पिउने पानीमा जथाभावी औषधि

फाल्गुन २१, २०७३- काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले चापागाउँ वितरण प्रणाली पुरानो टयांकीमा जथाभावी औषधि हाल्ने गरेको छ।

चापागाउँ, झरुवारासी, ठेचो, धापाखेल, सुनाकोठीलगायत पाटनका बासिन्दाले उपभोग गर्दै आएको पानीमा बिनामापन ब्लिचिङ पाउडर हाल्ने गरिएको हो ।

यस्तो पानीले स्वास्थ्यमा प्रत्यक्ष असर गर्ने स्वास्थ्यकर्मीको भनाइ छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डा. शेरबहादुर पुनका अनुसार क्लोरिन/ब्लिचिङ पाउडर बढी भएको पानी निरन्तर उपभोगले छालामा समस्या हुन सक्छ । आँखा र रगतमा समेत असर पर्न सक्ने उनी बताउँछन् ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले २०६२ मा जारी गरेको पिउने पानी सुरक्षित पार्न ब्लिचिङ पाउडर प्रयोग गर्ने विधिमा हजार लिटर पानीमा २.५ ग्राम र १ लिटरमा ३ थोपा क्लोरिन झोल राख्नुपर्ने प्रावधान छ । एक चिया चम्चा ब्लिचिङ पाउडर ५ ग्रामको हुन्छ । क्लोरिन हालेको आधा घण्टापछि मात्र पानीको प्रयोग गर्नुपर्छ । पाउडरको छोक्रा निकाली डोजिङ मेसिनमा हालेर तरल मात्र पानीमा हाल्नुपर्छ ।

तर, केयूकेएलका कर्मचारीले छोक्रासहित ब्लिचिङ हाल्ने गर्छन् । केयूकेएलअन्तर्गत खानेपानी परीक्षण गर्ने छुट्टै ल्याब पनि निष्क्रिय छ । हचुवाका भरमा पाउडर हाल्ने गरेकाले ब्लिचिङ बढी भई पानी तीतो हुने उपभोक्ता बताउँछन् । चापागाउँका चरसुन्दर महर्जनले डोजिङ मेसिन बनाउन केयूकेएललाई पटकपटक भन्दा पनि चासो नदिएको बताए ।

केयूकेएलले मूलडोलस्थित इनारको पानी बिनापरीक्षण वितरण गरेको छ । यसको अनुगमनमा खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले चासो देखाएको छैन । कार्यालयका प्रमुख भवनचन्द्र श्रेष्ठले खानेपानी हेर्ने छुट्टै शाखा रहेको बताए । ‘शाखा प्रमुखलाई अनुगमन गर्न निर्देशन दिन्छौं,’ उनले भने । जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार इनारको पानीमा अक्सिजन कम हुन्छ । इनारको पानी वितरणपूर्व पिउनयोग्य छ/छैन जाँच्नुपर्छ ।

कार्यालयका ल्याब टेक्निसियन अधिकृत शंकर पौडेलले यस्तो पानी प्रयोगले हेपाटाइटिस ए र ई (जन्डिस), झाडापखाला, आउँ, टाइफाइड, हातखुट्टा लुलो हुनेजस्ता रोग लाग्न सक्ने बताए । कार्यालयका अनुसार गत वर्ष दूषित पानीका कारण लगनखेल, सुनधारा र लुखुसीमा ३६, धापाखेल र सुनाकोठीमा ६, बालकुमारी र भोलढोकामा ११, पाटनढोकामा ३ गरी २३ स्थानका ११० उपभोक्ता बिरामी परेका थिए । केयूकेएल जावलाखेल शाखा प्रमुख विश्वराज जोशीले यसको अनुगमन गरिने बताए । केयूकेएलका अनुसार चापागाउँ वितरण प्रणालीबाट दैनिक २५ लाख लिटर पानी पाटन आउँछ ।

Source: Kantipur News