चोरीको विद्युत्बाट खानेपानी वितरण

फाल्गुन २१, २०७३- चाँगुनारायण ७, झौखेल कल्पकोटस्थित ‘हयोमिखा खानेपानी उपभोक्ता समूह’ ले चोरी गरिएको विद्युत्बाटै ६५ परिवारलाई खानेपानी वितरण गरेको छ । 

समूहले झौखेलमा रहेको कोटदेवी माता मन्दिरमा जडान गरेको लाइनबाट हुकिङ गरी खानेपानी वितरण गरेको पाइएको विद्युत् प्राधिकरणका वितरण केन्द्र प्रमुख विक्रम अमात्यले बताए । विद्युत् चुहावट भएको स्थानमा कारबाहीका लागि गएको प्राधिकरणका कर्मचारीलाई अवरोध गर्न खोज्ने ३ उपभोक्तालाई नियन्त्रणमा लिई कारबाही गरिएको जनाएको छ । पक्राउ पर्नेमा लक्ष्मीप्रसाद हिम्सी, दशराम सुवाल र नाराराण सुवाल रहेको अमात्यले जनाए । समूहलाई क्षतिपूर्ति र जरिवाना स्वरूप २ लाख ८९ हजार ५ सय ४० रुपैयाँ असुल गरिएको केन्द्रले जनाएको छ ।

चोरीमा संलग्न रहेको भन्दै झौखेल कल्पकोटकै पूर्णकुमार थुयालाई समेत नियन्त्रणमा लिई कारबाही गरिएको छ । थुयाले विद्युत् चुहावट गरी १६ घरधुरीलाई पानी वितरण गरेका थिए । थुयाबाट क्षतिपूर्ति तथा जरिवाना स्वरूप १ लाख २७ हजार ३ सय रुपैयाँ असुल गरिएको छ ।

यसअघि सूर्यविनायक ६, सिपाडोलको ‘तकोपली खानेपानी उपभोक्ता समिति’ ले विद्युत् चोरी गरी ७४ घरलाई खानेपानी वितरण गरेको पाइएको छ । उपभोक्ता समिति बनाएरै चोरीको विद्युत्बाट समरसिवल पम्प जडान गरी डिप बोरिङबाट पानी वितरण गरेको केन्द्रले जनाएको छ । समितिले सूर्यविनायक क्षेत्रको १४ विद्युत् पोलमार्फत कालो तारबाट हुक गरी चुहावट गरेको अमात्यले बताए ।

चुहावट भएका स्थानमा कारबाहीका लागि गएका कर्मचारीलाई अवरोध गर्न खोज्ने ३ उपभोक्तालाई नियन्त्रणमा लिई कारबाही गरिएको प्राधिकरणले जनाएको छ । पक्राउ पर्नेमा लक्ष्मीप्रसाद प्रजापति, कान्छा तमखु र रत्नकाजी मानन्धर छन् । समितिले खानेपानी वितरणवापत् प्रतिमहिना प्रतिघर २५ सय रुपैयाँका दरले रकम उठाउँदै आएको छ । विद्युत् चोरी गरी वितरण गर्ने उपभोक्ता समितिलाई क्षतिपूर्ति र जरिवाना स्वरूप २ लाख ५२ हजार १ सय रुपैयाँ असुल गरिएको केन्द्रले जनाएको छ । चोरीमा प्रयोग गरेको करिब ५ सय मिटर तार, कन्टयाक्टर, डिस्ट्रिब्युटर बाकस पनि बरामद गरेको अमात्यले बताए ।

केन्द्रले चालु आवको ७ महिनामा विद्युत् चुहावट गर्ने २ सय १४ जनालाई कारबाही गरेको छ । जसमध्ये १ सय ९९ को क्षतिपूर्ति तथा जरिबानाबापत् ७२ लाख ८९ हजार ४ सय २२ असुल गरिएको छ । कारबाहीमा परेका १५ जनाबाट ४ लाख ३३ हजार ४ सय २१ रुपैयाँ असुल गर्न बाँकी रहेको केन्द्रले जनाएको छ ।

Source: Kantipur News

Go to top