जिल्लाकै सफा घोषित शंकर आधारभूत विद्यालयलाई प्रोत्साहन रकम र प्रमाणपत्र प्रदान गर्दै जिल्ला शिक्षा अधिकारी टंक गौतमलगायत । तस्बिर : भीम चापागाईं
शौचालयमा खानेपानी र हात धुने सुविधा, महिनावारी स्वच्छताका लागि सेनेटरी प्याड, फोहोर प्याड जलाउन इन्सिनेटर अादि राखिएकाे छ
बिहिबार, १७ चैत २०७३, ११ : २४ |
महासंघले ‘नागरिक आवाज कार्यक्रम’अन्तर्गत यो वर्ष जिल्लाका २० विद्यालयलाई सरसफाइका २० सूचक दिएर विद्यालय सरसफाइ कार्यक्रम सञ्चालन गरेको थियो । विद्यालयमा छात्र र छात्राका लागि छुट्टाछुट्टै शौचालय, प्रत्येक ५० छात्रछात्रा बराबर एक शौचायल, शौचालय सफा राख्न पर्याप्त पानी, नियमित सफाइ, हावाका लागि भेन्टिलेटर, शौचालयमा चुकुलसहितको ढोका, आँगनमा टुट्टीसहितको खानेपानी सुविधा, पिउने पानी शुद्धीकरण, साबुन र साबुन केससहित हात धुने सुविधा यसका सूचक छन् । छात्रछात्राले खाना खानुअघि, दिसा–पिसाब गरेपछि र फोहरमैला छोएपछि साबुन–पानीले हात धुने, बालमैत्री, अपांगमैत्री शौचालय, खानेपानी र हात धुने सुविधा, महिनावारी स्वच्छताका लागि शौचालयमा सेनेटरी प्याड, फोहोर प्याड जलाउन इन्सिनेटर, शौचालय नियमित मर्मतसम्भार, विद्यालयमा सरसफाइसम्बन्धी फोकल शिक्षक तथा बालक्लबको सक्रियताजस्ता सूचक तोकिएका छन् । सड्ने र नसड्ने फोहोर बेग्लाबेग्लै व्यवस्थापन, विद्यालय सरसफाइ कोषलगायतका सूचक स्कूलहरूले पाएका थिए ।
यीमध्ये १० सूचक पूर्ण र ६ सूचक आंशिक पूरा गरी इलाम नगरपालिकाको जस्बिरेस्थित बालमण्डल माध्यमिक विद्यालय जिल्लाको दोस्रो सफा विद्यालयमा दरिएको छ । बालमण्डललाई पनि मंगलबार १० हजार नगदसहित पुरस्कृत गरिएको छ । विद्यालयका प्रधानाध्यापक टीकानाथ पौडेलले सरसफाइलाई शिक्षाजस्तै अपरिहार्य आवश्यकताका रूपमा राखेर स्कूलमा सरसफाइका कार्यक्रम सञ्चालन गर्ने बताए ।
जिल्ला शिक्षा अधिकारी टंक गौतमले विद्यालयमा बालबालिकाले सिकेको सीप घरमा पनि पालना गर्ने वातावरण बनाउन शिक्षक र अभिभावकलाई आग्रह गरे । ‘स्कूलमा बालबालिका जे सिक्छन् त्यही सीप घरमा व्यावहारिक रूपमा प्रयोग गराउने बानी बसाल्न सकेमात्र सिकाइ दीर्घकालीन हुन्छ,’ उनले भने, ‘सरसफाइलाई बालबालिका, शिक्षक र अभिभावकले सिकाइको अभिन्न विषयका रूपमा अघि बढाउनुपर्छ ।’
महासंघले समिति र शिक्षा कार्यालयको सहमन्वय तथा वाटरएडको सहयोगमा सञ्चालित कार्यक्रमअन्तर्गत लक्ष्मीपुरको सरस्वती मावि, महमाईको बिन्तीविनायक मावि, मंगलबारेको महेन्द्रोदय मावि, सिद्धिथुम्काको खान्द्रुङ मावि, सुम्बेकको सुम्बेक मावि, पञ्चकन्याका पुन्य स्मारिका, वीरेन्द्र मावि र इलाम नगरपालिकाको महमाई आधारभूत स्कूललाई सफा स्कूल घोषणा गरिसकेको छ ।
Source: Nagarik News