‘घर बनाउन पानी छैन’

दक्षिणी रामेछापका बासिन्दा खानेपानीलाई नै गाग्रीको ५ देखि ७५ रुपैयाँसम्म तिर्न बाध्य छन्

माघ २७, २०७३- रामेछाप नगरपालिका–३ होदिलस्थित छाप टोलकी सुन्तली श्रेष्ठको घर शिलान्यास गरिएको दस महिना बित्यो तर अझै बनिसकेको छैन । बरु शिलान्यास गर्दा बनाइएको खाडलसमेत पुरियो । कारण एउटै छ– पानी अभाव । स्थानीयलाई खानेपानी जुटाउनै हम्मे छ, घर बनाउनु त परको कुरा । 

‘मर्न आँटेको कसैले तुरुक्क मुखमा पानी हालिदेऊ भन्यो भने पनि छैन भन्नुपर्ने अवस्था छ,’ श्रेष्ठ भन्छिन्, ‘अनि केको घर बनाउनु ? भुइँचालोमा भत्किएको घर बनाउन पैसा दिनेले पानी पनि व्यवस्था गरिदिए हुन्थ्यो ।’ छापगाउँमा पानी पाइँदैन । स्थानीय बासिन्दा होदिलको तल खोल्सामा पुगेर घाँटी भिजाउनकै लागि पालो पर्खन्छन् । अलि पर च्यास्कुमा एक गाग्री पानीको ५ देखि ७५ रुपैयाँमा किनबेच हुन्छ ।

पानी अभाव टार्न तामाकोसी सेवा समितिले दशकअघि होदिलका सबैजसो घरमा बर्खाको पानी संकलन गर्ने गरी सिमेन्टको टंकी बनाइदिए पनि ती अहिले कति फुटे त कतिपय रित्तै छन् । बर्खायामको पानी सद्दे रहेका थोरै ट्यांकीमा जम्मा हुन्छ । स्थानीयले त्यो पानी गाईबस्तुलाई खुवाउन, भाँडा माझ्न र लुगा धुन प्रयोग गर्छन् । वडा सचिव दिलीप बराइलीका अनुसार स्थानीयले घडेरी खारेर ठिक्क पारे पनि पानी अभावमा घर बनाउन सकेका छैनन् । उनीहरू कटेरामै कष्टपूर्वक बसिरहेका छन् । 

भूकम्प गएको एक वर्ष पूरा भएकै दिन ओख्रेनीको होदिलमा सरकारी टोलीले १२ वटा घर शिलान्यास गरेको थियो । त्यसबेला तामझामसाथ कार्यक्रम गरी घर निर्माण शुभारम्भ भएको सन्देश दिइएको थियो । तर जुन गाउँबाट अभियान सुरु भएको भनियो त्यहीँ एउटै घर बनेका छैन । बरु जिल्लाका अन्य भागमा झन्डै २ हजार ५ सयको हाराहारी घर तयार भइसकेको सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयका प्रमुख अमरबहादुर थापाले जानकारी दिए । 

दक्षिणी रामेछापका च्यास्कु, डान्सिङटार, गोल्माटार बस्ती पनि पानी अभावले मारमा छन् । उक्त क्षेत्रका जलस्रोत धमाधम सुक्दैछन् । नजिकै रामपुरका बासिन्दा पानीकै लागि रातभर सुत्न पाउँदैनन् । रामपुरमा रेडक्रसले पुनर्निर्माण जिम्मा लिएकाले स्थानीयलाई घर बनाउन दबाब पनि उत्तिकै छ । यसैकारण कसैकसैले ३५ किलोमिटर टाढा तामाकोसीबाट ट्रयाक्टरमा पानी बोकाएर घर बनाइरहेका छन् । रामपुरमा पानी पुग्दा एक लिटरको १ रुपैयाँ ७५ पैसा पर्ने गरेको रेडक्रसको भूकम्प प्रतिकार्य योजनाका संयोजक जयराम बस्नेत बताउँछन् । ट्रयाक्टरलाई तामाकोसीको पानी कच्ची सडक हुँदै रामपुर पुर्‍याउँदा आधा दिन जान्छ । ‘पानीकै कारण अपेक्षाबमोजिम घर बन्न सकेका छैनन्,’ बस्नेतले भने, ‘एकतले घर बनाउँदा ५० हजार रुपैयाँ त पानीमै सकिने अवस्था छ ।’

सरकारी भवन बनाइँदै 
लमजुङ– भूकम्प गएको २१ महिनापछि बेंसीसहरमा आधा दर्जन सरकारी कार्यालयका भवन पुनर्निर्माण थालिएको छ । भूकम्पबाट क्षति भएका ५ वटा कार्यालयको पुन:निर्माण र एउटा कार्यालयको नयाँ भवन निर्माण सुरु गरिएको हो । पुन:निर्माण प्राधिकरणको सहयोगमा राष्ट्रिय अनुसन्धान कार्यालय, सिँचाइ डिभिजन र कोष तथा लेखा नियन्त्रकको कार्यालय (कोलेनिका) भवन बनाइँदै छन् । सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयको भने नयाँ भवन निर्माण हुन लागेको हो ।

यस्तै, भूमिसुधार तथा व्यवस्था मन्त्रालयको भूमिसुधार तथा व्यवस्था विभागको सहयोगमा मालपोत कार्यालय र नापी विभागको सहयोगमा नापी कार्यालयको भवन पुनर्निर्माण सुरु भएको भवन डिभिजन कार्यालयका प्रमुख इन्जिनियर सचिन्द्रकुमार देवले बताए । उनका अनुसार अनुसन्धान, सिँचाइ डिभिजन, कोलेनिका र भवन डिभिजनको एकीकृत रूपमा महादेव–खिम्ती–रोशन जेभीले निर्माण थालेको हो । यी चारवटै भवनको भ्याट बाहेक १२ करोड २ लाख रुपैयाँमा निर्माण गरिने निर्माण कम्पनीका प्रतिनिधि सतीश पराजुलीले बताए । चारवटा भवनको निर्माणका लागि गत मंसिर १७ मा सम्झौता गरिएकोमा सम्झौता भएको २ बर्षमा सक्ने उनले बताए ।