वाग्मतीको समस्या ढलमा होइन

वैशाख ५ - २०७१ सालको अन्तिम शनिबार वाग्मती सरसफाइ अभियानको सय साता पूरा भएको उपलक्ष्यमा सुन्दरीजलदेखि चोभारसम्म वाग्मती नदीको दुवै किनारमा मानव साङ्लो बनाएर 'अबदेखि वाग्मती नदी बचाउन आआफ्नो क्षेत्रबाट काम गर्ने र फोहोर नगर्ने' सवा लाख काठमाडौंवासीले कसम खाए ।

सरकारका मुख्य सचिव लीलामणि पौडेलको नेतृत्वमा भएको सरसफाइ अभियानबारे सामान्य मानिसदेखि देशको नीतिनिर्माणमा पुगेका मानिसहरूले समेत समर्थन र विरोधमा आआफ्ना भनाइ राखेका छन् । केही नाम चलेका मानिसले अरूले पढ्ने/सुन्ने गरी लेखेका/बोलेका छन् । शनिबारकै दिन पनि वाग्मती किनारमा मानिसहरू कोही बाध्यताले, कोही के पो हुँदो रहेछ भन्ने उत्सुकताले र कोही साँच्चै जिम्मेवारीबोधका कारण भेला भएका थिए । किनारमा उभिएर कसम खानुअघि मानिसहरूको भीडमा 'प्लास्टिकका टुक्रा टिप्दैमा वाग्मती कसरी सफा होला र ?' भनिरहेको पनि सुनियो ।


सबैलाई थाहा भएको कुरा- नदी संरक्षण गर्ने हो भने ढल व्यवस्थापनको काम मुख्य हो । वाग्मती सरसफाइबारे सामाजिक सन्जाल प्रयोगकर्ता, जो प्राय: वाग्मती सरसफाइ अभियानमा गएनन्, उनीहरूको तर्क 'जबसम्म कुनै नदी-खोलामा मानव मलमूत्र मिसिन्छ, तबसम्म सफा हुन सक्दैन' भन्ने छ । यो तर्कलाई तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाका राजनीतिक सल्लाहकार कृष्ण खनाल र तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस सल्लाहकार अच्युत वाग्लेले केही महिनाको अन्तरालमा लेखेका फरकफरक लेखले झन बल पुर्‍याउँछ ।

त्यसो त काठमाडौंवासीले घरबाट निस्केको मलमूत्र सेफ्टीट्यांकी निर्माण गरेरै व्यवस्थापन गर्नुपर्छ भन्ने कुरा पनि सुनिन्छ । सेफ्टीट्यांकीको प्रयोग काठमाडौंजस्तो उच्च जनघनत्व भएको सहरमा उति उपयुक्त नहुने बताइन्छ । चारआना जग्गाभित्र पानीको ट्यांकी, इनार, सेफ्टीट्यांकी हुनु स्वास्थ्यका हिसाबले पनि उपयुक्त हुँदैन । सेफ्टीट्यांकीको प्रयोगलाई अगाडि बढाउने हो भने सहरी आवास क्षेत्रको भूमि वितरणबारे नयाँ तरिकाले योजना बनाउनुपर्ने हुन्छ, जुन काठमाडौंजस्ता सहरको लागि अझै दशकौंसम्म उपयुक्त हुँदैन ।

काठमाडौंवासीको मलमूत्रको कसरी व्यवस्थापन गर्ने त ? यसबारे वाग्मती सरसफाइ अभियानका अभियन्ता मुख्य सचिव लीलामणि पौडेलले पनि खासै कुरा गरेको पाइँदैन । सफाइका बेला नदीको दुवै किनारमा ढल निर्माण भइरहेको जानकारी दिनेभन्दा बढी कुरा उनले गर्ने गरेका छैनन् । मुख्यसचिव वा प्रभावशाली (प्रधानमन्त्रीको सल्लाहकार हुने हैसियतका) विश्लेषकहरूले कतै उल्लेख नगरे पनि काठमाडौंका नदी-खोलामा मिसाइएको ढलको क्षेत्रमा कुनै कामै नभएको भने होइन ।

'केयूकेएल' अन्तर्गत रहेको योजना कार्यान्वयन निर्देशनालयले काठमाडौंको ढललाई उपचार गरेर सफा पानीका रूपमा नदीमा खसाउने गरी ढल प्रशोधन केन्द्र (टि्रटमेन्ट प्लान्ट) निर्माणको काम गर्दै छ । योजना कार्यान्वयन निर्देशनालयका प्रमुख तेजराज भट्टका अनुसार काठमाडौंमा अहिले एउटा मात्रै टि्रटमेन्ट प्लान्ट गुह्येश्वरीमा सञ्चालनमा छ । त्यसबाहेक काठमाडौंका अन्य चार स्थान, भक्तपुरको सल्लाघारी, काठमाडौंको गोकर्ण, ललितपुरको धोबीघाट र ललितपुरको कोडुमा रहेका पोखरीहरू अहिले कुनै काम गर्ने अवस्थामा छैनन् । यी चारवटै स्थानमा पहिल्यै अधिग्रहण गरेको निर्देशनालयले टि्रटमेन्ट प्लान्ट निर्माण गर्दै छ भने गुहेश्वरीमा रहेको टि्रटमेन्ट प्लान्टको क्षमता अभिवृद्धि गर्ने काम हुँदै छ । ती टि्रटमेन्ट प्लान्टले सन् २०१८ बाट काम गर्ने निर्देशनालयको अनुमान रहेछ । 

