गरीब उपभोक्तालाई सधैं खानेपानीको समस्या

 

 

काठमाडौं

आइतवार, बैशाख १०, २०७४

न्यून आय भएका उपभोक्ताले खानेपानीका लागि सधैं समस्या झेल्नुपरे पनि सरकारले राहत दिने कुनै प्रयाससमेत नगरेको गुनासो गरेका छन् । राजधानीमा बसेर पनि आफूहरूले बाह्रै महिना खानेपानीको समस्या झेल्नुपरेको तर सरकारले न्यूनतम सुविधासमेत नदिएको बताएका हुन् ।खानेपानीसम्बन्धी काम गर्दै आएको संस्था गुथीले शनिबार काठमाडौंमा गरेको 'न्यून आय उपभोक्ताका लागि पानीको समस्या र व्यवस्थापन' छलफलमा सरोकारवालाले यस्तो गुनासो गरेका हुन् ।

त्रिपुरेश्वरस्थित वंशीघाट सेवा समितिका अध्यक्ष दीपक कुँवरले भन्नुभयो, 'काठमाडौंमा खानेपानीको समस्या छ, यस्तो अवस्थामा भनिरहनुपर्दैन न्यून आय भएका हामीजस्ता उपभोक्ताको हालत के होला ? ' टोलका बासिन्दाको पहलमा राखिएको ट्यांकी भूकम्पले काम नलाग्ने बनाएपछि समस्या अझै चर्केको उहाँको भनाइ छ । स्थानीय मीना कोइरालाले भएको एउटा इनार पनि बागमती करिडोरका लागि सडक चौडा पार्ने क्रममा पुरिएपछि समस्या बढेको बताउनुभयो । उहाँले भन्नुभयो, 'हामीले ट्यांकरको पानीसमेत सजिलै किन्न पाएका छैनौं ।'

शंखमूलकी जेनिता राईले पनि संयुक्त रूपमा खनेको इनार करिडोरको सडकले बिगारेको बताउनुभयो । उहाँले भन्नुभयो, 'मेलम्चीको पानी ल्याउन पाइप बिछ्याइएको छ र आशा लागेको छ तर हाम्रो बस्तीमा बर्खा मात्र होइन बाह्रै महिना पानीको समस्या छ ।' भक्तपुर मनोहरानिवासी माया घिसिङले १५ मिनेट धाएर ढुंगेधारा जानुपर्ने बाध्यता रहेको र ढुंगेधारामा पनि राम्ररी पानी नआउने हुँदा खानेपानीको दुःख झेलिरहेको बताउनुभयो । मनोहराको उक्त बस्तीमा करिब ६ सय घरपरिवार छन् । सामाखुसीस्थित संगम टोलमा ३६ घर छन् त्यहाँ पनि पानीको चरम समस्या छ । मनि लामाले भन्नुभयो, 'सातामा एकपटक आउने ट्यांकरले कति धान्नु ? हाम्रोमा त मेलम्चीको पाइपसमेत बिछ्याइएको छैन ।'

सिनामंगलस्थित गैरीगाउँकी भगवती अधिकारीले मूल फुटेको ठाउँबाट पानी ल्याउने भए पनि आठबाट अहिले १८ घर पुगेकाले सधैंको अभाव हुने बताउनुभयो । उहाँले भन्नुभयो, 'त्यो पनि परीक्षण गर्दा पिउन अयोग्य रहेछ, सधैं बिरामी भइरहन्छौं ।' उहाँका अनुसार प्रगति टोल, प्रयाग मार्ग, जागृतिनगरलगायत आसपासका एक दर्जन यस्तै क्षेत्रका २ हजारजति बासिन्दाको हालत यस्तै छ ।

गुथीका प्राविधिक सल्लाहकार प्रकाश अमात्यले काठमाडौं उपत्यका खानेपानी लिमिटेडको न्यून आय उपभोक्ता इकाइ फेरि ब्युँताएर काम गर्नुपर्नेमा जोड दिए । उनले भने, 'कतै केही सुविधा छँदै छैन । त्यसैले सरकारले सबैलाई बराबर खानेपानी दिनुपर्छ । संविधानले ग्यारेन्टी गरेको स्वच्छ खानेपानी पनि नपाउँदा न्यून आय भएकाहरू मारमा परेका छन् ।' कार्यक्रममा अमेरिकाबाट आएकी स्टेफनीले काठमाडौं उपत्यकाभित्र न्यून आय भएका उपभोक्ताले प्रयोग गर्ने खानेपानीको अवस्थाबारे गरेको अनुसन्धानको प्रतिवेदन प्रस्तुत गरेकी थिइन् ।

Source: The Annapurna Post

Link: http://annapurnapost.com/news/69553