शौचालय भ्रमण !

डा. नवराज खतिवडा ।

धुलिखेल केन्द्रीय क्याम्पसमा दुई घण्टाको कक्षा सकेर भर्खर बाहिर निस्केको थिएँ । मोवाइल फोनको घण्टी बज्यो । यसो हेरेँ । ल्याण्डलाइनको कुनै अपरिचित नम्बर थियो । कुनै कार्यालयको होला भन्ने अड्कल काटेँ ।

‘सर नमस्ते ! म हिमालय टाइम्सबाट पार्वती थापा मगर बोल्दैछु ।’

शिष्टाचारयुक्त प्रष्ट बोली र परिचितजस्तै गरी व्यक्त अभिवादन कानमा प¥यो तर पार्वतीसँग यसअघि भेट भएको वा कुराकानी भएको सम्झना भएन ।
‘म के सेवा गर्न सक्छु त पिटिएमजीलाई ।’
उनको नाम र थरका पहिला तीनवटा अङ्ग्रेजी अक्षर टिपेर सम्बोधन गर्दै भनेँ । उनको हाँसो प्रष्ट सुनियो । मेरो प्रत्युत्पन्न शैली उनलाई रोचक लागेछ क्यारे !
भोलिपल्ट शनिबार ‘विश्व शौचालय दिवस (१९ नोवेम्बर)’ थियो । यो मौकामा उनी काम गर्ने पत्रिकाले एक परिशिष्टाङ्क प्रकाशित गर्ने निधो गरेको रहेछ । त्यसका लागि सामग्री बटुल्न मेरो अन्तर्वार्ता लिन खोजेकी रहिनछन् ।

मैले दिँउसो तीनबजे पुल्चोक पुग्नु थियो । यसर्थ हामीले दुईबजे कोटेश्वरमा भेट्ने कुरा मिलायौँ । कोटेश्वरको सार्वजनिक शौचालयको संयुक्त निरीक्षण गर्ने योजना पनि बन्यो । उनलाई मोवाइलबाट मिसकल गर्न लगाएँ र नम्बर नोट गरेँ ।

कोटेश्वरमा ओर्लिएर सार्वजनिक शौचालय र ट्राफिक प्रहरी कार्यालयको बीचमा पर्खने ठाउँको खोजीमा लागेँ । एउटा चमेना गृहले राखेका खाली स्टूलहरू देखिए । घाम परेको एउटा रोजेर बसेँ । दुई बजिसकेको थियो । पार्वतीलाई फोन गरेँ ।
‘हेलो पिटिएम जी ! हजुर कता पुग्नुभो ?’
‘म तीनकुने आइपुगेँ सर ! हजुर कहाँ पुग्नुभयो ?’
‘म त कोटेश्वर पुगिसकेँ ।’
‘हजुर कहाँनिर हुनुहुन्छ ? मैले कसरी चिन्ने होला !’
पहिलो वाक्यमा कौतुहलताको अंश अधिक थियो । दोस्रोमा विनोदी भावको ।
‘ट्राफिक प्रहरी कार्यालय र शौचालयको बीच भागमा छु । त्यहाँ स्टूलमा बसेर बदाम खाइरहेको राजकुमारजस्तो सुन्दर युवक नै तपाईंले खोजेको व्यक्ति हुनेछ ।’
मेरो जवाफ सुनेर पिटिएम फेरि खित्का छोडेर हाँसिन् । मैले नजिकै पसल थापेकी आमैसँग बदाम किनेँ । पारिलो घामको सितनसँग बदाम खान थालेँ ।

