स्यानिटरी प्याड अत्यावश्यक स्वास्थ्य सामाग्रीको सूचीमा

काठमाडौं २०७४ जेठ ५ शुक्रबार– स्वास्थ्य मन्त्रालयले महिलाले महिनावारीमा प्रयोग गर्ने स्यानिटरी प्याडलाई अत्यावश्यक स्वास्थ्य सामाग्रीको सूचीमा राख्ने निर्णय गरेको छ। स्यानिटरी प्याड अहिले भन्सारको ‘विलासी सामाग्री’को सूचीमा छ। मन्त्रालयले प्याडलार्ई अत्यावश्यक स्वास्थ्य सामाग्रीको सूचीमा राख्न अर्थ मन्त्रालयलाई परिपत्र गर्ने निर्णय गरेको हो।

‘स्यानिटरी प्याड महँगो भएका कारण धेरै महिलाको पहुँचमा पुग्न सकेको छैन,’ स्वास्थ्य मन्त्रीका सल्लाहकार प्रताप पौडेल भन्छन्, ‘यसलाई अत्यावश्यक स्वास्थ्य सामाग्रीको सूचीमा राख्दा धेरै कम मूल्यमा आयात हुनेछ।’

पौडेलका अनुसार महिनावारीमा स्यानिटरी प्याड प्रयोग गर्न नसक्दा धेरै महिला संक्रामक रोगबाट पीडित हुनुपरेको अवस्था अन्त्य गर्न मन्त्रालयले यस्तो निर्णय गरेको हो। यस्तै, स्कुले किशोरीहरु पनि स्यानिटरी प्याड महँगो हुँदा वा नभएका कारण महिनावारीको समयमा विद्यालय जान अनिच्छुक देखिने गरेका छन्।

‘हेर्दा यो निर्णय सामान्य जस्तो लाग्न सक्छ,’ पौडेलले भने, ‘साना–साना कुराले स्वास्थ्यमा निकै ठुलो प्रभाव पार्दो रहेछ।’ मन्त्रालयले महिनावारीमा स्यानिटरी प्याड प्रयोग गर्न प्रेरित गर्ने विभिन्न जनचेतनामूलक कार्यक्रमहरु पनि ल्याउने उनको भनाइ छ।

Source: Swasthya Khabar

Link: http://swasthyakhabar.com/news-details/4457/2017-05-19#.WSJa-9uyptc.facebook