-डा. अरूणा उप्रेती
जेष्ठ २, २०७४- भारतको आसाममा हिन्दुहरूले असाध्यै मान्ने कामाख्यादेवीको मन्दिर असारमा ४ दिन बन्द हुन्छ । किनभने असार महिनामा देवीको महिनावारी हुन्छ भन्ने विश्वास छ । यो बेला कसैले पनि देवीको दर्शन पाउँदैन । देवीको अनुमानित योनिको अगाडि पुजारीले सफा कपडा राखिदिन्छन् र ४ दिनपछि ‘रगतले भिजेको कपडा’ भक्तजनलाई बाँडिन्छ । देवीले महिनावारीका बेला प्रयोग गरेको कपडा पाइयो भने भाग्योदय हुन्छ भन्ने जनविश्वास छ । ‘त्यो रगतले भिजेको कपडा लिन चाहने भक्तको भिड हुन्छ । सानो–सानो टुक्रा पारेर बाँडिन्छ, ताकि यस्तो दिव्य प्रसाद सबैले पाउन सकुन् । तर पनि कतिजना भक्तजन यो दिव्य प्रसाद पाउनबाट बञ्चित हुन्छन् र अँध्यारो अनुहार लिएर फर्कन्छन्,’ मन्दिर घुमाउन लैजाने व्यक्तिले मलाई भनेका थिए, ‘कति भक्त त रातिदेखि नै लाइन बस्छन् ।’
कति जनाले त यही बेला आसाममा ब्रह्मपुत्र नदीको पानी पनि केही रातो हुन्छ, देवीको महिनावारीको रगतले भन्ने विश्वास गर्छन् । भक्तजनले देवीको महिनावारी भएको उत्सव मनाउँछन्, उनको रगतले भिजेको कपडा भाग्योदय भनेर राख्छन् । नेपालको सुदूर पश्चिम र कर्णालीमा चाहिँ त्यही महिनावारीलाई अपवित्र मानेर घरबाट धकेलेर बाहिर छाउगोठमा बस्न लगाउँछन् । किशोरी र महिलाको जीवनमा रोग, अपमान, यौन शोषण र मृत्युको खतरा ल्याइदिन्छन् ।
यो त महिनावारीप्रति दोहोरो चरित्र देखाएको भएन र ? ढुर्गाकी देवीको महिनावारीचाहिँ पवित्र, जीवित देवीको महिनावारीचाहिँ अपवित्र ? सुदूर पश्चिमको छौपडीबारे पहिले मैले बोल्दा र लेख्दा त्यहाँका कतिपय राजनीतिक नेता र पत्रकारले भनेका थिए, ‘तपाई बेकारमा छौपडीबारे लेखेर सुदूर पश्चिमलाई बदनाम गर्न‘हुन्छ । अहिले त पश्चिममा यो व्यवस्था हटिसकेको छ । अब अरू कुरा लेख्नुस् । सुदूर पश्चिमको सुन्दरताबारे, विकासबारे ।’
मैले उनीहरूलाई के जवाफ दिनु थियो र ? छौपडीमा बसेका बेला दुई युवतीको मृत्यु भएको खबर पढेर उहाँहरूलाई पक्कै पनि लाग्यो होला, ‘ओहो, हाम्रो सुन्दर पश्चिममा त अझै पनि महिलालाई महिनावारीका बेला अपवित्र मानेर छाउघरमा राख्ने चलन त रहेछ नि ।’
मैले बारम्बार भन्दै आएकी छु, ‘महिनावारीमा अपवित्र मानेर छाउगोठमा राख्ने चलन सुदूर पश्चिममा छ । तर त्यही मानसिकता बोकेर काठमाडौं र अन्य सबै ठूला–साना सहर र गाउँमा महिलालाई महिनावारी हुँदा अपहेलना गर्ने चलन त सबै ठाउँमा छ नि ।’
