वर्षेनी सयौं मानिस हैजाका बिरामी हुन्छन् जहाँ, शुद्ध खानेपानी नपाएर

काठमाडौं, असोज ११ । एक्काइसौ शताब्दीमा, त्यो पनि नेपालकै सबैभन्दा सुविधासम्पन्न शहर राजधानीमा वर्षेनी सयौं मानिस हैजा जस्तो रोगका शिकार हुन्छन् भन्दा पनि कोही पत्याउँदैनन् । तर यहाँको यथार्थ यस्तै छ ।

यो वर्षमात्रै काठमाडौं उपत्यका र आसपासका क्षेत्रमा १४७जना हैजाका बिरामी फेला परेको सरकारी निकाय इपिडेमिओलेजी तथा रोग नियन्त्रण विभागले जनाएको छ । विभागका उपनिर्देशक गुणनिधि शर्माले आज एक गोष्ठीमा बताए — यो वर्ष ललितपुरमा ११० जना, काठमाडौंमा २५जना, भक्तपुरमा १ जना, धादिङमा १ जना, सप्तरीमा २ जना र ठाउँ स्पष्ट नभएको एक जना बिरामी भएको थाहा भएको छ । “यति धेरै सुविधा भएको ठाउँमा पनि यस्तो हैजा जस्तो रोगबाट मानिस बिरामी पर्नु भनेको निकै नै चिन्ताको विषय हो,” उनले भने, “हामी जे पनि अहिलेलाई काम चलाई हालौं भनेर योजना पनि बनाउँछौंं र कार्यान्वयन पनि त्यस्तै गर्छौं त्यसकारण यस्तो हुन गएको हो । सम्बन्धित सबै क्षेत्र त्यतिकै गंभीर भएर आआफ्नो जिम्मेवारी महशुस गरेर सहकार्य गरेको भए यस्तो हुन पाउँदैनथ्यो ।”

“समय धेरै परिवर्तन भइसकेको छ । पहिले पहिले हाम्रा सयौं वर्ष पुराना ढुंगेधाराहरुमा स्वच्छ पानी आउँथ्यो । अब पानी त सफै देखिन्छ तर त्यसका विभिन्न किसिमबाट प्रदुषण भइसकेको हुन्छ । तर पनि हामी स्थानीयबासी त्यो पानी पहिले जतिकै सफा भनेर पिउँछौं,” उनले थपे । काठमाडौं उपत्यका खानेपानी लिमिटेडका पानी गुणस्तर शाखाका प्रमुख ज्ञानेन्द्र बहादुर कार्कीले काठमाडौं उपत्यकामा हाल पाइपबाट, बोटलबाट, ट्यांकरबाट र ट्युबवेल एवं इनार र ढुंगेधाराबाट पानीको आपुर्ति भइरहेकोमा विभिन्न श्रोतको पानी विभिन्न किसिमबाट प्रदुषित हुने संभावना भएकोले यसैका कारण यहाँ हैजाका बिरामी देखापरेको बताए । आवश्यकता र संभाव्यता हेरी सबै ठाउँमा पानी प्रशोधनका यथासंभव कार्य भइरहेको बताउँदै काठमाडौंमा पानीको आपूर्ति मागको दाँजोमा निकै कम भएकोले र पानीहो हाहाकार भएकोले जस्तो पानी पनि खाइदिउँ भन्ने भएको वा बाध्य नै भएर पनि राम्रौ पानीको खोज ीगर्न नसकिएको बताए ।

“अब यस्तो काठमाडौंमा ४० लाख जनता यसरी भद्रागोल तरिकाले बसिरहेका छन् कि थाहा भएर पनि स्वच्छ पानी र आधारभूत सरसफाइका लागि केह ीगर्न सक्ने अवस्था छैन । होस् भनेको त होइन तर कहिलेकाहीँ अचम्म पनि लाग्छ जुन जीवनशैली काठमाडौंका बासिन्दाले पाइरहेका छन् त्यसमा बर्षको १४७जना मात्र हैजाका बिरामी कसरी भए । यो त सयौं हजारौंमा हुनुपर्छ । आजैदेखि सबैले सजगता नअपनाए अर्को वर्षको स्थिति झन् भयावह हुनजानेछ ।” उनले पानी सप्लायर्सहरुले शुद्ध पानी वितरण गर्नुपर्ने, उपभोक्ताले सफा गरेर मात्र पानी खानुपर्ने, सरकारले वितरण भएको पानीको गुणस्तर जाँच गर्नुपर्ने र व्यापक जनचेतना फैलाउनु पर्ने सुझाव दिएका छन् । निजी पानी वितरकहरुको संस्था नेपाल बोटल एण्ड जार एसोसिएसनका सुभाष भण्डारीले काठमाडौंमा पानी वितरण गर्ने कम्पनीहरु मध्ये २० प्रतिशतले खराब पानी नै वितरण गरेको भएपनि बाँधी ८० प्रतिशतले गुणस्तरयुक्त पानी दिँदैआएको दाबी गर्दै सरकारले मात्र पानीको आपूर्ति गर्न नसकेको अवस्थामा निजीले पनि पानी वितरण नगरेको भए यहाँका जनताले पानी पनि देख्न नपाउने अस्वस्थाको स्मरण गराए ।

वातावरण तथा जनस्वास्थ संस्था एन्फोका कार्यकारी निर्देशक विपिन डंगोलले काठमाडौंमा खानेपानीको गुणस्तर जाँच्ने तथा सरकारी निकाय लगायत आम जनमानसमा सफा खानेपानीको महत्वबारे जनचेताना जगाउनुका साथै ठाउँठाउँमै गएर पानीको गुण्स्तर जाँच्ने लगायतका काम गरिरहेको बताए । उक्त कार्यक्रम वाटरएडको सहायतामा गुुथि तथा सोफेनले आयोजना गरेको थियो ।

 

Go to top