एकैछिनमा मुस्कान छर्दै पिटिएम आइपुगिन् । हट्टाकट्टा र गठिलो शरीर । खाँट्टी मङ्गोलिन अनुहार । आँखामा चश्मा । जिन्स पाइन्ट र ज्याकेटको पहिरन । कानमा सुन्ने ठेडी कोचेकी । मोवाइल फोन खल्तीमा राखेर उनी सुन्ने तारमा जडित माइक्रोफोनबाट मसँग कुरा गर्दै थिइन् भन्ने अनुमान गर्न बेर लागेन ।
‘कस्तो रमाइलो हुनहुँदो रहेछ सर त ।’
एक अर्काले खोजेका व्यक्ति हामी नै हौँ भन्ने ठोकुवा भएपछि उनको पहिलो प्रतिक्रियामा नै प्रशंसाका फूल फुलेका थिए ।
‘यो त कास्टिङ्मात्रै हो । चलचित्र त पूरै बाँकी छ ।’
घाँटीसम्म आइपुगेको यस्तो जवाफ मैले भित्रै दबाएँ । आखिर बोलीको पनि त साइत हुन्छ । बाहिरचाहिँ मुस्कुराएँ ।
हामी दुवै हलुका स्नायुमा एकसुरले कुरा गर्दै शौचालयको साझा कक्षमा पुग्यौँ ।
‘सर ! हजुर उता अनि म्याडम हजुर चँै यता ।’
हामी दुवै ‘शौच गर्न आएका अनि अलमलमा परेका’ जस्तो भान भएछ त्यहाँका शौचालय हेरालुलाई । त्यसैले उनले हामीलाई सतर्क गराउँदै महिला र षुरुष कक्ष देखाए ।
मेरो मन आत्तियो ।
काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर हुने पो छाँट आयो । मैले हाम्रो भ्रमणको विवरण दिन ढिलो गर्नु नहुने ठानेँ ।
‘वहाँ पत्रकार अनि म इन्जिनियर । भोलि विश्व शौचालय दिवस मनाइँदैछ । यस विषयमा वहाँको पत्रिकाले एक परिशिष्टाङ्क निकाल्दै छ । काठमाडौँमा भएमध्येको राम्रो शौचालय तपाईंहरूकै हो भन्ने सुनेकाले आएका हौँ । हामी दुवैजना पुरुष र महिला दुवै कक्षको निरीक्षण गर्न चाहन्छाँै ।’
व्यवस्थापन पक्षले हाम्रो इच्छा पचास प्रतिशतमात्र पूरा गर्ने उपाय सुझायो ।
‘महिलातिर म्याडमले हेर्नू । पुरुषतिर हजुरले हेर्नू, हुँदैन र ! कोही आइहाल्यो भने हामीलाई अप्ठ्यारो हुन्छ ।’

‘एकै छिन त हो । हजुरहरूले यहाँ पहरा दिए कसो होला ? कोही आइहाल्यो भने एकछिन पर्खन अनुरोध गर्नू ।’ मैले अर्को उपाय सुझाएँ ।
वास्तवमा सामान्य अवस्थामा महिला शौचालयमा पुरुष प्रवेश वा पुरुष शौचालयमा महिला प्रवेश अनौठो नै हुँदो हो । म पनि आक्कल झुक्कल यस्तो दुर्घटनामा परेको छु । विश्वविद्यालय लगायतका अन्य सार्वजनिक निकायहरूमा शौचालयमा सरसफाइका लागि पनि पुरुष कक्षमा लोग्नेमान्छे र महिला कक्षमा स्वास्नीमान्छे खटाइएको पाइन्छ । थाइल्याण्डमा भने पुरुष कक्षमा पनि निर्धक्क स्वास्नीमान्छेहरूले सरसफाइ गरेको देखेको थिएँ । त्यसो गर्दा शौच गर्ने कतिपय पुरुषहरूलाई भने उल्टो लाज भएको भन्ने सुनेको थिएँ ।

‘हुन्छ नि त तर चाँडै गर्नुहोला ।’ हामीले अनुमति पायौँ ।
ओलम्पिक खेलकुदमा सिटी फुक्नासाथ खेलाडी दौडेजस्तो पत्रकार र इन्जिनियरको जोडी महिला शौचकक्षमा प्रवेश ग¥यो । ढोकाको व्यवस्था गरिएका ससाना छवटा खण्ड देखिए । खुट्टा टेकेर बस्न मिल्ने प्यान, पानीका धारा र पानी थाप्ने मग देखिए ।
‘फ्लस गर्ने ट्याङ्की चैँ भाँचे ।’ सञ्चालक मित्रको आजाव सुनियो । उनी हाम्रा पछि उभिएका रहेछन् ।
‘बाहिर पहरा दिन भनेको होइन ! हजुर त भित्रै आउनुभएछ त फेरि ।’ म अलिकति रमाइलो सिर्जना गर्ने धेयले बोलेँ ।

