कागजमा मुक्त, व्यवहारमा युक्त

छाउगोठ जस्ताको तस्तै

-बसन्तप्रताप सिंह

(चैनपुर) बझाङ।। १६ मंसिर ०७१ मा साबिक माझीगाउँ गाविसलाई विशेष तामझामसहितको समारोह आयोजना गरेर छाउगोठमुक्त घोषणा गरियो । जिल्ला सदरमुकामबाट गएका विभिन्न क्षेत्रका अतिथिहरूले स्थानीयलाई आइन्दा महिनावारी भएका महिलाप्रति छुवाछूत र फरक व्यवहार नगर्ने कसम खुवाए । घोषणापूर्व धामी–झाँक्रीलगायत छाउप्रथामा विश्वास गर्नेलाई चेतनामूलक तालिम सञ्चालन र घर–घरमा भएका छाउ गोठ भत्काइएको थियो ।

तर, मुक्त घोषणा भएको एक वर्ष नपुग्दै भत्काइएका छाउगोठ फेरि बने । देउताले घरभित्र बस्न नदिएको भन्दै महिनावारी भएका बेला सबैजसो महिला फेरि छाउगोठमा नै बस्न थाले । साबिकको माझीगाउँ गाविस सुनार टोलकी मनीषा सुनार भन्छिन्, “छाउ गोठमुक्त घोषणा त गर्‍यौँ तर देवताले नसहेपछि फेरि गोठ बनायौँ ।” कसैको घरका बूढापाकाले नमान्दा र कोही देवीदेउताको डरले छाउ गोठमा बस्दै आएको सुनार टोलीकी देउमा सुनारको भनाइ छ ।

यसरी कागजमा छाउगोठमुक्त हुने साबिकका गाविस संख्या अहिलेसम्म चार छन् । माझीगाउँपछि मष्टा, रिलु र पौवागढीलाई पनि छाउगोठमुक्त घोषणा गरियो । तर, व्यवहारमा छाउगोठमुक्त भएन । 
छाउगोठ भत्काएपछि महिनावारीको समयमा बाहिर पाल टाँगेर बस्नुपर्ने अवस्था आएको बताउँछिन, मष्टाकी सिन्की कठायत । भन्छिन्, “भएका राम्रा गोठ भत्काइहाले । बनाउन सक्नेले त नयाँ गोठ बनाएर बसेका छन् । नसक्नेहरूले पाल हालेर बस्नु परिरहेको छ ।” पालमा बस्दा चिसो लाग्ने, जंगली जनावर र यौनजन्य हिंसाको डर हुने भएकाले झन् खतरा औँल्याउँछिन् उनी । 

“अन्य कारणले कोही बिरामी भयो र कसैको दुर्घटना भयो भने पनि छाउपडीलाई घरभित्र राखेका कारण भएको हो भन्ने हल्ला फैलाइन्छ,” महिला तथा बालबालिका कार्यालयकी प्रमुख लीला घले भन्छिन्, “धामी–झाँक्री र बूढापाकाको यसमा ठूलो हात हुन्छ । उनीहरूका कुरा सुनेपछि सबैले विश्वास गर्छन् । हाम्रो वर्षाैंको मिहिनेत क्षणभरमा सकिन्छ ।” पुस्तौँदेखि जरा गाडेर बसेको अन्धविश्वास परिवर्तन गर्न निकै चुनौतीपूर्ण रहे पनि आफूहरूको प्रयास जारी रहेको घलेको भनाइ छ । 

अभियानकर्ता संस्थाहरूले चेतनामूलक कार्यक्रमलाई अभियानभन्दा पनि बजेट खर्च गर्ने हिसाबले सञ्चालन गरेका कारण समस्या ब्यूँझिएको बताउँछिन्, महिला मानव अधिकार रक्षक सञ्जालकी कोषाध्यक्ष सुशीला खड् का भन्छिन् । अन्धविश्वासलाई चिर्नका लागि त अभियान सञ्चालन गर्नुपर्ने हो । तर, गुणात्मक उपलब्धिभन्दा पनि बजेटको लक्ष्य हासिल भयो कि भएन भन्ने कुरालाई बढी ध्यान दिएको देखिन्छ । कागजमा काम हुन्छ । 

व्यवहार बदलिँदैन । यहाँका शिक्षक, कर्मचारी, बुद्धिजीवी र राजनीतिकर्मीहरू नै मानसिक रूपमा छाउपडी प्रथाको अन्त्य गर्न तयार छैनन् । महिला अधिकारकर्मी आशा विक भन्छिन्, “शिक्षित व्यक्तिहरूलाई त यो कुरा गलत हो भन्ने बुझाउन सकिएको छैन भने ग्रामीण भेगमा रहेका छाउगोठ भत्काएर कसरी परिर्वतन हुन सक्छ ?” 

नगरपालिकाभरिछाउगोठ

बझाङको केन्द्र मानिने सदरमुकाम जयपृथ्वी नगरपालिकाभित्रै पनि सयौँको संख्यामा छाउगोठ छन् । महिनावारी भएका महिलामाथि गरिने विभेद पनि कम छैन । 

जयपृथ्वी नगरपालिकाभित्रको धामिलेकमा करिब ९५ परिवारको बसोवास छ । धामिलेकमा मात्रै करिब २५ वटा छाउगोठ रहेको स्थानीय सिद्धराज जोशी बताउँछन् । महिनावारी हुँदा नगरपालिकाभित्रै सात दिनसम्म गोठमा बस्नुपर्ने, पोसिलो खाना खाना नपाइने र विभिन्न खालका विभेद भोग्नुपरिरहेको सत्यदेवी जोशीको अनुभव छ ।

Source: Kantipur News

Link: http://nepal.ekantipur.com/news/2017-05-17/20170517190524.html