लेखक राधा पौडेलको महिनावारी अनुभव : महिनावारीको कुरा ७ बर्षदेखि नै गरेकी हुँ

काठमाडौ ८ जेठ । महिनावारीको विषयमा खुलेर कुरा गर्न तपाई हामी अझै पनि हिच्किचाउँछौं । शहर बजारमा यसलाई सामान्य रुपमा लिदै गएपनि गाउँघरमा यस विषयमा चर्चा गर्ने, अनुभव साटासाट गर्ने भन्दा पनि लुकाउने र लज्जाको विषयका रुपमा हेरिन्छ ।

त्यसैले महिनावारी हुँदा पनि सकभर अरुले थाहा नपाए हुन्थ्यो भनेर लुकाउने नै प्रयास गरिन्छ । तर लेखक राधा पौडेलले मैले महिनावारीको कुरा सात बर्षको उमेर देखि नै गर्नुभएको रहेछ । अन्तर्राष्ट्रिय महिनावारी सरसफाइ दिवस तथा सिआइएन् स्थापना दिवसका अवसरमा सञ्चारकर्मीसँग गरिएको अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रममा लेखक पौडेलले भन्नुभयो ‘

म त्यत्तिबेला सात बर्षकी थिएँ, जब मेरी आमाको दुईवटा साँप्राबाट रगत बहेको देखें मैले चासो राखें, यो किन भएको कसरी भएको भनेर आमासँग सोध्दा यो भगावानले यसो गराएको हो, पापले गर्दा छोरी भएर जन्मेको र हरेक छोरी यसरी नै पन्छिनुपर्छ भन्ने कुरा गर्नुभयो ।

त्यो कुराले मेरो मुटु विझेको थियो । पछि मैले दिदीहरु पनि गोठमा बसेको देखें, महिनावारीकै विषयलाई लिएर घरबेटीहरुले दुःख दिने गरेको घटना पनि देखें । आमा दिदीहरुको पीडा देखेपछि मैले चाहिं मनभित्रैबाट यो चाहिं म गर्दिन भन्ने अठोट गरें ।  १४ बर्षको उमेरमा म पहिलो पटक महिनावारी हुँदा घर छाडेर भागें ।’ आफूले थाहा पाउँदा देखि नै छाउपडी प्रथाको विरोध गर्दै आएको उहाँले बताउनुभयो ।

‘मैले छाउपडी प्रथालाई कहिल्यै पनि महत्व दिइन । सन् २००९ मा मेरो आमा वित्दा बहिनी र म महिनावारी भएको बेला आमाको किरिया गरेकी हुँ । त्यसैले परिवर्तन चाहने हो भने आफैबाट शुरुवात गर्नुप-यो । अरुलाई परिवर्तन गर्नुपर्छ भनेर भन्ने तर आफै चाहिं यथास्थितिमा बसेर सामाजिक रुपान्तरण हुदैन । महिनावारीका विषयमा कुराकानी गर्न हामी अहिले पनि हच्किरहेका छौं’ पौडेलले भन्नुभयो ।

अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रममा खानेपानी तथा सरसफाइ समन्वय परिषद WSCC नेपालका राष्ट्रिय संयोजक गुणराज श्रेठले महिनावारीका विषयमा खुलेर छलफल गर्न आवश्यक रहेको बताउनुभयो । महिनावारीलाई लुकाएर राख्दा यसबाट जटिल समस्याहरु उत्पन्न हुने भएकाले यस विषयमा खुलेर कुराकानी गर्न र पाठ्यक्रममा भएका विषयवस्तुमा शिक्षक विद्यार्थी बीच अन्तरक्रिया हुन जरुरी रहेको बताउनुभयो ।

‘अन्तर्राष्ट्रिय महिनावारी सरसफाइ दिवस मनाउन थालेको चार बर्ष हुदैछ, यस विषयमा व्यापक छलफल, अन्तरक्रिया, पैरवी र वहश हुन थालेका छन्, यो सुखद पाटो हो अझ यसमा लाज होइन गर्व गर्न सिकौं, घरभित्रका कुरा बाहिर लैजान थालौ’ उहाँले आग्रह गर्नुभयो ।

सञ्चारकर्मीसँग गरिएको अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रममा लेखक, अभियन्ता, सञ्चारकर्मी र स्वास्थ्यकर्मी सहित झण्डै पचास जनाको सहभागिता थियो ।

Source: WASH Khabar

Link: http://washkhabar.com/news/1170