बाह्रविसे, गाती, मार्मिङ, तातोपानी गाविसका बजार क्षेत्रको शौचालय ढल नदीमा मिसाइएको छ। ढल नदीमा मिसाउनेमा सर्वसाधरण मात्र होइन सरकारी कार्यालयसमेत छन्। यो क्षेत्रका झण्डै ६ सय घरको शोचालय ढल नदीमा मिसाइएको थियो। अभियानपछि ३ सय घरले सेफ्टी ट्यांकी बनाए पनि अझै ३ सय परिवारले नदीमै मिसाइरहेको जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका प्रमुख इन्जिनियर अरुणकुमार सिमखडाले जनाए।

'अब ढिला नगर्न भनेका छौं। गरे कानुनी कार्वाही हुन्छ भनेर सम्झाएका छौं,' खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिका सदस्य सचिवसमेत रहेका उनले भने। अभियान अन्तिम बिन्दुमा पुगेपछि प्रजिअ ज्ञवाली टोली स्वच्छता समितिका अध्यक्ष स्थानीय विकास अधिकारी युवराज कटेल, सदस्य सचिव सिमखडा, दातृ निकाय तथा साझेदारी संस्थाका प्रतिनिधि सम्मिलित संयन्त्र बनाए गाउँ गएको हो।

स्थाविअ कटेलले वैशाखभित्र सिन्धुपाल्चोकलाई खुला दिसामूक्त जिल्ला घोषणा गर्ने तयारी भइरहेको बताए। वैशाख भित्र घोषणा गर्न सके सिन्धुपाल्चोक २५ औं खुला दिसामूक्त जिल्ला बन्नेछ। सिन्धुपाल्चोकलाई खुला दिशामूक्त जिल्ला बनाउने सरकारी अभियान सुरु भएपछि तीन वर्षमा झण्डै साढे ३६ हजार नयाँ शौचालय थपिएका छन्। साढे ६६ हजार घर संख्या रहेको जिल्लाका ५३ गाविस खुला दिसामूक्त घोषित भइसकेका छन्। आठ गाविसका सबै घरधुरीमा शौचालय बनेपनि घोषणा हुन बाँकी छ। नदी क्षेत्रका बस्तिसमेत चौतारा र मेलम्ची नगरपालिकासहित ७ गाविस समस्याका रुपमा देखा परेका छन्।

अभियान थालिएदेखि अहिलेसम्म शौचालय निर्माणमा गाउँलेले ३६ करोड रुपैयाँभन्दा बढी लगानी भएको साझेदार संस्था सेवक नेपालका राजेन्द्र शर्माले बताए। उनका अनुसार युएन ह्याविट्याटको प्रमुख सहयोगमा सञ्चालित कार्यक्रममा दातृ निकाय र नेपाल सरकारको गरी हालसम्म साढे ८ करोड रुपैयाँ लगानी भएको छ। खानेपानी तथा सरसफाई कार्यालयका अनुसार अभियान थालेपछि जिल्लाका करिव ९९ प्रतिशत घरपरिवारमा सरसफाइ पहूँच कायम भएको छ। अभियान सञ्चालन हुनुअघि ३४ प्रतिशत परिवारमा मात्र सरसफाइ पहूँच थियो। अझै ३ सय नयाँ शौचालय र ढल मिसाइएका बस्तिमा ३ सय सेफ्िट ट्यांकी बन्न बाँकी छ।

Go to top