‘महिनावारी हुँदा पनि इँटा बोक्छु

भक्तपुरको जगातीस्थित एक इँटा भट्टामा काँचो इँटा बोकिरहेका महिला कामदार ।

तस्विर : हेमन्त श्रेष्ठ/कान्तिपुर

माघ १६, २०७३- ‘इँटा भट्टामै जन्मिएको, हुर्किएको, यसभन्दा बाहिरको त जीवन थाहै छैन,’ हात्तीवनको एक इँटा भट्टामा मजदुरी गर्ने विष्णु वाइबाले भनिन् । हजुरबुबाको पालादेखि परिवारले इँटा बोकेरै गुजारा गर्दै आएको उनले बताइन् । विष्णु अहिले १७ वर्षकी भइन् । ८ वर्षबाटै आफूले इँटा बोकेर परिवारलाई सघाउँदै आएको उनी बताउँछिन् । एउटा इँटाबाट सुरु गरेको उनको मजदुरी अहिले ३० वटासम्म बोक्ने भइसकिन् । 

‘कहिले इँटा बनाउने, कहिले बोक्ने, महिनावारी हुँदा पनि इँटा बोक्छु,’ उनले भनिन् । महिनावारीको पहिलो दिन उनलाई बेस्सरी तल्लो पेट दुख्छ । इँटा बोकेपछि एक सातासम्म शरीर कमजोर भएको महसुस हुने उनी बताउँछिन् । उनका आमाबुबाको पनि इँटै बोकेर दैनिकी चल्छ । बुढा र रोगी आमाबुबाले धेरै इँटा बोक्न नसक्ने भएकाले महिनावारी हुँदा पनि बोक्नुपर्ने बाध्यता भएको उनले बताइन् । सपरिवारले इँटा बोकेर सातामा ४ हजार रुपैयाँ आम्दानी गर्ने उनी बताउँछिन् । ‘महिनावारी हुँदा आराम गरेको, पोषिले खाएको कहिल्यै अनुभव भएन,’ उनी भन्छिन्, ‘यो बेला इँटा बोक्दा बेस्सरी रगत बग्छ, धेरै दिनसम्म बगिरहन्छ ।’

सिद्धिपुर इँटा भट्टामा मजदुरी गर्ने सानु विकको पनि अवस्था पनि उस्तै छ । उनका दम्पती नै यहीं मजदुरी गर्छन् । पतिको मिर्गौलामा समस्या आएपछि आफूलै नै बढी मिहिनेत गर्नुपरेको उनले बताइन् । ‘महिनावारी हुँदा, आलो सुत्केरी हुँदा, बिरामी हुँदा सधैं खटिएकी छु,’ उनले भनिन् । महिनावारीमा इँटा बोक्दा धेरै रगत जाने, महिनाभर सेतो पानी बगिरहने उनको अनुभव छ । ‘इँटा नबोकी त खानै पुग्दैन के गर्नु ?’ उनले पीडा सुनाइन् । उनले इँटा बोकेर मासिक १३ हजार रुपैयाँ कमाउँछिन् । ‘घरभाडा, बच्चाको स्कुल खर्च, पतिको औषधि, उपचार खर्च पुग/नपुग हुन्छ,’ उनले भनिन् । महिनावारीको समयमा पनि सामान्य दालभात खाएर इँटा बोक्ने हुँदा कमजोरी महसुस हुने उनको अनुभव छ ।

स्त्रीरोग विशेषज्ञ डा. विनयराज भण्डारीका अनुसार महिनावारी महिलाको विशेष अवस्था हो । यस्तो समयमा महिलाले गह्रौं काम गर्न नहुने उनले बताए । ‘महिनावारीका समयमा काम गर्दा महिलाको स्वास्थ्यमा धेरै असर पर्छ,’ उनले भने । यो समयमा जबरजस्ती भारी काम गर्दा, पोषणमा बेवास्ता गर्दा पछि पाठेघर खस्न सक्ने खतरा हुने डा. भण्डारीले बताए । यस्तो अवस्थामा सकभर आराम गरी, सरसफाइमा विशेष ध्यान दिनुपर्ने उनको सुझाव छ । ललितपुर इँटा भट्टा व्यवसायी संघका अध्यक्ष लीलाप्रसाद ढकालका अनुसार जिल्लामा ३० उद्योग सञ्चालनमा छन् । ती उद्योगमा काम गर्ने आधा मजदुर महिला हुने गरेको उनले बताए ।