वर्षाको पानी वरदान हुने भयो उलेन्स स्कुललाई

ललितपुर जेठ २५ । खानेपानीको हाहाकारले आक्रान्त बनेको खुमलटार स्थित उलेन्स स्कुलले अन्तमा वर्षातको पानी संकलन गरेर त्यही पानी स्कुलका विद्यार्थीहरुलाई खुवाउने र अन्य काममा प्रयोग गर्ने वैज्ञानिक जुक्ति निकालेकाे छ ।
आज त्यस स्कुलमा कक्षा ५ देखि ८सम्मका करिब ३०० विद्यार्थीहरुलाई गुथि नामक गैरसरकारी संस्थाका स्वयम्सेवकहरुले पानीको अभावको बेलामा आकासबाट पर्ने पानीको संकलन गर्नु एक लाभदायी, स्वास्थ्यकर र पैसाको समेत बचत गर्ने प्रविधि हो भनेर सिकाउन गएका थिए ।

बालबालिकाले त यो कुरा सिके मात्र । तर हरेक हप्ता लगभग १८,००० रुपैंया बराबरको पानी ट्यांकरबाट किनेर आजित भैसकेका स्कुलका प्रिन्सिपल मेदिन लामिछानेले यो कुरालाई सिद्धान्तको रुपमा मात्र नसिकी व्यवहारमै प्रयोग गरेर आफ्ना १२,००० विद्यार्थीको लागि वर्षात्को पानी संकलन गर्ने योजना बनाए । “प्रकृतिको यो वरदानलाई हामी आफ्नै स्कुलमा किन प्रयोग नगरौं? हामी अब स्कुलको नयाँ भवनमा वर्षात्को पानी संकलन गर्ने भयौं,” उनी उत्साहित भएका छन् । अहिलेसम्म आकासबाट परेको पानी गाडी धुन आदिमा मात्र प्रयोग गरेका लामिछानेलाई त्यो पानी हामीले खानु हुन्छ र स्वस्थ्यकर पनि हुन्छ भन्ने थाहै थिएन ।

स्कुलमा वातावरण पढाउने शिक्षिका दीपा ओलीले भनिन् “वर्षाको पानी संकलन गर्ने एक सरल तरिका हो जसले काठमाडौंमा व्याप्त पानीको संकटलाई न्यून गर्न पनि सघाउँछ ।

गुथिका प्राविधिक सल्लाहकार प्रकाश अमात्यले स्कुलको पानी संकलन गर्ने निर्णयको स्वागत गरे र आवश्यक सहयोग गर्ने आश्वासन पनि दिए । उनका अनुसार अब स्कुलले महिनाको ७०,००० रुपैंया बचत गर्ने छ । साथै स्कुलमा यस्तो प्रविधिको प्रयोगले बालबालिकाहरुका सकारात्मक प्रभाव पार्नेछ र आफ्ना आफ्ना घरमा गएर पनि यस्तै प्रविधिको प्रयोग गरी घरघरको पानीको समस्या हल गर्न समेत सघाउने छ ।

काठमाडौं उपत्यकाका नेवारहरुले सिठीनखःका दिन परम्परागतरुपमा आफ्नो टोलको कुवा, धारा इनार इत्यादि सफागर्ने र आउँदो मनसुनमा सफा पानी संकलन गर्ने चाडलाई पानीको व्यवस्थापन गर्न सिकाउने दिवसको रुपमा गुथिले हरेक वर्ष पानी संकलनका तरीकाहरुको बारेमा जनचेतना फैलाउने गर्दछ ।