असोजमा पनि नआउने भयो मेलम्ची

काठमाडौं- आगामी असोजमा पनि राजधानीवासीका धारामा मेलम्चीको पानी आउने सम्भावना लगभग टरेको छ। मेलम्ची खानेपानी आयोजनाको योजना अनुसार सुरुङ खन्ने काम नभएकाले असोजमै पानी आउने सम्भावना टरेको हो।

 

आयोजनाका अनुसार पछिल्लो पटक सुरुङ खन्ने जिम्मा पाएको इटालियन कम्पनी को–अपेरटिभ मुरातोरी एन्ड सिमेन्टिस्टी (सीएमसी) ले खन्ने उपकरण 'ब्रेकडाउन', सुरुङको मुख टाढा भएको, नयाँ जगेडा पार्टपुजा तथा स्पेयर्स पार्ट नभएको बहाना गर्दै काममा आलटाल गर्दा असोजमा राजधानीमा मेलम्चीको पानी ल्याउने योजना पूरा नहुने देखिएको हो। यसअघि आयोजनाले असोजभित्र मेलम्चीको पानी राजधानी ल्याउने जनाएको थियो।

आयोजनाका उपकार्यकारी निर्देशक रमाकान्त दवाडी 'अहिलेकै गतिमा सुरुङ खन्ने काम भइरहे असोजभित्रै मेलम्चीको पानी आउने सम्भावना न्यून भएको' बताउँछन्। 'सुरुङ खन्ने अहिलेको गतिले तोकेकै समयमा मेलम्चीको पानी ल्याउन सकिने सम्भावना कम देखिन्छ,' उनले नागरिकसँग भने, 'तर पनि असोजभित्रै पानी ल्याउन सकिन्छ कि भनेर सम्झौता अनुसार काम गर्न ठेकेदार कम्पनीलाई ताकेता गरिरहेका छौं।'

असोज महिनाभित्रै मेलम्चीको पानी ल्याउने यसअघिको कार्ययोजनाअनुसार उपत्यकाका सडकमा पाइप बिछ्याउने कार्य भने चलिरहेको छ। मेलम्ची आयोजनाका अनुसार अझै ४.४ किलोमिटर सुरुङ खन्न बाँकी छ। ठेकेदार कम्पनीले अहिले दैनिक सरदर १५ देखि १९ मिटर सुरुङ खन्दै आएको आयोजनाले जनायो। कम्पनीले सरदर दैनिक २० मिटर सुरुङ खन्ने पनि बाँकी काम पूरा गर्न दुई सय २० दिन लाग्ने देखिन्छ। दैनिक २० मिटरका दरले खन्न सके अझै सात महिना त सुरुङ खन्न मात्रै लाग्छ।

खनिसकेपछि सुरुङको प्लास्टर, गेट भेन्टिलेटर निर्माण, अप्टिकल फाइबर बिछ्याउने, सिसी क्यामेरा र टि्रटमेन्ट प्लान्ट बनाउने लगायत काम गर्नुपर्ने हुन्छ। यो काम गर्न झन्डै तीन महिना लाग्ने आयोजनाका एक वरिष्ठ इन्जिनियरले जानकारी दिए। 'ठेकेदार कम्पनीले बहानाबाजी गरेर काममा ढिलाई गरिरहेको छ', ती इन्जिनियरले भने, 'दैनिक ३०/४० मिटर सुरुङ नखनेसम्म असोजभित्र पानी ल्याउन सम्भव छैन्। सुरुङ खनिसकेपछि पनि तत्कालै पानी ल्याउन मिल्दैन।' यस हिसाबले समयसीमाभित्रै मेलम्चीको पानी उपत्यकामा ल्याउन निकै चुनौतीपूर्ण रहेको उनले बताए।

मेलम्ची खानेपानी उपआयोजना प्रमुख तथा निर्देशक घनश्याम भट्टराईले असोज महिनाभित्रै मेलम्चीको पानी ल्याउन प्रयत्न भइरहेको बताए । 'ठेकेदार कम्पनीले हाम्रो योजना अनुसार काम गर्नै सकेनन्। त्यसैले लक्ष्य प्राप्त गर्न चुक्यौं,' उनले भने, 'ठेकेदार कम्पनीले विभिन्न बहानाबाजी गर्छन् तर, जायज मागलाई मात्रै सम्बोधन गर्दै आएका छौं।' आयोजनाका अनुसार ठेकेदार कम्पनीले समयमा सुरुङ खन्ने उपकरण नल्याउँदा ढिलाई भएको हो। प्रमुख भट्टराईका अनुसार ठेकेदार कम्पनीले नयाँ उपकरण ल्याएसँगै दैनिक २५ मिटर सुरुङ खन्ने प्रतिबद्धता जनाएको छ। चाँडै उपकरण ल्याएर दैनिक २५ मिटर खन्न लगाउने उनले बताए।

आयोजना उपनिर्देशक दवाडीका अनुसार सिन्धुदेखि ग्याल्थुमसम्मको २.२ किलोमिटर सुरुङ खन्न बाँकी छ। त्यस्तै ग्याल्थुमदेखि अम्बाथानसम्म पनि २.२ किलोमिटर खन्न बाँकी छ। ठेकेदारले अहिले चार ठाउँबाट सुरुङ खन्ने कामलाई निरन्तरता दिइरहेको छ।

काम कछुवा गतिमा भए पनि खानेपानी तथा सरसफाइ मन्त्रालयका सचिव भीम उपाध्याय भने आगामी दसैंभित्र जसरी पनि मेलम्चीको पानी काठमाडौं ल्याएरै छोड्ने दाबी गर्छन्। 'सुरुङ खन्ने नयाँ प्रविधि नआएकाले केही ढिला भएको हो,' उनले भने, 'नयाँ प्रविधि आउनेबितिकै ठेकेदार कम्पनीले गति बढाउनेछ।' मन्त्रालयले ठेकेदार कम्पनीलाई निर्माणका लागि अत्यावश्यक औजार खरिदमा बैंक धरौटीमार्फत ३० करोड रुपैयाँ उपलब्ध गराएको जनाएको छ।

आयोजनाका अनुसार मेलम्ची नदीबाट दैनिक १७ करोड लिटर पानी काठमाडौं उपत्यकामा ल्याइनेछ। 'मन्त्रालयले औजार खरिदकाा लागि रकम पठाइसक्यौं,' उनले भने, 'सम्भवतः केही समयभित्रै सुरुङ खन्ने गति बढ्नेछ।' सचिव उपाध्यायले भने 'हाम्रो टार्गेट नै असोजभित्रै राजधानीबासीलाई मेलम्चीको पानी खुवाउने हो।'

मेलम्चीको पानी उपत्यकाका घरघर पुर्‍याउन धमाधम सडकमा पाइप बिछ्ाउने कार्य तीव्र भइरहेको आयोजना कार्यान्वयन निर्देशनालयका निर्देशक तिरेशप्रसाद खत्रीले बताए। यसका लागि उपत्यकामा दिनरात हजारभन्दा बढी मजदुर र सयभन्दा बढी प्राविधिक परिचालन भइरहेको निर्देशनालयले जनाएको छ। पानी ल्याउन २७.४ किलोमिटर सुरुङ खन्नुपर्छ। आयोजनाका अनुसार मेलम्ची खानेपानी आयोजनामा २० अर्ब रुपैयाँ खर्च भइसकेको छ।

Source: Nagarik News