यही अवहेलनाबाट बच्न र दसैंको बेला दक्षिणा र मिठो खाना पाइँदैन भन्ने डरले मैले पहिलोचोटी महिनावारी हँ‘दा र त्यसपछि ३ वर्षसम्म पनि घरमा कसैलाई भनिन । त्यो बेला मैले मन्दिर गएर पाप गरें भन्ने कसैलाई लाग्न सक्छ, तर मैले कहिले पनि त्यसको लागि अपराधबोध गरिन । अहिले चाहिँ एउटै कुराले म छक्क पर्छु, ४ दशकअघि जब नेपालमा अहिलेको जस्तो स्यानिटरी प्याड आइसकेको थिएन, मैले कसरी महिनावारी व्यवस्थापन गरेँ होला ? अलिअलि याद छ, आमाको पुरानो सुती धोती र पुरानो सिरकको खोल च्यातेर प्रयोग गर्थेँ । प्रयोग गरेपछि ती कपडा धँ‘दा घरमा पत्ता लगाउँछन् भनेर कागजमा पोकापारी स्कुलमा लगेर फोहोर फ्याल्ने भाँडोमा हाल्थेँ । त्यसो गर्दा पनि कसैले देख्ला कि भन्ने भय भने भइरहन्थ्यो ।
त्यो बेला एक गलत सामाजिक मान्यताविरुद्ध थाहै नपाएर एक प्रकारको विद्रोह गरेकी रहेछु । धन्य, मेरा छोरीहरूलाई त्यो विद्रोह गर्न‘परेन । उनीहरूलाई लऽकाएर कपडा फ्याल्नु परेन । उनीहरूले अरू किशोरीजस्तै ‘म नछुने भएँ, मलाई भोक लाग्यो आमा, खाजा वा खाना देऊ न’ भनेर माग्नु परेन । किनभने उनीहरूले महिनावारी भएका बेला अपवित्र भइन्छ भन्ने सिक्दै सिकेनन् । उनीहरूले महिनावारी प्राकृतिक कुरा हो, यो बेला सफा बस्नुपर्छ, पौष्टिक खाना खानुपर्छ, पेट दुखे तातो पानीले सेक्नुपर्छ र अझ कम नभए दुखाइ कम हुने औषधी खानुपर्छ भन्ने बेलैमा सिके ।
तर अपशोच यो छ कि अझै पनि धेरै किशोरी र महिला महिनावारीका बेला अपमानित हुन्छन् । उनीहरूको स्वास्थ्यमा नराम्रो असर पार्ने संस्कृति पछ्याइन्छ । काठमाडौंमा बसेका पढेलेखेका विभिन्न सरकारी अफिस र अन्तर्राष्ट्रिय संस्थामा काम गर्ने महिला पनि सुदूर पश्चिमको छौपडीचाहिँ नराम्रो तर आफ्नो घरमा भनेर बारेको चाहिँ राम्रो भन्छन् । केही दिनअघि एक दिदीसँग यही विषयमा कुराकानी हँ‘दा उहाँले भन्नुभएको थियो, ‘म अरू कुरा त मान्दिन, तर महिनावारी हँ‘दा पूजापाठ गर्न र भान्छामा छुन भने सक्दिन । मेरी छोरी बंैककमा काम गर्छिन् । म त उनलाई पनि नेपाल आउँदा महिनावारी भएका बेला भान्छामा नआउन, पूजाकोठमा पनि नजान भन्छु ।’ मैले उनलाई कामाख्या देवीको महिनावारीको किंवदन्ती सुनाए र सोधेँ, ‘के तपाई असारको बेला महिनावारी भएकी कामाख्यादेवीको महिनावारीको रगतले भिजेको टालो भक्तजनले लिए जस्तै गरेर लिनुहुन्छ ?’ अनि मैले आफूले महिनावारी हुँदा कसैलाई पनि नभनेको कुरा बताएँ । उहाँले विस्फारित नेत्रले मलाई हेर्नुभयो । सबैलाई मेरो प्रश्न छ, के मैले महिनावारीका बेला छुट्टै नबसे, भान्छामा छोए, मन्दिर गए पाप लाग्छ ? नेपालका विभिन्न जनजातिका महिलाले पनि त महिनावारी बार्दैनन् । उनीहरू पापी भए त ? महिनावारीका बेला छौपडीको विरोध गर्नेहरूले आफ्नो मानसपटलमा रहेको छौपडीचाहिँ कहिले हटाउने ?
Source: Kantipur News
Link: http://kantipur.ekantipur.com/news/2017-05-16/20170516075415.html