‘यस्तो विशेष परिस्थितिमा त भित्र पनि पहरा दिनुप¥यो नि ! बाहिर साथीलाई अराएको छु ।’ उनले पनि वार्तालापमा बेजोडको रङ थपे ।
मैले पार्वतीको अनुहार हेरेँ । उनले मेरो अनुहार हेरिन् । हामी मुखामुख भयौँ एकैचोटि खित्का छोडेर हाँस्यौ । हाम्रो हाँसोसँग सञ्चालक महोदयको मुस्कान मिसियो ।
‘हजुरहरू हाँसेको के बुझेर हो, मैले बुझिनँ तर मैले भित्र पनि पहरा दिनुपर्छ भन्नुको कारण हजुरले यहाँ महिला कक्षमा शौच गर्नु होला कि भनेर हो । कोही कोही केटा मान्छे त कस्तो न होला भनेर हौसिन बेर छैन नि त !’ उनले शौचालयको भित्री भागमा पनि पहरा दिनुको कारण प्रष्ट्याए । ‘हजुरले’ भन्दा मतिर पुलुक्क हेरे । उनको तर्कमा दम थियो ।

‘हो त नि, महिला शौचालयमा पुरुष प्रवेश भन्ने त समाचारको मूल शीर्षक नै बन्न सक्छ नि ! होइन त पत्रकार महोदय ?’ मैले पार्वतीलाई सम्बोधन गर्दै कुरो किनारा लगाएँ ।
भित्तामा शौचालय प्रयोग र स्नानमा लाग्ने शुल्क लेखिएको थियो । ‘दिसा गरेको दश रुपैयाँ, पिसाब गरेको पाँच रुपैयाँ ।’ शुल्क सूचिमा महिला र पुरुषको विभेद थिएन ।
मैले समस्याको एउटा चुरो कुरो बुझेँ । पुरुष कक्षमा दिसा र पिसाब गर्ने छुट्टाछुट्टै सुविधा थियो तर महिलातिर थिएन ।
‘महिलालाई दिसा गरेको कति रुपैयाँ शुल्क लिने गर्नुभएको छ नि ?’
मैले सञ्चालक मित्रको ध्यानाकर्षण गराएँ ।
‘समस्या नै यही हो सर । लामो छोटो के गरिस् भनेर सोध्न मिल्दैन । पुरुषको जस्तो छुट्टै व्यवस्था भएको भए जता जान्छ त्यसको हिसाबमा शुल्क लिन हुन्थ्यो । महिलाको त जे गरे पनि पाँच रुपैयाँ लिन्छौँ ।’

‘यसको मतलब सार्वजनिक शौचालयमा महिलाले दिसा गर्दैनन् । राजस्व सङ्कलनको आकडाले त्यही देखाउने भो, होइन त ?’ पार्वती त आखिर पत्रकार न परिन् । यस्तो रोचक निचोड निकालिन् ।
हामी महिला कक्षपछि पुरुषको पिसाब फेर्ने कक्षमा पस्यौँ । उभिएर पिसाब फेर्न मिल्ने युरिनलहरूको व्यवस्था रहेछ । कतिपय शौचालयहरूमा ससाना नानीहरूका लागि होचा युरिनलहरूको व्यवस्था गरिएको हुन्छ । विकसित देशका सार्वजनिक शौचालयमा भने फरक क्षमताका प्रयोगकर्ताका लागि पनि छुट्टै व्यवस्था हुन्छ । नेपालमै पनि भृकुटीमण्डपमा भएको एक शौचालयमा सीमान्तकृत वर्गका लागि मैले एउटा यस्तो शौचकक्ष देखेको स्मरण भयो । सामान्य लागे पनि प्राविधिकहरूले शौचालय बनाउँदा विचार गर्नुपर्ने यस्ता महत्वपूर्ण विषयहरू छन् ।

हामी यिनै विषयहरूको टिपोट गर्दै थियौँ । मैले फेरि रमाइलो उमार्ने जमर्को गरेँ ।
‘यहाँ त वहाँ महिला पत्रकार महोदयले शौच गर्ने सम्भावना शुन्य छ नि त ! फेरि किन पहरा दिइरहनु भएको छ ?’ मैले आँखा झिम्क्याउँदै सञ्चालक मित्रलाई सोधेँ ।
‘के ठेगान, मौका पाए महिलाले पनि उभिएरै … !’ अनपेक्षित जवाफ दिएर मित्र हाँसे ।
‘सही हो । अहिले कतिपय मुलुकमा महिलाले पनि उभिएरै पिसाब फेर्ने सुविधा छ ।’ मैले केही दिनअघि दि इकोनोमिष्ट पत्रिकाको एउटा समाचार सम्झेँ ।
‘वाह ! इन्जिनियर सा’ब । क्या बात ! शौचालय प्रयोगमा पनि लैङ्गिक समानता ! अधिकारकर्मीहरूको लागि त यो हरियो घाँस नै भयो । अनि हाम्रा लागि पनि पहिलो पृष्ठमा नै छापिने समाचार बन्न सक्छ ।’ पत्रकारमित्रको रसिलो उद्गार प्रस्फुटन भयो ।