ठूलो आकारका पाँचवटा टि्रटमेन्ट प्लान्ट बनेपछि पनि रुद्रमती, टुकुचा, विष्णुमती, बल्खुलगायतका खोलाहरूले आउँदा वर्षहरूमा अहिलेभन्दा बढी दुर्गन्ध छर्दै बग्नेमा कसैको दुईमत हुन सक्दैन । यी वाग्मतीका शाखा नदीहरूका लागि योजना कार्यान्वयन निर्देशनालयले १५ वटा स्थानमा अध्ययन गरिरहेको जानकारी पनि दिएको छ । यसको निर्माण कहिले हुने भन्नेबारे यकिन मिति बताउन नसके पनि काठमाडौंमा केही वर्षमै सफा पानी बगाउने योजनाचाहिं बनाइएको रहेछ । 

काठमाडौंका नदीनाला फोहोर हुनुमा मुख्यत: दुइटा कुरा जिम्मेवार छन् । पहिलो हो, घर, कार्यालय, कारखानाबाट निस्कने ढल सिधै नदीमा मिसाउने प्रवृत्ति । दोस्रो, ती स्थानबाट निस्कने फोहोर प्लास्टिकमा पोको पारेर खोलाछेउछाउ फाल्ने । यी दुई कारणले दुई प्रकारका समस्या बढाएका छन् । प्लास्टिकका झोला वा बोरामा फोहोर पोको पारेर सार्वजनिक स्थल -बाटो, नदीनाला, चौर आदि) मा फाल्ने समस्या हाम्रो समाजको डरलाग्दो समस्या हो । झट्ट हेर्दा फोहोरको यो समस्या अल्पकालीन हो, जसलाई केही महिनामा विभिन्न तरिकाद्वारा व्यवस्थापन गर्न सकिने धेरै मानिसको बुझाइ छ । तर यो गलत बुझाइ हो ।

फोहोरमैला व्यवस्थापन केन्द्र, जसका कर्मचारीहरूले कुहिने फोहोरबाट कम्पोस्ट मल बनाउन र फोहोरमैलाबाट ग्यास निकालेर घर, कार्यालय, कारखानाबाट निस्केको कुहिने फोहोरको सदुपयोग गर्न सिकाउने काम गर्छन्, उनीहरूको भनाइ छ- आम मानिसको फोहोर नछुट्याउने बानीका कारण हाम्रो सहयोग प्रभावकारी बन्न सकेको छैन ।

काठमाडौंका खोलामा हरेक शनिबार हुने सरसफाइ कार्यक्रमले त्यहाँ फालिने फोहोर सफा र व्यवस्थापन गर्ने गरेको छ । यो एक अभियानकै रूपमा रहेका कारण आफूपछि आउने मुख्य सचिवले समेत त्यसको नेतृत्व गर्ने वर्तमान मुख्यसचिव तथा सरसफाइ अभियानका नेता लीलामणि पौडेलको विश्वास छ । पौडेलको भनाइमा 'सरसफाइ कार्यक्रमले अभियानकै रूप लिएको छ । अब स्थानीय बासिन्दा पनि स्वस्फुर्त रूपमा यसमा सहभागी हुन थालेका छन् । आउने मुख्यसचिवले पनि यसलाई निरन्तरता दिनुहोला ।'

काठमाडौंका धेरै मानिसहरूको सोचाइ नदीखोलामा मिसाइने ढललाई टि्रटमेन्ट प्लान्टमा उपचार गरेर खोलामा खसाउने वा सेफ्टीट्यांकी निर्माण गरेपछि समस्याको समाधान हुन्छ भन्ने छ । फोहोर जथाभावी फाल्ने नेपालीहरूको संस्कार नबदलेसम्म यो सोचाइको कुनै विश्वासिलो आधार देखिन्न । सरकारी तहबाट टि्रटमेन्ट प्लान्टको निर्माण र जनताको तहबाट फोहोर व्यवस्थापनको कार्य गर्ने हो भने काठमाडौंका नदीखोलामा सफा पानी बग्न सक्छ । जबसम्म जथाभावी फोहोर फाल्ने हाम्रो बानीमा परिवर्तन आउँदैन, तबसम्म सरकारले टि्रटमेन्ट प्लान्ट बनाइदिए पनि काठमाडौंका खोलामा सफा पानी बग्दैन ।

त्यसो त निर्माण, पुन:निर्माण र विकासलाई अगाडि बढाउन जागरुकता आवश्यक हुन्छ । वाग्मती किनारमा लगभग सवा लाख मानिसलाई भेला गराउनु नै पनि ठूलो कुरा हो । मानिसहरूको जागरुकताबाटै परिवर्तन सम्भव छ । ढलको समस्या मुख्य होइन, समस्या हाम्रो दैनिक चालचलनको हो । काठमाडौंका नदी-खोलामा बग्ने ढल ढिलोचाँडो प्रशोधन केन्द्रहरूको निर्माण र सञ्चालनपछि समाधान होला । प्लास्टिक वा बोरामा फोहोर पोको परेर सार्वजनिक स्थानमा फाल्ने हाम्रो बानीले ल्याएको समस्याचाहिं कहिले समाधान हुन्छ ? यसबारे पनि सोचौं न !