एक करोडको लागतमा खानेपानी आयोजना

दुर्गाप्रसाद शर्मा, पर्वत ; सदरमुकाम कुस्मासँगै रहेको पवित्र धार्मिक तथा ऐतिहासिक तीर्थस्थल मोदीवेणीमा करिब करोड रुपियाँको लागतमा खानेपानी आयोजनाको निमार्ण शुरू भएको छ। यससँगै गरी १ सय ८ गौमुखी धाराको पनि निमार्ण शुरू भएको छ।

मोदीवेणीमा आश्रय लिएका जेष्ठ नागरिक तथा तीर्थालुलाई खानेपानी उपलब्ध गराउन धारा निर्माण शुरू गरिएको हो। खानेपानी तथा सरसफाई डिभिजन कार्यालय र मोदीबेनी धार्मिक तथा पर्यटकीय संस्थाको साझेदारीमा आयोजना निर्माण शुरू हुने भएको हो। आयोजनाको कुल लागत ९९ लाखको हाराहारीमा सम्पन्न हुनेछ भने करिब ८० प्रतिशत लगानी जिल्ला खानेपानी कार्यालयले गर्ने भएको छ।

बाँकी करिब १९ लाख रकम जन श्रमदानबाट जुट्ने कार्यालयका इञ्जिनियर तीलकबहादुर खत्रीले जानकारी दिनुभयो। ‘चालू आर्थिक वर्ष र आगामी आर्थिक वर्ष गरेर खानेपानी आयोजना सम्पन्न गर्ने योजनामा छौं’ –उहाँले भन्नुभयो। उक्त आयोजना मल्याङ्दी खोला आसपासको स्रोतबाट मोदीवेणी तीर्थस्थलमा आइपुग्ने छ। यसका लागि विभिन्न १२ स्थानमा सार्वजनिक धारा जडान गरिने भएको छ । त्यसै गरी कालीगण्डकी नदीको पानीलाई ‘वाटर पम्प’को माध्यमबाट १ सय ८ गौमुखीधारा सञ्चालन गर्ने योजना अघि बढाइएको मोदीवेणी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष केशवदास बैरागीले जानकारी दिनुभयो। मोदीवेणी पर्वतका अधिकांश गाविससँगै छिमेकी बागलुङको दक्षिणी क्षेत्रका सर्वसाधारणहरूको मुख्य तीर्थस्थल हो।
खानेपानी आयोजनाको हालै पश्चिमाञ्चल खानेपानी तथा सरसफाइ क्षेत्रीय कार्यालय पोखराका प्रताप शर्मा पौडेलले शिलान्यास गर्नुभयो। कार्यक्रममा बोल्दै पौडेलले गौमुखी धारा निर्माणमा आफ्नो व्यक्तिगत सहयोगसमेत रहने प्रतिबद्धता व्यक्त गर्नुभयो। आश्रय स्थलमा स्थानीय खुमराज पराजुली र नेत्र पराजुलीले वाथरुम र कोठा बनाउन करिब ६ लाख रुपियाँ बराबरको भौतिक सामग्री हस्तान्तरण गर्नुभएको छ।