फोहोरबाट आम्दानी

- ‘वेस्टअटोक्लेभप्रविधिप्रयोग

- थपजनालाईरोजगारी

- फातिमा बानु, काठमाडौं

प्रसूतिमा रहेको संक्रमित फोहोर प्रशोधन गर्ने उपकरण । तस्बिर : कान्तिपुर

जेष्ठ ८, २०७४- परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथलीमा फोहोर व्यवस्थापन गर्ने उपकरण भित्रिएको छ । योसँगै संक्रमित फोहोरबाट अस्पतालले नियमित आम्दानीसमेत गर्न थालेको छ ।

उपकरणबाट अस्पतालले दैनिक २ सय किलो फोहोर व्यवस्थापन गर्दै आएको छ । यसबाट दिनमै ५० हजार रुपैयाँ बढी आम्दानी भइरहेको अस्पतालका निर्देशक डा. अमिरबाबु श्रेष्ठले बताए ।

‘उपकरण भित्रिएपछि अस्पतालजन्य फोहोर व्यवस्थापनको झन्झट हटेको छ,’ उनले भने, ‘यो उपकरण भारतबाट २५ लाख रुपैयाँमा खरिद गरेका हौं ।’ अस्पतालले सेनेटरी प्याड, सिरिन्ज, कपासलगायत संक्रमित फोहोर संकलन गर्छ । उपकरणबाट संक्रमित फोहोरका किटाणु बफयाएर फाल्ने र बाँकी कबाडीमा बेच्ने गरेको अस्पतालको स्वास्थ्य संस्थाजन्य फोहोर व्यवस्थापन केन्द्रकी इन्चार्ज भवानी खड्काले बताइन् । यो सुविधा विस्तार हुनुअघि अस्पतालजन्य फोहोर व्यवस्थापनका लागि महानगरपालिकाको कन्टेनर बोलाउनुपर्ने र त्यसका लागि प्रतिपटक २७ सय रुपैयाँ तिर्नुपर्थ्यो । खड्काका अनुसार महिनामा ९ पटकसम्म बोलाउनुपर्थ्यो  ।

उपकरण भित्रिएपछि थप ७ कर्मचारीले रोजगारी पाएको अस्पताल प्रशासक अमर अमात्यले बताए । अस्पतालमा फोहोरबाट हुन सक्ने इन्फेक्सनबाट बच्न ‘वेस्ट अटोक्लेभ’ प्रविधि प्रयोग गरिएको छ । यो इन्फेक्सनबाट बच्न फोहोरलाई सुरक्षित बनाउने मेसिन हो । यो प्रविधिअनुसार फोहोरलाई तातो मेसिनमा राखिन्छ र इन्फेक्सन हुने कुरा नष्ट गरिन्छ । कुन फोहोर कति तापक्रममा राख्ने मेसिनले सबै नियन्त्रण गर्ने कर्मचारी सुनीता विष्टले बताइन् । उपकरणले एकपटकमा ३५ किलो फोहोर प्रशोधन गर्ने क्षमता राख्छ । बेलाबखत उपकरण बिग्रिरहँदा भने केही समस्या हुने खड्काले बताइन् । यो समस्या समाधान गर्न अर्को उपकरण भित्र्याउने तयारी भएको निर्देशक डा. श्रेष्ठले बताए ।

Source: Kantipur News

Link: http://kantipur.ekantipur.com/news/2017-05-22/20170522080319.html

Go to top