‘सगरमाथा चुचुरोतिर जाँदै गर्दा महिनावारी भयो’ -आरोही कान्छीमाया (अडियोसहित)


लक्ष्मी बस्नेत

सगरमाथा चढ्नु सजिलो हुन्छ भनेर कसैले अनुमान गर्ने कुरा होइन, त्यो कान्छीमाया तामाङलाई पनि थाहा थियो । तर जीवनमा संघर्ष र अप्ठ्यारो पार लगाउनु पर्छ भन्ने आँट र आत्मविश्वास भएकी उहाँले गत शनिबार बिहान सगरमाथाको सफल आरोहण गर्नुभयो ।

सिन्धुपाल्चोक भोताङमा जन्मिनु भएकी कान्छीमाया लैंगिक समानताको नारा लिएर सगरमाथा जानुभएको हो । विभिन्न संघसंस्थाका साथै यूएन वुमनले पनि उहाँलाई आरोहणका लागि सहयोग र सहजीकरण गरिदिएको थियो । 

मंगलबार काठमाडौंको पर्यटन बोर्डको हलमा सफल आरोहणको खुशी बाँड्न यूएन वुमनले आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँको अनुहार त हँसिलो देखिन्थ्यो तर त्यो खुशी बाँड्न खोज्दा भने भक्कानिनु हुन्थ्यो । आँखामा आँशु देखिन थाल्थे । तर त्यो खुशीको आँशु थियो । 
गरिबीकै कारण एसएलसी सकिएपछि उच्च शिक्षा लिन नसकेपछि कामका लागि बैदेशिक रोजगारीका लागि सन् २०१० मा इजिप्ट गएर गत वर्ष नेपाल फर्किनु भएको हो ।

सीआईएनसँग कुरागर्दै भन्नुभयो, ‘सगरमाथा चढ्छु भन्ने सानैदेखि लाग्थ्यो, विदेशमा बसेर काम गरिरहँदा पनि सगरमाथाको चुचुरोमा पुगेको कल्पना गर्थें । र पुरा पनि गरें ।’

महिनावारी भएको थियो आधार शिविरबाट उकालो लाग्दा 

धेरै गाह्रो भयो दोस्रो क्याम्पतिर पुग्दा, फर्किन्छु भन्ने पनि नलागेको होइन । गोडाको माथिल्लो भाग दुखेको दोहोर्याइरहनु भयो । तपाईंलाई महिनावारी भएको थियो कि भन्ने प्रश्नपछि मात्र भन्नुभयो, हो आधार शिविरबाट माथितिर जाँदा महिनावारी शुरु भयो । बेस क्याम्पदेखि क्याम्प १ सम्म धेरै पेट दुखेको थियो । त्यसपछि जोर्नीहरु पनि दुख्यो । एकदमै गाह्रो भएर माथि जान नसक्ने भएँ जस्तो पनि लागेको अनुभव पनि कान्छीमायाले सुनाउनुभयो ।

१५ मिनेट सगरमाथाको चुचुरोमा बसेको उहाँले बताउनुभयो । त्यसपछि फर्किदा भने क्याम्पमा राखेको अक्सिजनको सिलिण्डर हराएछ । नभेटेपछि निकै कठिन पनि भएको थियो । तर सँगै जानुभएका एवं विना अक्सिजन पनि सगरमाथा आरोहण गरिसक्नु भएका उहाँका गाइड पेम्बा शेर्पाको सहयोगमा तल झर्न सकेको बताउनुभयो ।

पत्रकार सम्मेलनमा उहाँलाई सहजीकरण गर्ने यूएन वुमनकी सरु जोशी भन्नुहुन्छ, हिमाल आरोहणमा जाने महिलालाई सहयोग गर्ने भनेर आएको प्रस्तावमा शुरुमा छलफल हुँदा धेरै जनालाई नयाँ जस्तो पनि लागेको थियो । तर कान्छीमायाको जोश, आँट र उत्साहमा हौसला प्रदान गर्नका लागि सहयोग र सहजीकरण गरिदियौं ।’ कान्छीमायाले यूएन वुमन झण्डा सगरमाथामा पु¥याउँदा लैंगिक समानताको पक्षमा सबै उभिनुपर्छ भन्ने सन्देश विश्वमै पुगेको उहाँको भनाइ छ ।

यूएन वुमनको सिभिल सोइटी एडभाइजरी गु्रपका सदस्यहरु डा गणेश गुरुङ र टिका दाहालले उहाँको यो सफलताले नेपाली महिला जहाँ जे पनि गर्न सक्छन् भन्ने सन्देश दिएको भन्दै बधाइ दिनुभयो ।

 

 

तस्वीर: कान्छीमाया

Source: Community Information Network

Link: http://www.cinnetwork.org/news/2418

 

Go to top