‘पार्वती जी, असमानताको खाडल पनि त हेर्नुहोस न ! महिलाका लागि छ वटा शौचकक्ष छन् । पुरुषका लागि भने त्यसको दुई गुणाभन्दा पनि बढी । अझ पुरुषलाई भने दिसा र पिसाबका लागि अलग सुविधा ।’
मैले हाम्रै आँखाअघि देखिएको यथार्थलाई प्रतिनिधि बनाउँदै अधिकांश सार्वजनिक शौचालयहरूमा भएको सङ्ख्यात्मक असमानता औँल्याएँ ।
अहिले सडकमा, सार्वजनिक स्थलमा र सेवाप्रदायक निकायहरूमा नारी उपस्थिति हृवात्तै बढेको छ । महिला चालक भएको कुनै सार्वजनिक सवारी साधनमा शतप्रतिशत यात्रु महिला भएको दृश्य अब अनौठो भएन । केही समयअघिसम्म काठमाडौं लगायत मुलुकका प्रमुख शहरहरूको भीडमा महिलाहरूको उपस्थिति न्युन हुन्थ्यो । उपस्थित भएका महिला पनि या त काखमा सानो बच्चा च्यापेर हिँडेका देखिन्थे या आफ्नो अभिभावक वा कोही दौँतरीका साथ हुन्थे । बिहान झिसमिसेमै या रात्रिको समयमा एक्लै हिँड्ने युवतीको सङ्ख्या त शून्य बराबर हुन्थ्यो । अहिले परिस्थिति फेरिएको छ । अर्थशास्त्रीहरू या नीति निर्माताहरूका लागि अर्थतन्त्रमा भएको उल्लेखनीय नारी सहभागिताको यो आयाम विभिन्न हिसाबले अर्थपूर्ण होला ।

वातावरण इन्जिनियर वा सेवा प्रदायक संस्थाहरूले अब बन्ने सार्वजनिक शौचालयमा पुरुष र महिला दुवै समूहका लागि आवश्यक शौचकक्षहरूको सङ्ख्याको पूर्वानुमान गरी व्यवस्था गर्न बान्छनीय देखिन्छ ।
अध्ययनले पुष्टि गरेअनुसार पुरुषलाई पिसाब गर्न सालाखाला आधा मिनट लाग्छ भने स्त्रीलाई एक मिनट । यो भने जैविक आवश्यकता हो । यसकारण उतिकै भीड हुने स्थानमा शौचालयको योजना बनाउँदा पुरुषभन्दा महिला शौचकक्षको सङ्ख्या दुई गुणाले बढी हुनु जरुरी हुन्छ । महिला शौचालयमा ढोका बन्द गर्ने सुविधा पनि हुनुपर्छ । ढोका नभएको वा बन्द नहुने शौचकक्षमा कतिपय प्रयोगकर्ताहरूलाई असाध्यै अप्ठेरो लाग्छ । बदलिदो परिवेशअनुसार खासगरी महिलाको पहिरनमा पनि परिवर्तन आएको छ । अहिले अधिकांश महिलाले पाइन्ट लगाउँछन् । सार्वजनिक शौचालयका अधिकांश प्रयोगकर्ताहरू सक्रिय उमेरका युवायुवती हुन्छन् । यसकारण सुविधा प्रयोग गर्दा पहिरनको पनि असर पर्छ । सेवा प्रदायक निकायहरूले विचार गर्नुपर्ने केही महत्वपूर्ण विषयहरू यिनै हुन् ।

‘अहो ! इन्जिनियर सा’ब ! सार्वजनिक शौचालयसँग जोडिएका समस्याहरू त बग्रेल्ती पो रहेछन् ।’ मेरो कुरा सुनेर पार्वतीले लामो सास फेरिन् ।
‘हो त नि । पुगेन त अब पत्रकार महोदयलाई भारी !’
‘आजलाई भारी पुग्यो । अब जानुपर्छ ।’
हामी हिँड्न तयार भयौँ । सञ्चालकले रमाइलो कुराको गरी बिट मारे ।

‘थप केही परे फेरि आए पनि हुन्छ म्याडम ! अर्कोपल्ट आउनुभयो भने पहरा बस्न नपर्ने गरी आउनु होला है !’
हामी हाम्रो काम र दिन सफल भएको अनुभूति गर्दै आआफ्नो बाटो लाग्यौँ ।